मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

वर्ष २०८०: नेपाली फिल्म उद्योगका लागि कति उत्साहजनक?

उस्तै घिसी पिटीमा रुमल्लिएको फिल्म उद्योग

काठमाडौँ– नेपाली फिल्म क्षेत्रका लागि त्यति वर्ष २०८० त्यति सुखद भएन । वर्षको शुरुवातमा फिल्म बजार केही चलायमन भए पनि वर्षको अन्तिमसम्म आइपुग्दा फिल्म क्षेत्र उस्तै घिसी पिटीमा रुमल्लिरह्यो ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएका तीन फिल्म ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शनमा आए । तीमध्ये ‘जारी’ र ‘बिहे पास’ मा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका थियो ।

दयाहाङको व्यस्तता यो वर्ष निकै बढे पनि उनी अभिनित केही फिल्मले राम्रो कमाइ गरे भने धेरै फ्लप बने ।

लिम्बु समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाइएको फिल्म ‘जारी’ ले यो वर्ष उत्साहजनक व्यापार गर्‍यो । हालसम्मको आधिकारिक आँकडा अनुसार यो फिल्म वर्षकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्यो । सोही मितिमा प्रदर्शनमा आएको फिल्म ‘बिहे पास’ ले भने लगानी सुरक्षित गर्न पनि सकेन ।

एक हिसाबले भन्दा दयाहाङलाई विश्वास गरेर फिल्ममा लिएर धेरै मेकरले बालुवामा पानी हालेजस्तै गरी फिल्ममा लगानी डुबाए ।

यस्तै, सुरक्षा पन्तको शीर्ष भूमिका रहेको ‘बुलाकी’ भने पर्याप्त शो नदिएको भन्दै दुई दिनमै हलबाट उतारिएको थियो । कर्णालीको ग्रामीण जीवनको कथा समेटिएको यो फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ भने सुरक्षासँगै नरेन खड्का र विराज विष्टको समेत अभिनय देख्न सकिन्छ ।

यो वर्ष प्रदर्शनमा आएका ५३ वटा फिल्ममध्ये धेरै फिल्म डुबे पनि केहीले भने राम्रो व्यापार गरे । विदेशी फिल्मलाई छोड्ने हो भने नेपालमा रिलिज भएका फिल्ममध्ये झण्डै आधा दर्जन फिल्मले मात्र आफ्नो लगानी सुरक्षित गरेर अर्को फिल्म निर्माण गर्न पुग्ने पैसा थुपारे ।

तुलनात्मक रुपमा यस वर्ष अघिल्ला वर्षभन्दा कमै फिल्म बने । केही वर्षअघिसम्म झण्डै एक सयको हाराहारीमा फिल्म निर्माण हुने गरे पनि यो वर्ष भने त्यसको आधा मात्र फिल्म रिलिज भए । यद्यपि गत वर्षको तुलनामा भने यस वर्ष सातवटा फिल्म बढी रिलिज भए ।

विभिन्न रिपोर्ट अनुसार गत वर्ष ४६ ओटा फिल्म प्रदर्शनमा आएका थिए ।

यस वर्ष दयाहाङ राई धेरैभन्दा धेरै फिल्ममा देखिए । उस्तै शैलीको अभिनय गरेको भनेर विरोध भइरहे पनि दयाहाङ राईको क्रेज भने घटेन । फ्लप या हिट जे भए पनि दयाहाङ राईलाई आफ्नो फिल्ममा लिन निर्माता तथा निर्देशकबीच होडबाजी नै चल्यो ।

धेरै फिल्मका अफर आएपछि दयाहाङ राईले केही समय फिल्म नै साइन नगर्ने घोषणा समेत गरे ।

कुन कुन फिल्मले गरे लगानी सुरक्षित?

यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये दयाहाङ राई अभिनित फिल्मको वर्चस्व रह्यो भने उनको अभिनय रहेको फिल्म ‘जारी’ ब्लकबस्टर बन्यो ।

कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले निर्देशन गरेको पहिलो फिल्म ‘जारी’ यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्यो । यो फिल्मले १७ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको थियो ।

यस्तै, यो वर्ष प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ ले पनि लगानी सुरक्षित गर्‍यो । निर्माण टिमको दाबी अनुसार यो फिल्मले झण्डै ४ करोड हाराहारीमा कमाइ गरेको थियो । यही फिल्मबाट गायक तथा कलाकार प्रकाश सपूतले नेपाली रजतपटमा डेब्यु गरेका थिए । फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको समेत शीर्ष भूमिका रहेको छ । परदेशीका कथामा संगीत सिर्जना गरिरहने गायक तथा संगीतकार नारायण रायमाझीले यो फिल्ममा पनि परदेशीको कथालाई नै उठान गरेका थिए ।

यस्तै, यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ ले पनि व्यापारिक सफलता हासिल गर्‍यो । निर्देशक दीपेन्द्र लामाका अनुसार फिल्मले चार करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । निर्देशक लामा यसको दोस्रो सिक्वेलको निर्माणमा जुटिसकेका छन् ।

दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह लगायतका कलाकारको अभिनय रहेको यो फिल्म लगानी गर्ने फिल्मको सूचीमा अटाउन सफल भयो ।

यस्तै हिट फिल्म दिने अर्का निर्देशक बने निश्चल बस्नेत । उनको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ ले समेत दर्शकको मन जित्यो । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

वर्षको अन्त्यतिर प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ पनि व्यावसायिक हिसाबले सफल भयो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्मले बक्स अफिसमा कमालको व्यापारलाई हालसम्म पनि निरन्तरता दिइरहेको छ ।

निर्माण टिमको दाबी अनुसार यो फिल्मले प्रदर्शनको तेस्रो हप्तासम्ममा विश्वभरबाट २३ करोडभन्दा बढी कलेक्सन गरेको छ ।

फिल्म अझै पनि प्रदर्शनकै क्रममा रहेको र दर्शकको क्रेज पनि उस्तै देखिएकाले फिल्म ‘जारी’ को कमाइलाई उछिन्ने आँकलन गरिएको छ । सिक्वेलका हिसाबले यस वर्ष सफल फिल्म पनि ‘महाजात्रा’ नै बन्यो ।

एआई प्रयोग गरेर पोस्टर बनाउँदै मेकर

यस वर्ष घोषणा गरिएका कतिपय फिल्ममध्ये केही फिल्मले एआईको प्रयोग गरेर पहिले नै रिलिज मिति तोक्दै एआईका माध्यमबाट पोस्टर डिजाइन गरेर सामाजिक सञ्जालमार्फत फिल्मको प्रचार गरे ।

अझ कतिपय मेकरले त फिल्मको कुनै तयारी विना नै प्रचारका लागि एआईको भरपूर उपयोग गरे ।

सम्भावना बोकेका कुन कुन फिल्म फ्लप भए?

यस वर्ष सम्भावना र राम्रो हाइप बनाएर पनि केही फिल्म फ्लप बने । निर्देशक तथा निर्माताले फिल्मको निकै तारिफ गरे पनि ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘एक भगवत एक गीता’, ‘ज्याकी आइएम ट्वान्टीवान’, ‘अगस्त्य’ लगायतका फिल्मले चर्चा त कमाए तर पैसा कमाउन सकेनन् ।

समग्रमा कस्तो रह्यो फिल्मका लागि यो वर्ष?

यो वर्षलाई फर्केर हेर्ने हो भने केही फिल्म निर्माता बाहेक अरुका लागि आशा गरिए अनुसारको वर्ष रहेन । फिल्मको मेकिङमा निर्माताले जोडबल दिए पनि धेरै फिल्म चर्चामा मात्र सीमित रहे । यद्यपि केही फिल्मले भने मेरुदण्ड मानिने स्किृप्टमा राम्रै समय खर्चिए ।

यस वर्ष हिट भएका फिल्मको सूची हेर्ने हो भने पनि स्क्रिप्ट राम्रा भएका फिल्मले दर्शकको मन जिते । स्टारडम भएका भनिएका अभिनेताहरुले पनि खासै क्रेज देखाउन सकेनन् ।

अझ रोचक पक्ष त के रह्यो भने फिल्म मौलिक बनाउनुपर्छ भनेर नारा लगाउँदै हिँड्ने मनोज पण्डित लगायतका केही मेकरहरु दर्शकको रुचि अनुसारका फिल्म निर्माण र स्क्रिप्टमा केन्द्रित रहे ।

फिल्म ‘बुलाकी’, ‘द रेड सुटकेस’, ‘साम्बाला’ लगायतका केही फिल्मले विश्वका विभिन्न फेस्टिभलमा ख्याति कमाए पनि नेपाली फिल्म उद्योगलाई व्यावसायिक सफलता भने दिन सकेनन् ।

| यो पनि पढ्नुहोस्: यी पाँच निर्देशक, जसले यो वर्ष सफल व्यावसायिक सिनेमा दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?