मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्षभरि नै चर्चा कमाएका दयाहाङ राईले कति दिए हिट फिल्म?

काठमाडौँ– नाटक हुँदै फिल्म क्षेत्रमा आएका अभिनेता दयाहाङ राई पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनी थापागाउँस्थित मण्डला थिएटरमा पनि आवद्ध छन् । यस वर्ष अन्य अभिनेताको तुलनामा बढी फिल्ममा अभिनय गरेका दयाहाङ अभिनित केही फिल्म एउटै मितिमा समेत प्रदर्शनमा आए ।

गत वैशाख १ गते उनले अभिनय गरेका फिल्म ‘जारी’ र ‘बिहे पास’ प्रदर्शनमा आए । यी दुईमध्ये ‘बिहे पास’ ले त लगानी उठाउन समेत सकेन भने सोही दिन प्रदर्शनमा आएको फिल्म ‘जारी’ ले वर्ष २०८० मा सर्वाधिक व्यापार गर्ने सिनेमाको रेकर्ड राख्यो ।

यो फिल्मले १७ करोडभन्दा बढी कमाइ गरेको निर्माण टिमले जानकारी दिएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्ममा मिरुना मगरको पनि शीर्ष भूमिका देख्न सकिन्छ ।

त्यसपछि भदौमा प्रदर्शनमा आएको दयाहाङको फिल्म ‘नाङ्गो गाउँ’ ले पनि राम्रो कमाइ गर्‍यो । निर्देशक दीपेन्द्र लामाका अनुसार फिल्मले झण्डै ४ करोडको हाराहारीमा व्यापार गरेको थियो ।

त्यसपछि दयाहाङको समेत अभिनय रहेको निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गर्‍यो । यो फिल्मले अभिनेता खगेन्द्र लामिछाने र निर्देशक निश्चल बस्नेतको चर्चा बढी भए पनि फिल्ममा दयाहाङको समेत अभिनय रहेकाले उनको समेत चर्चा भयो । फिल्मको व्यापार ९ करोडभन्दा बढी भएको निर्माण टिमले जनाएको थियो ।

त्यसपछि प्रदर्शनमा आएका दयाहाङका अन्य फिल्मले भने आशा गरिए अनुरुपको व्यापार गर्न सकेनन् । उनको अभिनय रहेका फिल्म ‘रंगेली’, ‘दयारानी’, ‘हात्तीछाप’ लगायतले खासै कमाइ गर्न सकेनन् । यद्यपि निर्माण टिमको दाबीलाई मान्ने हो भने फिल्म ‘दयारानी’ ले भने लगानी सुरक्षित गर्न सफल भएको छ ।

यही शुक्रवारबाट प्रदर्शनमा आएको दयाहाङ अभिनित फिल्म ‘डिग्री माइला’ ले औसत प्रतिक्रिया पाएको छ । दर्शक तथा समीक्षकको प्रतिक्रियाका आधारमा यो फिल्म ब्लकबस्टर हुने सम्भावना न्यून छ । यद्यपि वर्ष २०८० मा सबैभन्दा धेरै हिट फिल्म दिने र धेरै दोहोरिने अभिनेतामा दयाहाङ राई नै परे ।

यो वर्ष पनि उनका हातमा फिल्म नै फिल्म छन् । वैशाख महिनामा उनको अभिनय रहेको फिल्म ‘मनसरा’ प्रदर्शनमा आउँदैछ । फिल्मले बनाएको हाइपले दर्शक तान्न सफल हुने देखिए पनि व्यापार भने कस्तो गर्नेछ, त्यो समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?