मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाज

वायु प्रदूषणका कारण राजधानीमा वार्षिक ५ हजारभन्दा बढीले गुमाउँछन् ज्यान

काठमाडौँ– क्याम्पस जान बिहानै पाँच बजे उठेकी भक्तुपुरको राधेराधेमा बस्दै आएकी आकांक्षा श्रेष्ठको आँखा पोलिरहेको थियो । उनले रुघा लागेजस्तो पनि महसूस गरिन् । कलेज पुग्दासमेत उनको समस्या त्यस्तै रह्यो ।

कलेजका साथीहरुले पनि उस्तै समस्या बेहोरेको सुनाए । कार्यालय पुगेपछि वायु प्रदूषणका कारण यस्तो समस्या भएको रहेछ भन्ने उनले समाचारबाट थाहा पाइन् । 

केही दिनयता श्रेष्ठले मात्रै नभएर उपत्यकाका अधिकांश मानिसले घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या भएको महसूस गरेका छन् ।

यस्ता समस्याहरु खासगरी वायु प्रदूषणकै कारण देखिने चिकित्सकहरू बताउँछन् । काठमाडौँमा पानी परेपछि भने यो समस्या केही मत्थर भएको छ । यद्यपि वायु प्रदूषणको समस्या अझै सल्टिएको भने छैन ।

डा. पुष्पमणि खरालले वायु प्रदूषणका कारण धेरैले यस्तो समस्या बेहोरेको बताउँछन् । उनका अनुसार आँखा पोल्ने, रुघाखोकी लाग्ने तथा श्वासप्रश्वास सम्बन्धी समस्या खासगरी वायु प्रदूषणकै कारण भइरहेका छन् ।

‘वायु प्रदूषणका कारण रक्तसञ्चार प्रणाली मार्फत प्रदूषणका मसिना कणहरु मुटुमा पुगेर हृदयघात तथा मस्तिष्कसम्म जम्मा भएर मस्तिष्कघात एन्जाइटी, डिप्रेसनसँगै अल्सर र प्यारालाइसिस हुने सम्भावना पनि अधिक रहन्छ,’ उनले भने ।

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर तथा दमजस्ता दीर्घरोग लागेका बिरामीहरुको अस्पताल भर्ना हुने दर पनि बढ्ने उनले बताए ।

केही दिन दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानको आकाश धुम्म बनेको छ । पानी परेर केही खुले पनि अझै पूर्ण रुपमा मौसम सफा भइनसकेको मौसमविदहरूले जनाएका छन् ।

मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् बरुण पौडेलले वनमा लागेको डढेलो र आगलागीका घटनासँगै विभिन्न कारणले वायु प्रदूषणको स्तर बढ्दा मौसम धुम्मिएको बताए ।

‘तत्काल ठूलो पानी पर्ने सम्भावना छैन, पानी पर्न नसक्दा मौसम धुम्मिएकोजस्तो देखिएको छ, जसले वायु प्रदूषणलाई थप बढवा दिएको छ,’ उनले भने ।

चैत्रको शुरुवातदेखि नेपालका ३ सय १७ वटा जङ्गलमा आगलागीका घटना भएको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । यो सङ्गै सन् २०२४ मा कुल आगलागीको कुल संख्या १ हजार ४० पुगेका छन् ।

आगलागीका यस्ता घटनाले वायु प्रदूषण बढाउनमा मात्र नभई र दीर्घकालीन वातावरणीय र स्वास्थ्य खतराहरू पनि निम्त्याउने यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।

सुख्खायामसँगै निरन्तर बढीरहेका यस्ता आगलागीका घटनाहरुले उपत्यकासहित देशभरको हावाको गुणस्तर बिग्रिरहेको छ । गत सोमवारका दिन काठमाडौँ उपत्यका विश्वमै सबैभन्दा बढी प्रदूषण भएको शहरको सुचीमा थाइल्यान्डको चियाङ माई शहरपछि दोस्रो स्थानमा रह्यो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नै एक्यूआई १ सय ५० भन्दामा माथि पुगेको वायुलाई मानवस्वास्थ्यका लागि ‘अस्वस्थ’ मानेको अवस्थामा मंगलवार पनि काठमाडौँ उपत्यकाको  एयर क्वालिटी इन्डेक्स (एक्युआई) १ सय ८० पुग्यो ।

यस्तै बुधवार पनि काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुग्यो । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरले बुधवार दिउँसो नेपालको राजधानी काठमाडौंको एयर क्वालिटी इन्डेक्स २ सय ६५ कायम गर्‍यो ।

जुन मानव जनस्वास्थ्यका लागि संकटकालको अवस्था मानिन्छ । विगत केही वर्षयता काठमाडौँ उपत्यका बेलाबेलामा आईक्यू एयरको सूचकाङ्कमा वायुका गुणस्तर निकै कम हुने सहरको सुचीमा पर्दै आएको छ ।

यता वातावरणविद् भुषण तुलाधरले वायु प्रदूषणलाई प्रमुख वातावरणीय समस्याको रुपमा परिभाषित गर्दै पार्टिकुलेट म्याटर (पिएम २.५) भनिने धुवाँको लहरले मानिसको फोक्सोसहित रक्तनलीहरुमा पनि असर पुर्‍याउने बताए ।

उनका अनुसार पिएम २.५ भनेको वायु प्रदूषणको मापन गर्नका लागि वायुमा हुने सूक्ष्म कणहरू मापन गर्ने विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शब्द हो । जुन मानिसको कपालभन्दा २५ गुणा साना आकारका हुन्छन् ।

यस्ता कणहरुले मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा मिसिएर गम्भीर स्वास्थ्य समस्या निम्त्याउने तुलाधरको भनाइ छ ।

‘विश्वमा वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ, त्यसैले यसलाई डब्लुएचओले नै प्रमुख वातावरणीय समस्या भनेको छ,’ तुलाधरले भने ।

उनका अनुसार नेपालमै पनि वायु प्रदूषणकै कारण वर्षेनी ४२ हजार १ सय मानिसको मृत्यु हुने गरेको अनुमान स्टेट अफ ग्लोबल एयर २०२० ले गरेको छ । यस विषयमा सबैले गम्भीर हुनुपर्ने उनको मत छ ।

काठमाडौं उपत्यकामा मात्रै वार्षिक ५ हजार ८० मृत्यु प्रदुषित हावाको कारण हुने गरेको युएसएड क्लिन एयरको तथ्यांक छ ।

काठमाडौं उपत्यकाको बनोट कचौरा आकारको भएको कारण नेपालका अन्य शहरभन्दा राजधानीमा बेलाबेलामा वायु प्रदूषण हुने सहरको शीर्ष स्थानमा पुग्ने गरेको वातावरणविद् तुलाधरको भनाइ छ ।

खाना पकाउने परम्परागत ऊर्जाका स्रोतबाट निस्कने धुवाँ, पुराना सवारी साधनको अत्यधिक प्रयोग, उद्योगिक क्षेत्रबाट उत्सर्जन हुने फोहर तथा धुवाँ, जङ्गलमा लाग्ने डढेलोको प्लाष्टिकजन्य फोहोर जलाइनुका कारण वायु प्रदूषण व्यापक रुपले बढिरहेको अर्का वातावरणविद् डा. भुपेन्द्र दासले बताए ।

‘वायु प्रदूषण नियन्त्रणका लागि गर्नुपर्ने र गर्नसक्ने धेरै कामहरु छन्, जसमध्ये विद्युतीय सवारीसाधनको प्रयोग, साइकल तथा पैदलयात्रा प्रोत्साहन, फोहरको उपयुक्त व्यवस्थापन, तथा सरकारले लागु गरेका नीति, एैनकानुनको पूर्ण पालना गर्नसके धेरै हदसम्म वायु प्रदूषण नियन्त्रण हुन्छ’ वातावरणविद् तुलाधरले भने ।

उनकै कुरामा सही थप्दै अर्का वातावरणविद् दासले पनि सर्वसाधारण जनता पनि सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ३० ले व्यवस्था गरेको सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता सरकारले गर्नुपर्छ, यसका लागि भएका ऐन कानुनको पूर्ण पालना र थप कानुनहरुको व्यवस्था गर्नुपर्छ ।’

यस्तै डा. पुष्पमणि खरालले पनि वायु प्रदूषणवाट बच्न गोबर ग्याँस, विद्युत शक्ति तथा सौर्य ऊर्जाको प्रयोग, प्लाष्टिक तथा धुँवाजन्य पदार्थहरु नजलाउने तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्नेमा जोड दिए ।

उनले वायु प्रदूषण बढी हुने समयमा सकेसम्म घरबाहिर ननिस्कन पनि सुझाव दिए । विज्ञहरुका अनुसार अप्रिल १ देखि मात्रै, नेपालले ३१७ वटा जंगलमा आगलागीको अनुभव गरेको छ । जसबाट २०२४ को कुल संख्या १०४० पुगेको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ ।

यी आगोले तत्काल वायु प्रदूषण संकटमा मात्र योगदान गर्दैन तर दीर्घकालीन वातावरणीय र स्वास्थ्य खतराहरू पनि निम्त्याउँछ ।

विश्वव्यापी परिप्रेक्ष्यमा नेपालको वायु प्रदूषण संकटले थाइल्यान्डको चियाङमाई, बंगलादेशको ढाका, मलेसियाको क्वालालम्पुर र युगान्डाको कम्पालालगायत अन्य गम्भीर रूपमा प्रभावित शहरहरूमा स्थान राखेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदूषण सबैभन्दा प्रमुख वातावरणीय स्वास्थ्य जोखिमको रूपमा खडा छ  । गैर(संक्रामक रोगहरूको लागि दोस्रो ठूलो जोखिम कारकको रूपमा रहेको छ ।

नेपालमा मात्रै वायु प्रदूषणका कारण वार्षिक ४२ हजार १ सयको मृत्यु हुने गरेको छ । जसमा १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र करिब २७ प्रतिशत ७० वर्षभन्दा माथिका वयस्कहरूमा हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो प्रदूषणले नेपालीको औसत आयु ४.१ वर्षले घटाउँछ ।

नेपालमा मृत्युको प्राथमिक कारणहरूको तथ्याङ्कले वायु प्रदूषणले क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) (६६५), इस्केमिक हृदय रोग (३४५), स्ट्रोक (३७५), तल्लो श्वासप्रश्वासको संक्रमण समावेश गरी शीर्ष पाँच कारणहरूलाई प्रभाव पारेको देखाउँछ। (४७५), र नवजात शिशुको मृत्यु (२२५), यसको प्रचलन दैनिक बढ्दै गएको छ ।

यस संकटको गम्भीरतालाई ध्यानमा राख्दै, नागरिकहरू, विशेष गरी कमजोर जनसंख्याको सुरक्षा गर्न सरकार र सम्बन्धित संस्थाहरूको तत्काल दिगो उपायहरू सोच्नु अपरिहार्य रहेको विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

काठमाडौं उपत्यकामा गाडीको धुवाँका कारण वायु प्रदूषण तीव्र रूपमा बढेको बताउ“दै विद्युतीय सवारीसाधन तथा साइकल लगायत विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धन गर्न सकिएमा वायु प्रदूषण कम गर्नमा धेरै सहयोग मिल्ने वातावरणविद्हरुले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?