मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीगण्डकीमा स्नान गर्नेको भीड

बेनी- सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्तिमा बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । म्याग्दी र पर्वतका विभिन्न गाउँबाट बिहान सबेरै गङ्गा स्नान गर्न कालीगण्डकी आएका छन् ।

आज वर्षको पहिलो दिन भएकाले गङ्गा स्नानपछि मन्दिरमा पूजा गरेर घर गई मीठामीठा खानेकुरा पकाएर खाने र परिवारसँग बसेर रमाउने गरिन्छ । विभिन्न पौराणिक ग्रन्थमा कालीगण्डकीको महिमाको वर्णन गरिएको छ । यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी बताउँछन् ।

कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्व छ । हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति भई मुस्ताङ प्रवेश गर्ने यो नदी नारायणीको एक प्रमुख शाखा हो । कालीगण्डकी उद्गम विन्दुबाट देवघाटसम्म करिब ६३० दशमलव ४० किलोमिटरको लामो दूरी पार गर्दै नारायणीमा मिसिन पुग्छ ।

दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिन्छ । कालीगण्डकीलाई कृष्णगण्डकी पनि भन्ने गरिन्छ । कृष्णको अर्थ कालो भएको र कालीगण्डकीमा धेरैजसो समय कालो जल प्रवाहित हुने भएकाले यो नदीलाई कालीगण्डकी (कृष्णगण्डकी) भनिएको हो ।

प्रयाग, कुरुक्षेत्र तथा नैमिषरण्यमा सयौँ पटक स्नान गरेर पाइने फल कालीगण्डकीमा एकै पटक स्नान गरेर प्राप्त हुन्छ भन्ने कुरा स्कन्दपुराणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?