काठमाडौँ– नेपालको ग्रामीण क्षेत्रमा जन्मिएका हजारौँ युवा परिवारलाई सम्पन्न राख्नका लागि आफ्नो जीवन नै दाउमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशी भूमिमा रोजगारीका लागि भासिन बाध्य छन् ।
परिवार र भरभराउँदा सन्तानको साथ त्यागेर विदेशिनुका पछाडि उनीहरूको धेरै ठूलो सपना छैन । गाउँमा हातमुख जोर्न र सानो परिवार पाल्नसमेत धौ धौ हुने अवस्था सिर्जना भएपछि परिवार र देशको मायालाई विमानस्थल छोड्दा थुई थोपा आँसु उपहार दिएर नेपाली भूमि छाड्न विवश छन् ।
नेपालमा केही गर्छु भनेर अठोट गरेका हजारौँ युवाहरू धेरै वर्ष जुध्न सक्दैनन् । समाज यसरी विकसित र विस्तारित भइसकेको छ कि, अब नेपालमा बसेर केही हुनेवाला छैन भन्ने भाष्य निर्माण भइरहेको छ ।
तर, जिन्दगी एउटै रेखामा चल्दैन । परिवारसँगै आफ्नो आँखाले देख्ने गाउँको सुन्दर दुनियाँ त्यागेर विदेशिएका कति युवाले परिवारलाई पुग्ने केही रकम जोहो गर्छन् भने केहीले अझ ठूला समस्या बोकेर नेपाल फर्किन्छन् ।
फिडेल देवकोटाले निर्देशन गरेको फिल्म ‘द रेड सुटकेस’ भने त्यसरी सफल भएका युवाको विषयमाथि बनेको कथा होइन । न त विदेशी भूमिमा पुगी आफूले भनेजस्तो काम नपाउँदा रित्तो हात फर्किनुपरेका युवाको साझा कथा हो ।
यो एउटा ‘बाकस’ को कथा हो । जसलाई निर्देशक फिडेल देवकोटाले निकै सुन्दर र सरस ढंगले फिल्ममा प्रस्तुत गरेका छन् ।
वर्तमान नेपाली परिवेशमा बाकस (कफिन) को कथा खासै नयाँ नभए पनि निकै गम्भीर र प्रत्येक गाउँको साझा कथा हो । राज्यले देखेर पनि नजरअन्दाज गरेको एउटा दूर्भाग्यपूर्ण तीतो सत्य हो ।
निर्देशक देवकोटाले नेपाली समाजको यही नियतिलाई कथानक बनाएर ओझेलमा परेको नेपालको डरलाग्दो चित्रलाई फिल्मका माध्यमबाट विश्वभर चिनाएका छन् ।
फिल्ममा खासै नयाँ कथा केही छैन । तर, सानो कथामा नेपालको परिवेश, राज्यले निर्वाह गर्दै आएको भूमिका, वैदेशिक रोजगारीले सिङ्गो ग्रामीण जगतले भोग्दै आएको विकराल परिस्थितिलाई निर्देशकले निकै मिहिन ढंगले केलाएका छन् ।
भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको यो फिल्ममा एक पिकअप भ्यान चालक (सौगात मल्ल) का माध्यमबाट नेपालको ग्रामीण समाजको ‘बिम्ब’ प्रस्तुत गरिएको छ । फिल्ममा पिकअप चालक कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको कफिन र एउटा रातो सुटकेस बोकेर गाडीमा दुई दिन लाग्ने बेयुल गाउँ पुग्छ ।
त्यो यात्रा उसका लागि नौलो होइन । किनकि, माओवादी जनयुद्धले थिलोथिलो पारेको गाउँ छोडेर ऊ काठमाडौँ आएको लामो समय भइसकेको छ । बीचमै पढाइ छाडेर काठमाडौँ आएपछि उसले पाएको राम्रो काम यही थियो । यतिबेला भने चालकले उक्त कफिन र एउटा रातो सुटकेस बोकेर बेयुलसम्म पुग्नुपर्नेछ । यो उसको दैनिकीजस्तै हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेयुलसम्मको यात्राका क्रममा उसले भेटेका पात्र र देखेको समाजलाई ‘द रेड सुटकेस’मा मुल कथा बनाइएको छ ।
