काठमाडौँ – यस वर्षकै प्रतीक्षित फिल्म ‘डिग्री माइला’ आजबाट प्रदर्शनमा आएको छ । ब्रान्ड निर्देशक स्टार कलाकार र हाइपका कारण चर्चामा रहेको यो फिल्मले देशभरिका सिनेमा हलमा उच्च शो पाएको छ।
ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरूलाई आफूतिर आकर्षित गरिरहेको छ। यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सिनेमा सोही नाटकमा आधारित छ।
रामबाबु गुरुङको निर्देशनमा रहेको तथा दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ ले पहिलो दिन दुई सय ५० हाराहारीको शो पाएको छ।
जसलाई देशकै ठूलो चेन क्यूएफएक्सबाट ६१ सो उपलब्ध गराउँदा वितरक गोविन्द शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए।
बाँसुरी फिल्मले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्।
यसैबीच चर्चामै रहेको अर्को फिल्म ‘द रेड सुटकेस’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यो फिल्म विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएर विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत छ । चलचित्रको ट्रेलरले पनि निकै तारिफ पाइरहेको छ ।
फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतको अभिनय छ ।
फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सहनिर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।
तर उचित सो नपाएको भन्दै निर्माताले फिल्म ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा प्रदर्शन नगर्ने निर्णय गरेका छन् ।
जुन निर्णयको केही लाभ डिग्री माइला र महाजात्राले पायो। शुक्रवार दुई नयाँ नेपाली चलचित्र रिलिज हुँदा पनि महाजात्राले एक सय माथिको शो पाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया