काठमाडौँ – एसीसी प्रिमियर कपको आजबाट शुरुवात हुँदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रहेका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् ।
जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।
प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल आज मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ ।
नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराह्न ४: १५ बजेदेखि शुरु हुने छन् ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।
जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया