मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिन्दूर खेलेर मनाइयो सुथसिया जात्रा

भक्तपुर – मध्यपुरथिमिबासीले आज बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।

विस्का जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दूर खेलेर सुथसिया जात्रा मनाएका हुन् । 

थिमिमा मात्रै मनाइने यो जात्रामा एक अर्कामा सिन्दूर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हात हातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागी हुने गरेका छन् । 

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरू सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु भएको थियो ।

जात्रा शुरु भएपछि पमाहरु हात हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ । 

थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागत रूपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दूर जात्रा मनाइने गरेको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै मनाइन्छ । 

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

 जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दूर जात्रा पनि भन्न थालिएको छ ।

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरू सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा शुरु गरिएको छ । 

परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा रहेको छ । 

खट जात्रा अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिकावासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाइएको छ ।

बिहानै सुरु भएको यो जात्रा मध्यान्हसम्म चल्ने र त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?