बलिउड लगायत विश्वका ठूला फिल्म उद्योग ‘लार्जर देन लाइफ’ लाई फिल्मका रुपमा स्थापित गरेर व्यावसायिक दौडमा लागिरहेका बेला नेपालमा यस्ता फिल्महरू बन्नु एक किसिमको सफलता हो ।
यो फिल्ममा धेरै पात्र छैनन् । धेरै द्वन्द्वको सिर्जना गरिएको छैन । एकोहोरो रुपमा अगाडि बढिरहेको कथाले दर्शकलाई पनि बेयुल गाउँतिर कफिनका साथमा यात्रा गराउँछ ।
फिल्मको सशक्त पक्ष यसमा प्रयोग गरिएको बिम्ब हो । हामीले भोग्दै आएको कथा भए पनि यसको प्रस्तुतीकरणले फिल्ममा बेग्लै किसिमको स्वाद दिन्छ ।
फिल्मको शुरुवातमै रेडियोमा सुनिने यशुको तारिफले नेपाली समाज कसरी धार्मिक र सांस्कृतिक अतिक्रमणमा पर्दै गएको छ भन्ने देखाउन खोजिएको छ भने अर्कोतर्फ एक दृश्यमा कफिनमा लाश बोकिरहेको र त्यही समयमा हवाइजहाज उडेको देखाएर युवापुस्ता विदेशिनुपरेको कथालाई एउटै फ्रेममा अटाइएको छ ।
एक दृश्यमा रोकिरहेको गाडीमा एक बालकले हेरिरहेको छ । यस्तो लाग्छ, कुनै गाडी बाटोमा रोकिँदा पनि उसलाई आफ्ना बुवा विदेशबाट आइरहेका छन् कि भन्ने आशा पलाइरहेको छ ।
निर्देशकले यस्ता स–साना कुरामा निकै मेहनत गरेर सिनेमाको लयलाई मर्न दिएका छैनन् । यात्राका क्रममा बाटोमा भेटिएका जम्मु काश्मिरको युद्धमा लडाइँ गरेका सैनिक (विपिन कार्की) होऊन् या पुरुष नभएको सिङ्गो गाउँको दृश्य नै किन् नहोस् । यी सबैमा निर्देशकले गतिलो बिम्ब छाडेका छन् ।
फिल्मको यात्रासँगै कामदारको पोशाक लगाएर हिँड्ने युवक (प्रविण खतिवडा) रातो सुटकेस बोकेर किन पिकअप चालकसँगै उसले थाहै नपाउने गरी यात्रा गरिरहन्छ भन्ने प्रश्न दर्शकको मनमा उब्जिन्छ । तर, सुटकेस लतार्दै हिँड्ने सो पात्रबारे दर्शक जानकार भएपछि भने फिल्मले मथिङ्गल हल्लाउँछ ।
यो फिल्मको सिनेमाटोग्राफी साँच्चिकै स्तरीय छ । फिल्मका हरेक दृश्यलाई कलात्मक र बिम्बात्मक बनाउन निर्देशक देवकोटाले गज्जबको मेहनत गरेका छन् । सिनेमाटोग्राफर सुसन प्रजापतिले फिल्मका दृश्यहरू बडो सान्दर्भिकताका साथ क्यामरामा कैद गरेका छन् । नेपाली फिल्ममा वाइड सटको त्यति प्रयोग नहुने, भए पनि अर्थपूर्ण नहुने गरेको पाइए पनि यो फिल्ममा यसको सिनेमाटोग्राफी कथा अनुसार बगेको छ ।
फिल्मको अर्को तारिफयोग्य पक्ष भनेको यसको पार्श्व ध्वनिको संयोजन हो । यसमा प्रस्तुत गरिएको ध्वनिको संयोजनले पूरै फिल्मलाई वास्तविकताको धेरै नजिक पुर्याएको छ । फिल्मका दृश्य, पात्रको मनोविज्ञान र रित्तिँदै गएका गाउँहरूका कथा वास्तविक बनाउन पार्श्व ध्वनि निकै दमदार छ ।
यस्तै फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेका अभिनेता सौगात मल्लको अभिनयले दर्शकको मन छुन्छ ।
भाग्यमानी र अभागी आफू के हो भेद छुट्याउन नसकेको पात्र, जो द्वन्द्कालमा मारिनबाट बाँचेको थियो तर ऊ कफिनमा पोका पारिएका लाश बोकिरहेको छ । सो चरित्रमा सौगात फिट देखिएका छन् भने पात्रको मनोविज्ञानलाई पनि उनले न्याय दिएका छन् ।
यस्तै धनेको चरित्र निर्वाह गरेका प्रविण खतिवडा र पूर्व भारतीय सैनिकको भूमिकामा देखिएका विपिन कार्कीको अभिनय पनि सशक्त छ । धनेकी पत्नीको भूमिकामा देखिएकी सृष्टि श्रेष्ठले निर्वाह गरेको चरित्रले सिङ्गो घर धानेका महिलाहरूको अदम्य साहसलाई जस्ताको तस्तै पर्दामा उतारेकी छिन् ।
यति हुँदाहुँदै पनि फिल्मका केही दृश्यमा भने अझै मेहनत गर्न सकिन्थ्यो कि भन्ने भान हुन्छ । सानो क्यानभासबाट धेरै कथाहरू भन्न खोजे पनि निर्देशकले केही दृश्यमा मेहनत गर्न सकिने ठाउँहरू छोडेका छन् । वर्षौँदेखि आफ्नो पतिको प्रतीक्षा गरिरहेकी धनेकी पत्नीले आफ्नो जीवनमा अप्रत्यासित घटना घट्दा पनि उनी विक्षिप्त भएको अनुभूति हुँदैन ।
एक दृश्यमा मध्यराति धने घरमा पुग्दा गाउँमा बाख्राका स–साना पाठाहरू कराएको सुनिन्छ । रातिमा बाख्राका पाठाहरू कराएको वास्तविकतामा त्यति सुनिँदैन । निर्देशकले फिल्ममा द्वन्द्वभन्दा पनि वास्तविकता स्थापित गर्न खोज्दा फिल्ममा उतारचढाव त्यति देखिँदैन । हो, बरु उनले पात्रभित्रको मनोवैज्ञानिक द्वन्द्व भने शुरुदेखि अन्त्यसम्म नै जारी राखेका छन् ।
वास्तविक नेपाली समाजको निकै नजिक रहेर निर्माण गरिएको यो फिल्म कम लगानीका लागि थोरै पात्रमा सीमित गर्न खोजिएको हो कि भन्ने भान हुन्छ । तथापि, यसले उठान गरेको विषय र पात्रभित्रको आन्तरिक द्वन्द्वले यो फिल्मले दर्शकलाई सोचमग्न हुन बाध्य बनाउँछ ।
हामीले देख्दै र भोग्दै आएको कथामा निर्माण गरिएको यो फिल्म नयाँ विषयवस्तुमा बनेको फिल्म पक्कै होइन । तर यसले नेपाली समाजको चित्कार, वैदेशिक रोजगारीले पारेको दीर्घकालीन असरले समाजमा कस्ता बाछिटा छोडेको छ भन्ने विषयलाई भने गज्जबका साथ उनेको छ ।
यो फिल्म नेपाली समाजको ऐना मात्र होइन । कालान्तरमा नेपालको तत्कालीन अवस्थाबारे जानकारी दिने महत्त्वपूर्ण दस्तावेज पनि हो । वैदेशिक रोजगारीको लहरले रित्ता हुँदै गएका गाउँ र ती गाउँले बेहोरेका कथा फिल्ममार्फत प्रस्तुत गरिएको छ ।
निर्देशक देवकोटाले राज्यको चरम लापरवाहीलाई फिल्मका माध्यमबाट गतिलो झापड हानेका छन् । नेपाली जनताले सरकार भएको महसूस नगर्ने अहिलेको परिवेशलाई उनले फिल्ममार्फत देखाएका छन् । देवकोटाको यो फिल्म ’राज्य’ को अक्षमताविरुद्ध गरिएको विरोधको झिल्को पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया