मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

कास्की – कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । 

पूजाआजा गरेमा मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।

विगतमा सामान्य कुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रस्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । 

उनका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रस्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आर्थिक वर्षमा मन्दिर परिसरमा रु १० लाख  लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले जानकारी दिए । 

प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रूपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बुढापाका बताउँछन् । 

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?