मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्युटी पेजेन्ट

मेडिकल विद्यार्थी श्रद्धा भन्छिन्– आफ्ना कुरा धेरैलाई भन्न ‘ब्युटी पेजेन्ट’मा भाग लिएँ

‘हरेक क्षेत्रमा सफलता हात पार्न आफू सक्रिय हुन आवश्यक छ’

भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोकको रिठेमा जन्मिएकी श्रद्धा अधिकारी हाल काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत छिन् । उनी नौ वर्षको हुँदा उनको परिवार बनेपा बसाइँ सरेका थिए ।

यसकारण उनले आफ्नो प्लस टु सम्मको अध्ययन बनेपामै सकिन् । त्यसपछि उनी स्नातक अध्ययनका लागि राजधानी छिरिन् ।

श्रद्धाको सानै उमेरदेखि नै सामाजिक कार्यमा रुचि थियो । उनी विगत दुई वर्षदेखि काठमाडौँ मेडिकल कलेजको एक क्लबको सामुदायिक सेवा संयोजकको रुपमा समेत काम गर्दै आइरहेकी छिन् । यही संस्थामा आवद्ध भएर लैङ्गिक हिंसा र मानसिक स्वास्थ्यका बारेमा जागुरुक गराउने क्रममा उनले आफ्नै हब नेपाल नामको संस्था पनि खोलेकी छिन् ।

संस्थाले विभिन्न विद्यालय तथा समुदायमा गएर मानसिक स्वास्थ्यका साथै हिंसाका बारेमा जनचेतना जगाउँदै आएको छ । अर्को रोचक कुरा के छ भने मेडिकल विद्यार्थी रहेकी उनी ब्युटी पेजेन्टमा समेत सहभागी भइरहेकी छिन् ।

‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा सहभागी भएर उनी अन्तिम ३० भित्र परेकी छिन् ।

गत बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित अन्तिम ३० जना प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । यिनै मध्येकी श्रद्धासँग ब्युटी पेजेन्टतर्फ अहिलेका युवापुस्ताको आकर्षण र यसको प्रभावबारे जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश

मेडिकल विद्यार्थी तपाईँ कसरी यस सौन्दर्य क्षेत्रतर्फ मोडिनुभयो?

मोडिएको भन्दा पनि म पहिलेदेखि नै सामाजिक कार्यमा रुचि राख्दै आएकी थिएँ । साथै म स्वास्थ्य क्षेत्रमा पनि छु । यसकारण मैले मेरो जीवनमा गर्न चाहाने कुरा भनेको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन हो ।

जस्तै मानिसमा बाहिरी घाउ चोट लाग्यो भने मान्छेले सहजै भन्छ तर मानसिक चोट लागेको व्यक्तिले न आफ्नो चोट राम्ररी देखाउन सक्छ न समाजले नै उसलाई साथ र सर्मथन जनाउँछ ।

यस कारण मानसिक स्वास्थ्य सम्बन्धी हाम्रो समाजमा रहेको गलत प्रवृत्ति हटाउन म यो क्षेत्रमा आएँ । यो क्षेत्रमा लाग्नुको मुख्य कारण धरै मानिसहरुसँग मेरो देखभेट हुन्छ । मैले मेरा कुरा धेरै जनालाई बाँड्न पाउँछु । मेरो मानसिक स्वास्थ्य सम्बन्धी उद्देश्य पूरा गर्न सक्छु भनेर म यस ब्युटी पेजेन्ट तर्फ मोडिएकी हुँ ।

यो क्षेत्रमा आउन घरपरिवारको कत्तिको समर्थन पाउनुभएको छ?

शुरुमा त बुवाआमाले एमबीबीएस पढ्नमै त्यति धेरै खर्च भइरहेको छ । फेरि उता सौन्दर्य क्षेत्रमा लागेर छोरीले पैसा डुबाउने भई, पढाइ बिग्रने भयो भनेर पिर मानिरहनुभएको थियो । तर, अहिले भने बुझ्नुभयो र मलाई सपोर्ट नै गरिरहनुभएको छ ।

यस्ता सौन्दर्य प्रतियोगिताहरुमा भाग लिने महिला प्रतियोगीहरु हिंसामा परेको कुरा बेला बखतमा बाहिरिन्छ । तपाईले पनि सुन्नुभएकै होला अहिले आफै प्रतियोगी भएर सामेल भइरहँदा तपाईले त्यहाँ कस्तो वातावरण पाउनुभयो ? यस्ता महिला हिंसाको शिकार हुनुभयो कि भएन ?

