मुस्ताङ– मुस्ताङ जिल्लाको पवित्र तीर्थस्थल मुक्तिनाथमा नेपालबाट मात्र नभएर छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशबाट दर्शनका लागि आउनेको ताँती बाह्रैमास हुन्छ ।
हिन्दू र बौद्ध धर्मालम्बी दर्शन गर्न आउने मुक्तिनाथ करीब ३८ सय मिटरको उचाइमा रहेको छ ।
हिमाली जिल्ला समेत भनिने मुस्ताङको मुक्तिनाथमा पर्यटकहरू बाक्लै हुन्छन् । तीमध्ये कतिपय पर्यटक पैदल हिँड्न अप्ठेरो मान्छन् । पैदल हिँडेर जाने नसक्ने दर्शनार्थीलाई घोडा चढाएर मुक्तिनाथ मन्दिरसम्म पुर्याउँछन्, बाग्लुङका खुमबहादुर बिक ।
दर्शनार्थीको मनोकांक्षा पूरा होस् भन्दै घोडाको पछिपछि लाग्ने खुमबहादुरको जीवन यसरी नै उकालो ओरालो गर्दै बितिरहेको छ ।
दर्शनार्थीसँग घोडामा हिँड्दै गर्दा उनले मुस्ताङको मनोरम दृश्यको बेलिबिस्तार गर्न र आफ्ना दु:खसुखका कुरा गर्न भ्याइसकेका हुन्छन् । त्यसपछि दर्शनार्थीलाई माथि पुर्याएर अर्को खेपको प्रतीक्षा गर्छन् उनी ।
खुमबहादुरलाई घोडाले डोर्याउँदै छ कि जिन्दगीले । यसको उत्तर उनीसँग छैन । तर, उनी वर्षौँदेखि यही घोडाको पछि लागेरै जीवनको रथ कुदाइरहेका छन् ।
खासमा उनी बाग्लुङबाट मुस्ताङ काम खोज्दै आएका थिए । उनी घर बनाउने काममा सिपालु पनि थिए । तर, काम नपाएपछि उनले घोडा डुलाउने काम पाए ।
‘मुस्ताङतिर काम पाइन्छ भनेर यतातिर आइपुगियो, गतिलो काम त कता पाइनु, यही दिनभरि घोडा डोर्याएर हिँड्नुपर्छ,’ उनले उकालोमा बढेको सास केही क्षण रोकेर हामीलाई सुनाए ।
उनी मुस्ताङमा यसरी कामबाट खर्च कटाएर मासिक १५ हजार रूपैयाँ जोगाउने गरेको बताउँछन् । त्यो पैसा उनले घर खर्चका लागि आफ्नो परिवारलाई पठाइदिन्छन् । केही वर्षअघि पत्नी गुमाएका उनको परिवारमा पाँच छोरी र एक छोरा भएको बताउँछन् ।
उनका अनुसार तीन छोरीको बिहे भइसकेको छ भने छोराले पनि बाग्लुङतिरै घरवार गरेर बसेका छन् ।
‘तेह्र वर्षकी छोरीले अब त आफैं गरेर खान सक्छे, अलि पीर कान्छी छोरीको लाग्छ, ऊ बल्ल आठ वर्ष पुगी,’ जोय नेपालको कुराकानीमा उनी भन्छन्, ‘आमा नभएपछि बच्चाबच्चीहरुलाई हेर्न गाह्रो हुने रहेछ ।’
उकालो चढ्दा खुमबहादुर मुक्तिनाथको मन्दिरतिर हरेकपल्ट नियाल्छन् र दुःखबाट मुक्ति दिलाउन मनमनै कामना गर्छन् ।
मुक्तिनाथले उनको जीवनमा दुःखबाट मुक्ति दिन्छन्, या दिँदैनन्, त्यो त उनलाई थाहा छैन, तर दुःखमा भगवानलाई पुकार्नुभन्दा उनीसँग अर्को विकल्प पनि छैन ।
घोडाले बाटो बिराउला कि भन्ने पीरले उनी बेला–बेलामा शतर्क पनि हुन्छन् । उनलाई आफ्नोभन्दा पनि घोडामाथि चढ्नेको बढ्ता चिन्ता छ । घोडामा सवारहरुलाई गन्तव्यमा पुर्याउन एकनासले घोडा डोर्याउँदै अगाडि बढिरहेका साथीहरुलाई पछ्याउँदै फेरि आफ्नो दुःखको पोका फुकाउन थाल्छन् ।
मुस्ताङमा घोडाको सहयात्री बन्नुभन्दा पहिले उनी वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । लामो समय त्यतै बसे । कतारमा उनले घरहरूमा रंग लगाउने काम गर्थे ।
एकदिन उनी काम गर्दै गर्दा लडेर घाइते भए । त्यसपछि उनी नेपाल फर्किए ।
अहिले पनि कम्मरमा त्यतिखेर लागेको चोट बेलाबेलामा बल्झिन्छ । दुख्छ ।
कतारबाट फर्किएपछि उनी सीधै मुस्ताङ हानिएका भने होइनन् । उनले गाउँमै बाख्रापालन गर्न थाले । तर, त्यो कामले घर गुजारा चलाउने पनि सकस पर्न थाल्यो ।
त्यसपछि उनी कामको खोजीमा सन्तानलाई छोराको जिम्मा लगाएर घर छोडेर मुस्ताङतिर उक्लिए ।
‘अहिले उमेरले पचास छोयो, दु:खका पहाड त सबै ममाथि नै छन् कि जस्तो लाग्छ,’ खुमबहादुरले एकैछिन टक्क रोकिएर भने, ‘उमेरले त आराम गर् भन्छ तर अभावले बस्न दिँदैन ।’
मुक्तिनाथको उकालो ओरालो मात्र उनी दर्शनार्थीको भिडभाड हुँदा दिनमा ३६ पटक ओहोरदोहोर गर्छन् । गलेको ज्यान र दुखेका पिडुलाहरुले उनलाई निदाउन गाह्रो हुन्छ ।
कहिलेकाहीँ उज्यालो हुन नपाउँदै फेरि उही दैनिकी शुरु भइसकेको हुन्छ ।
लामो सुस्केला हाल्दै उनले दुःख पोखे, ‘अभागीलाई जता गए पनि उस्तै हुने रहेछ हजुर, मेरो थाप्लोमा दुःखले कहिल्यै छोडेन ।’
घोडा डोर्याउनेदेखि डोलीमा मान्छे ओसार्नेहरुको उस्तै व्यस्तता मुक्तिनाथको उकालोमा देखिन्थ्यो ।
दर्शनार्थीहरुका लागि मुक्तिनाथसम्म पुग्नु मनोकांक्षा भए पनि खुमबहादुर जस्ता घोडा डोर्याएर गुजारा चलाउनेका लागि भने त्यही मानिसहरु नै भगवान् थिए ।
तिनै दर्शनार्थीलाई गन्तव्यसम्म पुर्याएपछि नै उनीहरुले केही दाम देख्न पाउँथे ।
उमेरले साथ दिएकालाई यो काम गर्न सजिलो भए पनि आफूलाई भने गाह्रै हुने खुमबहादुरले सुनाए । केही खर्च जोहो गरेर घरतिरै जाने उनले सोचेपनि उता गएर के गर्ने भन्ने कुराले उनलाई फेरि दोधारमा पार्छ ।
अझै पनि उनले त्यो काम छोडेर घर बनाउने ठाउँतिर काम पाए गर्ने सोच उनले बनाएका छन् । जाडो सिजन शुरु भएपछि मुस्ताङको सिरेटो अब शरीरले पनि थाम्न सक्दैन कि भन्ने उनलाई थाहा छ ।
‘अहिले दुई चार महिना काम गरेर खर्चको जोहो भए घरतिरै लाग्ने हो कि भन्ने सोचिरहेको छु, घरतिर छोरीहरुले पनि न्यास्रो मानेका होलान्, फेरि घरमा बावुआमा भएको जस्तो बच्चाहरुलाई हुँदैन, दुईवटीको घरजम गराएर मर्न पाए सुखले मर्न पाइन्थ्यो, अरु त के पो गर्नु छ र ?,’ उनले लामो सुस्केरा तान्दै फेरि मुक्तिनाथको माथि छानोतिर पुलुक्क हेरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया