मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्ष २०८०

अरेली काँडैदेखि सकम्बरी: यी हुन् यस वर्ष अत्यधिक लोकप्रियता कमाएका उत्कृष्ट दश लोकगीत

यस वर्ष झनै बढ्यो लोकगीतको लोकप्रियता

काठमाडौँ– पछिल्ला केही वर्षयता लोक तथा दोहोरी गीतहरूको बजार व्यापक रुपमा बढ्दै गइरहेको छ । केही वर्षअघिसम्म गाउँघरका कुनाकाप्चा र कन्दराहरूमा गुञ्जिने लोक तथा दोहोरी गीतहरू अहिले शहरमा समेत निकै गुञ्जिन थालेका छन् ।

यो वर्ष लोक तथा दोहोरी गीतका लागि सुखद् वर्ष रह्यो । विभिन्न मेला तथा महोत्सवमा लोक तथा दोहोरी कलाकारको व्यस्तता चुलियो । प्रकाश सपूत, शान्तिश्री परियार, प्रकाश दुतराज, खेम सेञ्चुरी, अञ्जली अधिकारी लगायतका कलाकार लाइमलाइटमा छाइरहे ।

यो वर्ष दुई दर्जनभन्दा बढी लोकगीतले निकै लोकप्रियता कमाए । तीमध्ये केही गीतहरू सार्वजनिक भएपछि वर्षभरि नै चर्चामा रहे ।

अरेली काँडैले मलाई च्वास्सै ( ६ मिलियन भ्युज )

शान्तिश्री परियारको आवाज रहेको ‘अरेली काँडैले’ तीजको छेकोमा प्रदर्शनमा आएको थियो । यो गीती भिडियो युट्युबमार्फत सार्वजनिक गरिएपछि निकै लोकप्रियता कमायो । तीजमा मात्र होइन, यो गीतले तिहारदेखि स्टेजका कार्यक्रममा पनि निकै ख्याति कमायो ।

गाउँघरका झुपडीदेखि शहर बजारका बंगलाहरूमा एकनास यो गीत घन्कियो । महिलाहरूको महान चाड तीजको अवसरमा सार्वजनिक गरिए पनि गीतका शब्दमा तीजको भावना भने थिएन ।

यो गीतको क्रेज र लोकप्रियता अहिलेसम्म पनि एकैनासको छ । टिकटकमा त झन एकताका यही गीतमा मात्रै भिडियो निर्माण हुन्थ्यो ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय र शान्ति श्री परियारको स्वरमा रहेको यस गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको नृत्य छ । तीजदेखि अहिलेसम्म आइपुग्दा अझै पनि युट्युबको शीर्ष स्थानमा यही गीत ६९ मिलियन (यो समाचार तयार पार्दासम्म) भ्युज बनाएर बस्न सफल भएको छ ।

यो गीतले गाउँका भिरपाखामा पाइने जडिबुटी अरेली काँडाको विषयमा पनि मानिसहरुमा कौतुहलता सिर्जना गरिदिएको । गीतलाई निकै रुचाएर दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सकम्बरी ( ५८ मीलीयन भ्युज )

गायक प्रकाश सपूतले गत वर्षको चैत्र ३० गते सार्वजनिक गरेको यो गीतले निकै लोकप्रियता कमायो । नयाँ वर्षको पूर्व सन्ध्या पारेर सार्वजनिक भएको गीतमा सपूतको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा गायक सपूतलाई सारङ्गी बाधक बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट शहर छिरेकी एक युवती ‘फूलमाया’ ‘सकम्बरी’को कथा समेटिएको छ ।

गीतको भिडियो निर्देशन गायक सपूतले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्यसमेत देखाइएको छ । भिडियोमा कुसुम शर्मा, सुनिल थापा, हेमन्तकान्छा रसाइली, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायतको अभिनय रहेको छ ।

यो गीत वर्षभरि गुञ्जिने गीतमध्ये एक हो । यो समाचार तयार पार्दासम्म गीतले ५८ मिलियन भ्युज बटुलेको छ । नेपाली समाजको यथार्थ चित्रण गरेको भनेर यो गीतको तारिफ हुने गरे पनि प्रकाश सपूतले रेस्टुरेन्टमा काम गर्ने युवतीलाई गलत हिसाबले प्रस्तुत गरेको भन्दै उनको विरोध समेत भएको थियो ।

रिमै ( ३७ मिलियन भ्युज )

गायक प्रकाश दुतराजको राउटे समुदायको संस्कृति झल्किने म्युजिक भिडिओ ‘रिमै’ कार्तिक महिनामा सार्वजनिक भएको हो । गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओमा स्वयं दुतराज र केपिना गोतामेको अभिनय रहेको छ ।

राउटे समुदायको बसाइसराइँको कथा समेटिएको यस गीतमा बोल्ने शैली फरक, लगाउने भेषभुषाका साथै आफ्नालाई गुमाउनुको पीडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा समेटिएको छ । राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जीवनको कथा म्यूजिक भिडिओमा देखाउन खोजिएको छ ।

गायक दुतराजकै लिरिक्स र म्युजिक रहेको गीतमा म्युजिक एरेन्ज बीबी अनुरागी, मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ । आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको भिडियोले रिलिज भएको पाँच महिनामा ३७ मिलियन भ्युज बटुलेर २०८० को सर्वाधिक धेरै हेरिएको लोकभाकामध्ये परेको छ ।

कमाउने नि हो रमाउने नि हो (२० मिलियन )

यस वर्षको तीज अर्थात् भदौमा सार्वजनिक भएको गीत हो ‘कमाउने नि हो, रमाउने नि हो’ । गीतलाई अहिलेसम्म आइपुग्दा २० मिलियन अर्थात् युट्युबमा धेरै भ्युज पाउने लोकगीतको चौथो स्थानमा रहेको छ ।

यसमा खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेमकै संगीत, विनोद बाजुरालीको एरेन्ज छ । भिडियोमा गायक प्रकाश सपूतको नृत्य एवं अभिनय छ । उनीसँगै प्रस्तुत छिन् टिकटकबाट उदाएकी मोडल जुना विश्वकर्मा ।

शंकर बिसीको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतिको छायांकन, मनोज कार्कीको सम्पादन छ । शम्भु कुवँरको प्रस्तुति रहेको गीतले जीवनमा दुःख, सुख जे भए पनि रमाउन जान्नुपर्छ भन्ने भाव बोकेको छ ।

जाले रुमाल फाट्यो ( १८ मिलियन )

गायक प्रकाश सपुत अनि ट्रेण्डिङ एक–अर्काका परिपुरक जस्तै हुन् । उनका प्राय सबै गीत नै करोड क्लब र ट्रेण्डिङमा रहन्छन् । यस्तै उनको २०८० सालको अर्को धेरै भ्युज पाउने गीत बन्यो ‘जाले रुमाल फाट्यो’ ।

गत भदौमा नै सार्वजनिक गरिएको यो गीत प्रकाश सपुतकै गीत ‘कुरो बुझ्नु पर्च’ को भाग २ का रुपमा बजारमा ल्याएका हुन् ।

यो गीतको भिडिओको दोस्रो भागको नाम ‘जाले रुमाल फाट्यो’ दिइएको छ । अघिल्लो भागमा मनमाया (स्वस्तिमा खड्का) र फूलमाया (आँचल शर्मा) को साहसको कथा समावेश गरिएको छ ।

दोस्रो भागमा भने  फूलमायाले आत्महत्या गरेको विषयलाई उठाइएको छ । डाक्टर बन्ने सपना साँचेकी फूलमाया विश्वकर्माले किन आत्महत्याको बाटो रोजिन् ? साथी मनमाया त्यसकै खोजी गर्नका लागि प्रहरीमा भर्ति हुन्छिन् । त्यो आत्महत्या नभई हत्या भएको कुरा प्रहरी बनेकी मनमायाले पत्ता लगाउँछिन् ।

फूलमायाको हत्यारालाई मनमायाले सजाय दिलाउँछिन् । जातीय विभेद र त्यसले एउटी नारीमाथि गरेको अन्यायबारे भिडियोमा देखाउन खोजिएको छ । गीतमा गागिका समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ ।

गीतको शब्द तथा संगीत प्रकाश सपुतको छ । भिडिओलाई पनि सपुतले नै निर्देशन गरेका छन् । भिडिओमा प्रकाश, स्वस्तिमा र आँचलसँगै गौरव पहरी, विशाल पहरी, पुष्पा अवस्थी, रोमा विष्ट लगायतका कलाकारको अभिनय छ ।

यो गीत २०८० मा सार्वजनिक भएर धेरै भ्युज पाउने लोकभाकाको शीर्ष पाँचौ नम्बरमा पर्न सफल भएको छ । समाचार बनाउँदासम्म गीतले १८ मिलियन भ्युज बटुल्न सफल भएको छ ।

तिमी र म जाम माया कहीँ टाढा, भो न बसम् पिरैमा ( १५ मिलियन )

कलाकार पल शाहको अभिनय रहेको यस गीत आठ महिनाअघि सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा समावेश ‘डान्स स्टेप’लाई फलो गर्दै दर्शकले धेरैभन्दा धेरै टिकटक बनाएका छन् । पल शाह र रेनुका खड्काको अभिनय एवं नृत्य रहेको गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

भिडियोमा काजिशले अभिनेता पललाई फरक ‘डान्स स्टेप’मा नृत्य गराएका छन् । जसले दर्शकको ध्यान तान्न सफल भएको छ । यो गीतमा गोविन्द पंगेनीको शब्द एवं संगीत, शान्तिश्री परियार र सुमन बिटीको स्वर छ ।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । यस वर्ष रिलिज भएका लोकगीतमध्ये समाचार तयार पार्दासम्म यो गीतले हालसम्म १५ मिलियन भ्युज बटुल्न सफल भएर धेरै भ्युज पाउने गीतहरुको छैठौँ नम्बरमा परेको छ ।

दमाई महाराज (१२ मिलियन)

‘मन मनकै कुरा गर्छु मनैबाट सुन्नु, मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु, मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल, मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल…हलहलहल मन हलहलहल’ यी शब्दहरु समेटिएका गायक प्रकाश सपुतको यस वर्ष नै रिलिज भएको नयाँ गीत हो ‘दमाई महराज’ ।

आफ्ना गीतमा समाजका विकृति, विसङ्गति र जातीय विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यसमा पनि उस्तै मुद्दा उठाएका छन् । प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् ।

यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश दिइएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, लगायतको अभिनय छ । प्रकाशले यस वर्षलाई जातीय विभेदविरुद्धका गीत सिर्जना गर्ने वर्षको रुपमा काम गर्ने घोषणा समेत गरेका थिए ।

हालसम्म आइपुग्दा यो गीतले १२ मिलियन भ्युज बटुलेर यस वर्षको धेरै भ्युज पाउने लोकगीतको सातौँ नम्बरमा पर्न सफल भएको छ ।

डाँडैको टुनी सम्झिदिए हुनी ( मिलियन )

अर्जुन सापकोटा नेपाली लोक सङ्गीतका उम्दा कलाकार हुन् । उनका धेरै लोकभाकाहरु लोकप्रिय छन् । पानी परेको, वनकी चरी, जस्ता उनका थुपै्र गीतहरुलाई दर्शक रुचाएका छन् ।

यस्तै यसै वर्ष रिलिज भएको ‘डाँडैको टुनी सम्झिदिए हुनी’ बोलको गीतले पनि राम्रो भ्युज बटुल्न सफल भयो ।

यसै वर्षको वैशाखमा सार्वजनिक भएको यो गीतले यो समाचार तयार पार्दासम्म ८ मिलियन भ्युज पाएर यस वर्षका १० हिट लोकगीतको सूचीमा पर्न सफल भएको छ ।

शिव हमालको शब्द संगीत रहेको यस भाकामा अर्जुन सापकोटा र शान्ती श्री परियारको सुमधुर आवाज रहेको छ । काजीश श्रेष्ठको नृत्य निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, दिव्या न्यौपाने, बादल घिमिरे, कृष्टल सापकोटाको अभिनय देख्न सकिन्छ ।

मायाप्रेममा आधारित यो लोकभाकाका कमेन्ट सेक्सन पनि सकारात्मक कमेन्टले नै भरिएका छन् । 

दुई पाइला (७९ लाख)

लोक दोहोरी क्षेत्रका एक सफल गायक बद्री पंगेनीले आफ्नो संगीत यात्रालाई अझ सक्रिय बनाउँदै यसवर्ष फेरि ९ महिनाअघि नयाँ गीत ‘दुई पाइला’ सेन्टिमेन्टल लोक गीत बजारमा ल्याएका थिए ।

बद्री पंगेनी र एलिना चौहानले आवाज दिएको गीतमा एउटा प्रेमी प्रेमिकाको कहानी र बाध्यताले छुटिनु पर्दाको पीडालाइ प्रष्ट रुपमा गीतमा समावेश गरेको पाइन्छ ।

बद्री पंगेनीकै संगीत र नारायण ज्ञावालीको शब्द रहेको गीतमा अभिनय भने लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत र पूजा पौडेल लगायतले गरेका छन् ।

कथा र विषयवस्तुलाई हेर्ने हो भने जो कोहीको आँखामा आँसु आउछ । यो गीत हेरेर पंगेनीले सधैँ सामाजिक गतिविधिलाइ चित्रण गरेरै सिर्जना बजारमा ल्याउने गरेका हुन्छन् ।

बद्री पंगेनी आफैले निर्देशन गरेको यो गीतमा प्रकाश सपुतको दमदार अभिनय देखिन्छ । गीतलाई न्याए दिएर प्रकाशले अभिनय गरेका छन् । शब्द–शब्दमा मन नै अमिलो बनाउने भाव छ ।

यस वर्षको धेरै भ्युज ल्याउने लोकभाकाको नौ नम्बरमा पर्न सफल भएको छ । समाचार तयार पार्दासम्म ७९ लाखभन्दा भ्युज बनाएको छ ।

मुटु कटक्कै (७० लाख)

कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपूतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गर्छन् ।

सपूतको यो गीत ‘मुटु कटक्कै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको थियो । तीन महिना अघि पुसमा रिलिज भएको यो गीतले समाचार तयार पार्दासम्म ७ मिलियन भ्युज पाएर यस वर्ष सार्वजनिक भएका गीतहरुमध्ये धेरै भ्युज पाउने लोकगीतको १० औं नम्बरमा पर्न सफल भएको छ ।

गीतमा शब्द तथा संगीत पनि सपुतकै छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् ।

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुसुम शर्मा, रोशनी कार्की, विजय पुन लगायतको अभिनय छ ।

नवराज उप्रेतीको छायाङ्कन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?