काठमाडौँ – यो संसारमा तनाव नै नभएको मानिस सायद नै होला । कसैले त्यो दाबी गरे पनि कुनै न कुनै समय उ पनि यो अवस्थाबाट गुज्रिएकै हुन्छ ।
हुन पनि दैनिक कार्य गर्दा सामान्य तनाव झेल्नु मानव स्वभावभित्रकै विषय हुन् । तर, कहिलेकाहीँ सामान्यतया दैनिक जीवनमा आइपर्ने समस्या र तनावले शरीरमा गम्भीर असर पर्न पनि सक्छ ।
आज हामी दैनिक जीवनमा आइपर्ने यस्ता यस्तै तनाव व्यवस्थापनका लागि महत्त्वपूर्ण केही शारीरिक व्यायाम बारे जानकारी दिँदै छौँ ।
खेलकुद
तनाव व्यवस्थापनका लागि विभिन्न खालका व्यायाम, ध्यान,योग जस्ता क्रियाकलाप शुरुवातीका लागि झन्झटिलो हुन सक्छ । यसका लागि शारीरिक व्यायाममा सहयोग हुने खालका खेलहरू विकल्पको रूपमा लिन सकिन्छ ।
दैनिक सामान्य खेलहरूमा सहभागी हुँदा शरीर स्वस्थ रहन्छ भने सामान्यतया शारीरिक परिश्रम हुने यी खेलहरूले शरीरलाई मात्रै सक्रिय नपारेर मानसिक रूपमा समेत हामीलाई हल्का महसुस गराउँछ ।
शरीरका अङ्गहरू सक्रिय हुँदा तनावको तह पनि बिस्तारै कम हुँदै जान्छ । दैनिक ६० देखि ९० मिनेटसम्म विभिन्न खेलमा सहभागी भए तनाव व्यवस्थापन गर्न सकिन्छ ।
दौड
तनाव व्यवस्थापनका लागि दौड महत्त्वपूर्ण हुन सक्छ । दौडको स्थान र प्रकृतिभन्दा पनि दैनिक दौडले एन्जाइटी व्यवस्थित गरिरहेको हुन्छ ।
सामान्यतया दौडँदा मुटुको चाल बढ्दा शरीरमा रक्तसञ्चार पनि छिटो छिटो हुन्छ । जसले गर्दा तनावका कारण हुने एन्ड्रोफिन हर्मोनको मात्रा दिमागमा घट्दै जान्छ । फलस्वरूप तनावको स्तर पनि कम हुँदै जान्छ । दिनहुँ दौडँदा तनाव व्यवस्थित गर्न सकिन्छ ।
वेट लिफ्टिङ
गम्भीर खालका एन्जाइटी नियन्त्रणमा ल्याउनका लागि वेट लिफ्टिङ राम्रो माध्यम बन्न सक्ने विज्ञहरूको सुझाव छ । अर्थात भारी सामान उठाउने वा सामानसँग काम गर्नु तनाव व्यवस्थापनका लागि थेरापी नै हो ।
यो बडी बिल्डिङ, कुनै ट्रेनिङ वा तौल घटाउन मात्रै प्रयोगमा ल्याउनुपर्छ भन्ने हुँदैन । वेट लिफ्टिङले शारीरिक, मानसिक र भावनात्मक रूपमा प्रभाव पार्ने हुँदा बिहानको समयमा नियमित गर्न सकिन्छ । जुन एन्जाइटी व्यवस्थापनका लागि निकै राम्रो माध्यम बन्न सक्छ ।
ध्यान
तनाव व्यवस्थापनका लागि ध्यान पछिल्लो समय लोकप्रिय विधि बन्दै गएको छ । सामान्यतया ध्यान गर्दा श्वासप्रश्वासमा केन्द्रित हुने हुँदा शरीरमा अक्सिजन र कार्बनडाइअक्साइडको गति नियन्त्रणमा आउँछ ।
जसले मस्तिष्कलाई शान्त गर्न मद्दत गरिरहेको हुन्छ । श्वासको माध्यमबाट भावनाहरू नियन्त्रित भएर तनाव, डर, चिन्ताजस्ता भावना क्रमशः नियन्त्रणमा आउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया