मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

वर्ष २०८० मा ब्लकबस्टर फिल्म दिएकी मिरुनालाई ‘स्टारडम’को चुनौती

काठमाडौँ– वर्ष २०८० सालभरि नै अभिनेत्री मिरुना मगर व्यस्त रहिन् । उनी फिल्मको छायांकन र प्रचारमा नै बढी समय खर्चिइन् ।

यो वर्ष रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले दर्शकको अत्यधिक माया पाएपछि मिरुनालाई झन् भ्याइनभ्याइ भयो । सुब्बाकै अर्काे फिल्म ‘मनसरा’ले पनि उतिकै माया पाउने अपेक्षा गरिएको छ ।

दयाहाङ राईसँग ‘जारी’ मा जोडी बाँधेकी मिरुना वर्ष २०८० मा ‘ब्लकबस्टर’ फिल्म दिने अभिनेत्री बनिन् ।

यसभन्दा अघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–४’को सफलताको स्वाद उनले लिइसकेकी थिइन् । नेपाली सिने क्षेत्रमा यही फिल्मबाट नै उनको सफलताको ढोका खुलेको मान्न सकिन्छ ।

वर्ष २०८० भन्दा अगाडिका फिल्ममा भने उनले खासै कमाल देखाउन सकेकी थिइनन् ।

दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ले पनि उनलाई चर्चा दिलायो । यी तीनै फिल्ममा उनी अभिनेता दयाहाङ राईको जोडीका रुपमा देखिएकी छिन् । दयाहाङ राईका क्रेजका कारण नै उनको पनि व्यस्तता बढेको पनि भन्ने गरेको पाइन्छ । जे होस्, दर्शकले मिरुना र दयाहाङको जोडीलाई रुचाए ।

मिरुनाले फिल्म ‘लालपूर्जा’बाट अभिनयमा डेब्यू गरेकी हुन् । त्यसपछि ‘रोज,’ ‘साइनो,’ ‘च च हुई’ लगायत फिल्मले उनलाई खासै सफलता दिन सकेनन् । एकपछि अर्काे फिल्महरु असफल भएपछि उनलाई अनलक्की अभिनेत्रीको ट्याग समेत भन्ने गरिएको थियो ।

लगातार फिल्महरु असफल भएर बसेकी उनलाई ‘कबड्डी–४’ले पुनः यस क्षेत्रमा चलायनमान बनायो । सो फिल्मको प्रचारका क्रममा भएको एक घटनाले उनी विवादमा समेत आएकी थिइन् ।

त्यसपछि भने मिरुनाको अभिनयसँगै फिल्मको समेत चर्चा हुन थाल्यो । उनको त्यही चर्चालाई ‘जारी’ले झनै उचाइमा पुर्‍याइदियो । नयाँ बन्न घोषणा भएका अधिकांश फिल्ममा उनी नै अनुबन्धित हुन थालिन् ।

फागुन २५ गते रिलिज भएको मिरुना अभिनित फिल्म ‘रङ्गेली’ले भने औसत व्यापार गरे पनि मिरुनाको फिल्मी क्षेत्रमा चर्चा र माग घट्न पाएन । उनी व्यस्त नै भइरहेकी छिन् ।

यतिबेला उनी अभिनित फिल्महरु कुनै रिलिजको तयारीमा छन् भने कुनै छायाङ्कन हुन र कुनै छायाङ्नकै क्रममा छन् ।

पछिल्लो अधिकांश फिल्ममा उनी दयाहाङसँगै देखिएकी छिन् । अनिल बुढामगरको फिल्म ‘घरज्वाई’मा पनि यी दुईको जोडीलाई देख्न सकिन्छ ।

असार २८ गते फिल्मको रिलिज मिति तय गरिएको छ । हाल छायाङ्कनका दौरानमा रहेको फिल्म ‘ऊनको स्वीटर’मा पनि मिरुना नै शीर्ष भूमिकामा छिन् ।

त्यस्तै दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’मा लिड रोलमा उनी नै अनुबन्धित भएकी छिन् ।

यो वर्ष पनि उनी लगभग व्यस्त नै रहने देखिएको छ । यसरी सरसर्ती हेर्दा वर्ष २०८० मिरुनालाई फलिफाप नै भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?