काठमाडौँ– गत वर्ष प्रदर्शनमा आएका ५३ फिल्ममध्ये झण्डै आधा दर्जन फिल्मले लगानी सुरक्षित गरेर निर्मातालाई फाइदामा पुर्याए । यद्यपि, फिल्म निर्माणको क्रम भने रोकिएको छैन ।
अघिल्ला वर्ष फिल्म रिलिज नगरेका ठूला मेकरले पनि नयाँ फिल्मको तयारी थालेका छन् । निर्माण टिमले दशैँको अवसर पारेर फिल्म निर्माण गर्ने होडबाजी नै हुन्छ ।
फिल्मका लागि ठूलो कमाइ हुने अवसरको पर्व बडा दशैँमा अभिनेता दीपकराज गिरीले नयाँ फिल्म रिलिज गर्ने बताएका छन् । केही समयअघि नै उनले फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने संकेत गरे पनि यो फिल्मका बारेमा आधिकारिक रुपमा कुनै जानकारी दिइएको छैन ।
त्यस्तै दशैँको अवसर पारेर नै निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि प्रदर्शनमा आउने चर्चा छ । सोही समयमा सन्तोष सेनको फिल्म ‘बलिदान’ पनि प्रदर्शन हुने भनिएको छ । यो फिल्ममार्फत विराज भट्टका छोरा समीर भट्टका छोराले रजतपटमा डेब्यु गर्दैछन् । यो फिल्मको पनि रिलिजअघि नै व्यापक चर्चा छ ।
अझ रोचक कुरा त के छ भने, युवापुस्तामाझ लोकप्रिय रहेका अभिनेताहरु एकसाथ भिड्न लागेका छन् । यो रोचकता दशैँभन्दा पहिले नै देखिनेछ ।
आगामी जेठ १० गतेदेखि अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ र मल्टिस्टारर फिल्म ‘पुजार सार्की’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ‘पुजार सार्की’ मा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह लगायतका कलाकारको शीर्ष भूमिका छ भने ‘फर्की फर्की’मा अनमोलसँगै जसिता गुरुङको समेत अभिनय छ ।
सोही मितिमा पूजा शर्माको ‘दान्भी’ को समेत रिलिज हुने भनिए पनि उनले यो मितिमा हेरफेर गर्न सक्ने आँकलन गरिएको छ ।
त्यसभन्दा पनि अघि वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’ को पनि राम्रै चर्चा छ । यो फिल्ममा दयाहाङ राई, मेनुका राई, प्रविण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको समेत अभिनय छ । यसअघि ‘जारी’ फिल्म निर्देशन गरेर एकाएक चर्चा कमाएका उपेन्द्र सुब्बाले ‘मनसरा’को निर्देशन गरेका हुन् ।
यस्तै यो वर्ष निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ५’ ल्याउने चर्चा समेत छ । यद्यपि यो फिल्मका बारेमा अझै केही जानकारी दिइएको छैन । रामबाबुको फिल्म ‘डिग्री’ माइला यतिबेला फिल्म हलमा प्रदर्शनरत छ ।
यस्तै यो वर्षको असार २८ मा चलचित्र ‘घर ज्वाइँ’ प्रदर्शनमा आउँदैछ । यो फिल्ममा पनि दयाहाङ राई र मिरुना मगरको नै शीर्ष भूमिका रहनेछ । मगर समुदायको कथामा निर्माण हुन लागेको यो फिल्ममा अनिल बुढा मगरको निर्देशन देख्न सकिनेछ ।
साथै यी बाहेक दीपेन्द्र के खनालको ‘मेयर’ पनि यसै वर्ष प्रदर्शनमा आउँदैछ । त्यो बाहेक अरु केही फिल्मको पनि चर्चा छ । पल शाहलाई शीर्ष भूमिकामा लिएर सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’ पनि चर्चामा छ ।
त्यस्तै केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को पनि उत्तिकै चर्चा छ । फिल्मको ट्रेलर र गीतले राम्रो हाइप बटुलेको यो फिल्म यही वैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । सुलक्षण भारतीको निर्देशन रहेको यो फिल्म बोक्सी प्रथाको कथामा निर्माण गरिएको छ ।
योसँगै ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘उनको स्वीटर’, ‘रिमै’ लगायतका फिल्म पनि यसै वर्ष प्रदर्शनमा आउने भनिएको छ । यी बाहेक अन्य केही फिल्म समेत यही वर्ष प्रदर्शनमा आउने भनिएको छ । मीन भामको फिल्म ‘शाम्बाला’ र नविन सुब्बाको ‘गाउँ आएको बाटो’ ले विभिन्न फेस्टिभलमा पुगेर निकै लोकप्रियता कमाएका छन् ।
तुलनात्मक रुपमा यो वर्ष केही कम फिल्म मात्र प्रदर्शनमा आउने ठानिएको छ । कोरोना महामारीभन्दा पहिले झण्डै एक सयको हाराहारीमा फिल्म निर्माण हुने भए पनि केही वर्षयता भने फिल्म निर्माणमा निकै कमी आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया