महोत्तरी – मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ ।
पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।
वासन्ती छठ षष्टि तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) आज सम्पन्न भएको छ ।
यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए ।
यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।
गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए ।
व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् ।
‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।
व्रतालु यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए ।
यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अर्घ्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् ।
पर्व सकिएसँगै घरघरै प्रसाद खाने-खुवाउने क्रम शुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा विवाहित छोरी-चेली,मित-मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दरिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया