मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘टाउको दुखाइलाई सामान्य रुपमा लिनु हुँदैन, ट्युमर पनि हुन सक्छ’

टाउको दुख्नासाथ पेनकिलर खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ?

नेपालमा टाउको दुख्ने समस्या सबैको आम समस्या जस्तै बनिसकेको छ । हाम्रो अस्वस्थ जीवनशैलीका कारण हामी टाउको दुखाइको शिकार बनिरहेका छौं । विभिन्न कारणहरुले टाउको दुख्ने समस्या देखिने चिकित्सकहरूले बताउँछन् ।

टाउको दुखेपछि सिटामोल, ब्रुफिन, निम्सजस्ता  औषधी खानुपर्छ भन्नेमा हामी अभ्यस्त भइसकेका छौं । तर, के टाउको दुख्नसाथ यस्ता पेनकिलरहरुको सेवन गर्नु उचित हो त ? के यसलाई टाउको दुखाइ निको पार्ने औषधीका रुपमा लिन सकिन्छ ?  टाउको दुख्ने मुख्य कारणहरु के–कस्ता हुन्छन् भन्ने प्रश्नहरुलाई समेटेर न्यूरोलोजिस्ट डा.मोहन शर्मासँग सुस्मिता फुयाँलले गरेको कुराकानी: 

के के कारणले गर्दा टाउको दुख्ने समस्या हुन्छ ?

टाउको दुखाइ हुनु भनेको आफैँमा रोग होइन । यो रोगको लक्षण मात्रै हो । मुख्यगरी टाउको दुखाइलाई हामीले दुई भागमा बाँड्ने गर्छौँ । एउटा भनेको खराब रोग नभइकन पनि टाउको दुख्ने हुन्छ, जस्तै रुघाखोकी लाग्दा, धेरै घाममा बस्दा, पिनास हुँदा, तनाव भएर हुने दुखाइ हुन्, जुन ज्यानलाई खतरा हुँदैन ।

अर्को भनेको ज्यानलाई एकदमै घातक हुने पनि हुन्छ जस्तैः ब्रेनमा ट्युमर पलायो भने, ब्रेन ह्यामरेज भयो भने, जुकाको फुलहरु धेरै गएर दिमाखमा बस्यो भने अथवा टिबी भयो भने, रगतको नलि गुजोल्टो परेर बस्यो भने टाउको दुख्ने समस्या हुन्छ ।

यसकारण हामीले लामो समय टाउको दुख्ने समस्या भयो भने उपचारका लागि जानुपर्ने हुन्छ ।

हामीले समयमा खाना–खाजा खाएनौं भने पनि टाउको दुख्ने समस्या हुन्छ भनिन्छ । खाना र टाउको दुखाइ एक–अर्कासँग सम्बन्धित हुन्छ ?

टाउको दुखाइको समस्या खानासँग प्रत्यक्ष सम्बन्धित छैन तर मानिसको शरीरमा केही न केही समस्या भयो भने टाउको दुख्ने समस्या हन्छ । धेरै भोको बसियो भने खाउँ–खाउँ भएर असहज महसूस हुन्छ र टाउको दुख्छ । सम्रगमा भन्नुपर्दा टाउको भनेको हाम्रो शरीरकै कन्ट्रोल सेन्टर भएकाले यो कुनै एक कारणले गर्दा मात्रै दुख्छ भन्ने हुँदैन ।

टाउको दुख्दा हामी अनेकौं औषधीहरुको सेवन गरिरहेका हुन्छौँत्यस्ता औषधीहरुको सेवन गर्नु राम्रो हो कि होइन?

टाउको दुखाइ आफैँमा रोग होइन । यो त अन्य रोगहरुको लक्षण मात्रै हो । यसकारण कुन रोग लागेको छ भन्ने जाँचबुझ नगरिकनै औषधी सेवन गर्न राम्रो होइन ।

सामान्य थकाइले, कामको चापले, निन्द्राको कमिले टाउको दुख्दा वयस्क व्यक्तिले एक–दुई चक्की निम्स, सिटामोल सेवन गर्दा खासै असर गर्दैन । तर, तपाईलाई पहिलोपटक एकदमै धेरै टाउको दुखिरहेको छ, अथवा टाउको दुख्दा छारे रोग जस्तो कम्पन आइरहेको छ भने यस्तो अवस्थामा तुरुन्त नजिकैको अस्पतालमा जानुपर्छ ।

यसकारण के रोगका कारण टाउको दुखेको छ पत्ता लगाएर सोही अनुरुप औषधी सेवन गर्नुपर्छ । जथाभावी यस्ता औषधीहरुको सेवन गर्दा कतिपय रोग लागेका व्यक्तिहरुलाई झन असर पर्न सक्छ । जस्तैः लिभरमा समस्या भएको व्यक्तिले सिटामोल खानु हुँदैन । अन्य रोग लागेका मानिसहरुलाई पनि यस्ता औषधीको लगातार सेवन गर्दा अन्य समस्या निम्तिन सक्छ । यसकारण यस्ता औषधीहरुको सेवन बढाउनु हुँदैन ।

टाउको दुखाइ कम गर्ने घरेलु उपायहरु के–कस्ता रहेका छन् ?

शुरुमा त के कारणले गर्दा टाउको दुख्ने समस्या भइरहेको छ, त्यो केलाउनुपर्दछ । अन्य रोगहरुका कारण यो समस्या भएको छ भने उपचारतिर जानुपर्दछ । अन्य कारणले जस्तै कार्यालयको कामको चापले दुखेको हो भने काम व्यवस्थापन गर्नुपर्छ ।

केही समय बिदा लिएर बस्नुपर्छ । तनावले गर्दा टाउको दुखेको छ भने तनाव व्यवस्थापन गर्नुपर्छ । घाममा हिँड्दा संयमता अपनाउनुपर्छ । धेरैजसो महिलाहरुमा माइग्रेनको समस्याले पनि टाउको दुख्छ । यसकारण यसकै औषधी खानुपर्छ ।

अर्को टाउको दुखाइ कम गर्ने घरेलु उपायहरु भनेको समयमा खाना, खाजा र पानी पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।

धेरैजसो व्यक्तिहरुको टाउकोको एक पाखो दुख्ने समस्या हुन्छ ,यसले कस्तो जटिलता निम्त्याउन सक्छ ?

एक पाखो टाउको दुख्ने समस्या मुख्य गरी माइग्रेन रोगको लक्षण हो । यो मुख्यत महिलाहरुमा हुन्छ । जस्तैः आमालाई छ भने छोरीमा पनि यो समस्या देखिन्छ । कतिपयलाई महिनावारीको समयमा अझ बढ्ने हुन्छ । तर छोरा मान्छेलाई पनि माइग्रेन हुँदैन नै भन्ने होइन । कहिलेकाहीँ माइग्रेन भनेर उपचार गरिरहेको अवस्थामा ट्युमर पनि हुनसक्छ । यसकारण हामीले केही कुराको पनि बेवास्ता गर्नु हुँदैन ।

टाउको दुखिरहने समस्यालाई बेवास्ता गरियो भने के –कस्ता जटिलताहरु निम्तन सक्छ ?

दिनभरीको थकानपछि साँझ टाउको भारी हुन्छ, असहज महसूस हुन्छ । चर्को घाममा हिँडेपछि टाउको दुख्छ, धेरै कामको चाप परेर टाउको दुख्छ भने त्यो सामान्य विषय नै हो तर बिहान उठ्नसाथ टाउको दुख्न थाल्छ, घरमै आरामले बसिरहँदा पनि असह्य पीडा हुन्छ भने यस्तो अवस्थामा आफ्नो स्वास्थ्य अवस्था बुझ्न चिकित्सककहाँ जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?