काठमाडौँ– नयाँ वर्षको आगमन हुँदै गर्दा सुदूरपश्चिमका अछाम, बाजुरा र कैलाली भेगमा यतिबेला ‘पुतला खेल’को रौनक छाइरहेको छ । मङ्गलाचरण गाउँदै विवाहित सुदूरका चेलीबेटीले माइती पक्षका देवीदेवताहरुलाई स्मरण गरेर ‘पुतला खेल’मा आफ्नो पीर व्यथा पोख्दै छन् ।
सुदूरको सांस्कृतिक तथा ऐतिहासिक मान्यता अनुसार ‘पुतला खेल’ले विवाहित चेलीबेटीको दुःख, करुणा र माइतीसँग बिछोड भएपछि सामना गर्नुपर्ने परिस्थितिको गहिरो वेदना भाव बोकेको छ ।
कैलाली टिकापुरकी स्थानीय तथा सञ्चारकर्मी दुर्गा देवकोटाका अनुसार यो पर्वले सुदूरका महिलाहरुको पीरव्यथाहरु समेटेको छ ।
‘पुतला खेल’ खासगरी महिलाहरुले फरिया, चौबन्दीजस्ता मौलिक पहिरन लगाएर हातमा पटुकाको फेरो समाएर गीतका शब्दसँगै एक कदम पछाडि सर्दै खेल्ने सांस्कृतिक खेलका रुपमा रहेको सांस्कृतिक समाज टीकापुर कैलालीका सल्लाहकार समितिका संयोजक कण्ठराज गिरीले बताए ।
उनका अनुसार सुदूरपश्चिमका अछाम, बाजुरा र कैलालीमा मात्रै खेलिने ‘पुतला खेल’ नेपाली चेलीबेटीहरुले सामुहिक रुपमा भेला भएर खेल्ने गर्दछन् ।
‘पुतला खेल महिलाहरुले खेल्ने खेल र अध्यात्मिक चिन्तनका रुपमा हामी लिन्छौं । किनकी यो खेल नयाँ वर्ष शुरु हुनुभन्दा एक हफ्ता अगाडिदेखि नै मङ्गलाचरण गाउँदै विवाहित चेलीबेटीका माइतीलाई सम्झँदै शुरु हुन्छ,’ गिरीले जोय नेपालसँगको कुराकानीका क्रममा भने ।
विविध कला र संस्कृतिले धनि नेपाललाई बहुसांस्कृतिक र बहुधार्मिक तथा बहुविशेषतायुक्त देश भनेर चिनिने देशमा सुदूरपश्चिमका कला र संस्कृतिमध्ये ‘पुतला खेल’ लाई पहिचानकै रुपमा लिइएको स्थानिय संस्कृतिविद्हरुको भनाइ छ । उनीहरुका अनुसार सुदूरपश्चिमका डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरको मुख्य संस्कृतिका रुपमा मनाइन्छन् ।
सुदूर पश्चिममा मात्र नभएर नेपाली छोरीचेलीबेटी विवाह गरेर गएपछि माइती फर्काउने तीज जस्ता महत्वपूर्ण पर्वहरु छन् । पुतलामा पनि छोरीचेलीले विवाह गरेर जानुपर्छ भन्ने मानसिकता यो खेलमा गाइने गीतहरुमा झल्किन्छन् ।
ऐतिहासिक कथन अनुसार परापूर्वकालमा अछाममा (तत्कालीन बिमकोट राज्यका) ठकुरी राजाकी छोरी रञ्जना (रनपुतला) को विवाह धेरै उमेर बितिसक्दा पनि भएन ।
पछि तराईबाट गएका एक बडाराजाले बिमकोटे राज्यका रञ्जनासँग विवाहको प्रस्ताव गर्दा रञ्जनाले अस्वीकार गर्छिन् ।
तराईमा गर्मी हुने र त्यहाँ आफू गर्मीले पोलिएर मर्ने कुरा सुनाउँछिन् । तर राजाले भने सबै कुराको बन्दोबस्त गरेर पठाउने कुरा सम्झाइ–बुझाई गरेर विवाह गरिदिन्छन् ।
यो प्रसङ्ग समेत पुतला नाचसँग जोडिने गिरीले बताए । तर कतैकतै भने अछाम र बाजुराको सङ्गमस्थलमा एक राजाले आफ्नी छोरी रनमैयाको शोकमा पुतला नाच शुरु गरेका भन्ने सुनिने गरे पनि अहिलेसम्म ठ्याक्कै किटेर नै कसैले भन्न नसकेको गिरीले सुनाए ।
उनले भने, ‘मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झँदै पुतला खेल्न लगाएका थिए भन्ने पनि भनाइ छ । तर ठ्याक्कै किटेर यो परम्परा कसरी शुरु भयो भन्न सकिने अवस्था छैन ।’
‘पुतला खेल’ बिसु (डोटेली भाषामा नेपाली नयाँ वर्ष चिनाउने शब्द) आउनुभन्दा एक हप्ताअघिदेखि शुरु भएर बिसुका दिन समापन गर्ने चलन रहेको स्थानीय रङ्गी थापाले बताइन् ।
उनले भनिन्, ‘यो हामी महिलाहरुले माइतीदेखि पोइल घरसम्म आइपुग्दा सामना गर्नुपरेको दुःखपीर बिसाउने संस्कृति हो । एक हप्ता अगाडीबाट शुरु गरी बिसुका दिन सेलाउँछौँ ।’ उनका अनुसार सेलाउनुभन्दा अगाडिका दिन दुईजना महिलालाई नै बेहुलाबेहुलीको स्वरुप मानी विवाह गराइन्छ । बिसुका दिन पुराना धारा, वा पानीको मुहान नजिक पुतला सेलाउने गरिन्छ ।’
धेरै पहिलेदेखि नै पुतला खेल खेल्दै आएकी थापाले अहिलेको नयाँ पुस्ताले भने यो खेलप्रति चासो नदेखाएको सुनाइन् । उनले यस परम्पराको सम्मान गर्न नसकिरहेको गुनासो समेत गरिन् ।
गिरीका अनुसार पनि पछिल्लो समय भने पुरानो पुस्तासँगै यो नाच पनि हराउँदै गएको छ ।
पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको उनले बताए ।
‘हामीले सांस्कृतिक समाजको तर्फबाट सुदूरपश्चिमको होरी, पुतला खेल, देउडासँगै कला, संस्कृति र भेषभुषाको संरक्षणका लागि धेरै कामहरु गर्दै आएका छौं । तर अहिलेका युवापुस्ताले यस्ता कुराहरुमा खासै चासो दिने गरेका छैनन्,’ उनले भने ।
स्थानीय सरकारले संस्कृति संरक्षणको पाटोमा न्युन कार्य गरेको उनको बुझाइ छ । मौलिक भेषभुषा, भाषा संस्कृति तथा परम्पराको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउबाट सहयोग गरौं भन्ने उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया