काठमाडौँ– बैशाख एक गते अर्थात नयाँ वर्ष । आजको दिनलाई सुदुरपश्चिवासीहरुले ‘बिसु पर्व’ का रुपमा मनाउने गर्छन् । वसन्त ऋतुको प्राकृतिक सुन्दरता र मनोरमतासँगै हर्ष उल्लास बोकेर हरेक सुदूर पश्चिमेलीहरुको आँगनमा ‘बिसु पर्व’ मनाउने गरेका छन् ।
विभिन्न क्षेत्र र समुदायका मानिसले आ–आफ्नै किसिमले नयाँ वर्ष मनाउने गरेका छन् । देशैभर नयाँ वर्षको उल्लाससँगै पूर्वी तराईमा सिरुवा, भक्तपुरमा बिस्केट जात्रा र सुदूरपश्चिममा बिसु पर्वको रौनक देखिएको छ ।
यस्तै भक्तपुरको ठिमीमा ‘जिब्रो छेड्ने जात्रा’, ‘सिन्दूर जात्रा’ का रुपमा मानिसले आजको दिनलाई खुसियालीका साथ मनाउने गर्छन् ।
बैदिक सनातन धर्ममा हरेक सक्रान्तिलाई पर्वका रुपमा मनाइने र त्यसमध्ये बैशाख सक्रान्तिलाई ‘बिसु पर्व’ र अपुक्ष दिन अर्थात् कुनै पनि शुभकार्य गर्नका लागि उपयुक्त मानिने दिनका रुपमा लिइने स्थानीय संस्कृतिविद् कैलाश कुमार पाण्डेयले जोय नेपालसँगको कुराकानीका क्रममा बताए ।
‘चन्द्रमास गणना अनुसार हुने २७ नक्षत्रहरुमध्ये बिशाखा नक्षत्रमा सूर्य प्रवेश गरेको दिनमा बैशाख महिनाको शुरुवात हुन्छ भने बैशाखमास शुरु भएको पवित्र दिनलाई सुदुरपश्चिममा पौराणिक कालदेखि नै बिसु पर्वका रुपमा मानिँदै आएका हो,’ पाण्डेयले भने ।
उनका अनुसार बसाइँ सरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । ‘बिसु पर्व’ मा एक आपसमा आत्मीयताका साथ सिस्नु पानी लगाउने र मीठा परिकार खाने प्रचलन छ । बिसुका दिन बिहानै नुहाएर सिस्नु लगाउँदा वर्षभरि मानिसको शरीरमा कुनै पनि प्रकारको विषले प्रवेश गर्दैन भन्ने जनविश्वास छ ।
‘बिसु पर्वको पौराणिक कालदेखि नै चलिआएको परम्परा अनुसार बिसुका दिन हरेक मानिसले एकचोटी सिस्नु लाउनै पर्छ,’ पाण्डेयले अगाडि थपे,‘वर्षभरि मानिसको शरीरमा कुनै पनि प्रकारको विषले प्रवेश गर्न नसकोस् भनेर घर परिवारका सदस्यसँगै सिस्नो लगाउने गरिन्छ ।’
सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनुभन्दा केहि दिन अगाडि नै रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ ।
यस्तै बिसुका दिन ‘दैलावालो अर्थात ‘कलै’ (दैलोमा गाईको गोवर र माटो मिसाएर बनाइएको ढिस्कोमा दुवो, टीका र जौको वाला) लगाउने प्रचलन रहेको कैलाशकुमार पाण्डेयको भनाइ छ ।
‘अन्न भनेको परमात्माको रुप मानिन्छ, बिसुका दिन नयाँ खाने कुरा (न्वागी) खाने, नयाँ लुगा लगाउने र दैलावालो (कलै) लगाइन्छ,’ पाण्डेयले भने, ‘अन्नलाई परमात्माको रुप मानी दैलोमा नयाँ अन्नको बाला लगाई दर्शन गरिन्छ, ‘कलै’ नयाँ वर्षका दिन र दशैँका दिन गरेर वर्षमा दुईपटक लगाइन्छ ।’
यता डडेल्धुराको परशुराम क्षेत्र विकास समिति, परशुरामधामका अध्यक्ष तथा अर्का संस्कृतिविद् गणेशप्रसाद जोशीले वैशाख महिना सुरु भएसँगै गर्मीका कारण रोग ब्याधी, महामारी र अनिकालजस्ता समस्या नहोस् भन्नका लागि यो ‘बिसु पर्व’ मनाइने गरेको बताए ।
यस पर्वका लागि घरबाट टाढा भएका मानिस पनि गाउँ फर्किन्छन् ।
‘सुदुरपश्चिमका पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्वका रुपमा मान्दै खुशी बाँड्ने गरिन्छ । रोजगारी तथा अन्य कामका लागि घरबाट टाढा रहेका र छिमेकी मुलुक भारत गएकाहरू बिसु मनाउन घर फर्किन्छन्,’ जोशीले भने ।
उनका अनुसार बिसुका दिन कतै कतै एउटा लठ्ठीलाई आगोमा सेकाएर बोक्रा निकालेपछि रङ दली बिशेष पूजा गर्ने चलन पनि पाइन्छ । उक्त लठ्ठीलाइ घरमा राखेमा कुनै अदृश्य असुरी (नराम्रो शक्ति) घरमा प्रवेश नगर्ने जनविश्वास रहेको छ ।
तर, सदियौँदेखि मनाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि युवामाझ भने बिसु पर्वले प्राथमिकता पाउन छोडेको छ ।
सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने ‘बिसु पर्व’ बैशाख सक्रान्ति, ‘वल्के’ अर्थात् भाद्र सक्रन्ति, गौरापर्व, माघे सक्रान्तिजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा जोशीले चिन्ता व्यक्त गरे ।
‘समाजिक सञ्जालको प्रयोगका कारण पाश्चात्य मुलुकहरुको संस्कृति भित्रिएका कारण हाम्रा संस्कृतिक मौलिकता, पारम्पारिकता ओझेलमा पर्दै गएको छ,’ उनले भने ।
यता स्थानीय संस्कृतिविद् पाण्डेयले पनि सुदुरपश्चिमका मौलिक चाडपर्वहरु हराउदै जादा पनि संरक्षणका लागि कतैबाट पहल नभएको गुनासो पोखे ।
उनले भने, ‘नेपाली सञ्चारमाध्यमले पनि स्थानीय चाडपर्वको महत्व र ऐतिहासिकतालाई उचित स्थान दिन सकेका छैनन् । मौलिक पहिचान बकेका संस्कार संस्कृतिको संरक्षण गर्नु सरकारको पनि मुख्य कर्तव्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया