मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलहेश फूलबारीमा मेला

लहान- प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने अपेक्षा गरिएको सहलेश फूलबारी मेला व्यवस्थापन समितिका अध्यक्ष तारणीप्रसाद चौधरीले बताए ।

भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए । नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण(पश्चिममा पर्दछ ।

यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् । सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए ।

नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । सलहेश क्षेत्रको उचित विकास गरी अपेक्षित लाभ लिन नसकिएको स्थानीय प्रदीप चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?