मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ वर्ष मनाउन म्याग्दीका पर्यटकीय क्षेत्रमा घुइँचो

बेनी- देशका विभिन्न ठाउँबाट नयाँ वर्ष २०८१ मनाउन आएका आन्तरिक पर्यटकका कारण शुक्रबारदेखि नै म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा घुइँचो लागेको छ । नयाँ वर्ष २०८१ को पहिलो दिन आज सूर्योदयको दृश्यावलोकन गर्नका लागि म्याग्दीको पुनहिल जान आएका पर्यटकका कारण घोडेपानीका होटल खचाखच भरिएका छन् ।

पुनहिलबाट २०८१ सालको पहिलो सूर्योदय हेर्न देशका विभिन्न ठाउँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी आएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमधये अधिकांश युवा छन् । म्याग्दी र मुस्ताङका धार्मिकस्थलमा पनि देवीदेवताको दर्शन र पूजन गरी नयाँ वर्ष मनाउन सयौँ व्यक्तिको जमघट भएको छ । कालीगण्डकीमा सङ्क्रान्ति स्नान गरी बेनीको बेनी शिवालय, गलेश्वरधाम, महारानी थानलगायत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीकोे घुइँचो लागेको छ ।

देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन् । नयाँ वर्षको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनमार्फत उनीहरु यहाँ आएका हुन् । पर्यटकीयस्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न तीन दिनयता दैनिक सयौँ पर्यटक घोडेपानी आएका घोडेपानीका होटल व्यवसायी मीना पुनले बताइन् ।

स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वार भएकाले मुस्ताङ जाने पर्यटकको घुइँचो बेनीमा देख्न सकिन्छ । होटल व्यवसायी पुनका अनुसार नयाँ वर्ष २०८१ को पहिलो दिनको सूर्योदय हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घोडेपानी र पुनहिलमा घुइँचो लागेको छ ।

मुस्ताङमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । मुस्ताङको मुक्तिनाथ, जोमसोम, लेते र उपल्लो मुस्ताङको लोमान्थाङमा पर्यटकको लर्को लागेको जोमसोमका व्यवसायी नवीन शेरचनले बताए ।

चितवनको जगतपुर र पार्वतीपुरबाट म्याग्दीको घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको भ्रमणमा आउनुभएका हिमाल रिजाल, आरती सापकोटा, विमल पौडेललगायतको समूहका युवायुवतीले पाँच दिनसम्म म्याग्दी र मुस्ताङका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमण गर्ने योजनासहित आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?