यस्ता कुराहरु मैले पनि सुनेकै हुँ । तर, मेरो हकमा भने यस्तो वातावरण महसूस नै भएन । मलाई यो कुरा व्यक्ति विशेषमा भर पर्ने कुरा हो जस्तो पनि लाग्छ । हाम्रो समूहमा यस्तो छैन । निकै सौहार्दपूर्ण वातावरण छ ।

यो कुरामा उमेरले पनि असर पार्छ । त्यसमाथि म २३ वर्ष भईसकेकी युवती हुँ । म अरुको ललाइफकाइ र बहकाउ यकिन नगर्ने पाको उमेरमा पुगेर पनि होला । मसँग यस्तो अनुभव रहेन ।

तपाईँ मोडलिङको क्षेत्रमा भविष्य उज्ज्वल देख्नुहुन्छ ?

यो प्रश्न धेरै नै आइरहेको हुन्छ । यो पनि हरेक व्यक्तिमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई । तपाई कत्तिको अपडेट हुनुभयो, कत्तिको सक्रिय भइरहनुभएको छ भन्ने कुरामा पनि धेरै भर पर्छ । मानौँ, तपाईले प्रतियोगिता जित्नुभयो र त्यही क्राउन लिएर निस्क्रिय बस्नुभयो भने त्यो क्राउन त्यति उपयोगी पनि हुँदैन ।

यो प्लेटफर्म मार्फत धेरैले चिनिसकेपछि अगाडि कत्तिको काम गर्नुभयो ? काम गर्नुभएको छ कि छैन भन्ने कुरा मुख्य हो । हरेक क्षेत्रमा सफलता हात पार्न आफू सक्रिय रहन आवश्यक छ । म यो क्षेत्रमा भविष्य छ नै भन्छु । यो राष्ट्रिय प्लेटफर्म हो । यही मार्फत अन्तर्राष्ट्रिय प्लेटफर्म पाउने हो ।

यसले व्यक्तित्व निर्माण देखिअभिव्यक्ति कलालाई पनि निखार्छ । यसकारण तपाई आफूलाई निखार्न चाहनुहुन्छ भने अवश्य यो क्षेत्रमा जानुहोला ।

तपाईँभन्दा पछिल्ला पुस्ता जो यही क्षेत्रमा आएर आफ्नो भविष्य बनाउँछु भनेर सोचिरहेका छन्, उनीहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ

ब्युटी पेजेन्टमा प्रतियोगी बन्न चाहनेलाई म के भन्न चाहन्छु भने मेकअप गर्न मन परेर, राम्रो राम्रो डिजाइनर कपडा लगाउने शोक भएर अथवा मोडल बन्ने चाह राखेर मात्रै यस क्षेत्रमा नजानुहोस् ।

त्यसको लागि मोडलिङ क्षेत्र छ । बरु तपाईँको अन्य कुनै लक्ष्य छ । सपना छ भने उक्त सपना पूरा गर्ने सहयोगी पुल बन्न सक्छ ब्युटी पेजेन्ट ।

किनकि यस्ता प्रतियोगीताहरुमा धेरै मान्छेहरुसँग देखभेट हुन्छ । जनसम्पर्क बढ्छ । नयाँ–नयाँ कुरा सिक्न पाइन्छ । तपाईँले आफ्नो कुरा व्यक्त गर्न पाउनुहुन्छ । यसकारण यदि तपाईँ आफ्नो कुराहरु ठूलो जमातमा पुर्‍याउन चाहनुहुन्छ अथवा थरीथरीका विचार विमर्श गर्दै सुन्दै आफूलाई अगाडि बढाउन चाहनुहुन्छ भने यस्तो प्लेटफर्म रोज्न नै म सल्लाह दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?