काठमाडौं- हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो ।
अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।
प्रतिकेजी दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन्।
‘हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो । बिक्री भइहाले पनि ५० किलो व्यापारीले मागिरहेका थिए । अहिले तीन गुणा बढी मूल्य पायो हामी खुसी छौ’ श्रेष्ठले भनिन्।
यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फे बताए । ‘साथीहरुले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ’, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया