मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कस्तो रोग हो एचआईभी एड्स ? कसरी सर्छ ?

एचआईभी भाइरसका कारण विश्वभर चार करोडभन्दा बढी व्यक्तिहरू पीडित छन् । यसको अहिलेसम्म उपचार विधिसमेत पत्ता नलागेका कारण एचआईभी एड्सलाई घातक रोगका रुपमा लिइन्छ ।

एचआईभी भाइरसले हाम्रो शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदिने र एड्स रोग लाग्ने हुन्छ । साथै एचआईभीका बिरामीलाई अरु सामान्य रोगले पनि छिट्टै समाउन सक्छ ।

यौन सम्पर्कका कारण सर्ने भएकाले यो रोगका बारेमा नेपाली समाजमा त्यति धेरै खुलेर बहस भएको देखिँदैन ।

एचआईभी कस्तो रोग हो ? यो कुन कुन माध्यमबाट सर्दछ ? यो रोग लाग्ने मुख्य कारण के हो ? यससम्बन्धमा हाम्रो समाजमा रहेका भ्रमहरु के–कस्ता छन् ? भन्ने सन्दर्भमा वीर अस्पतालमा कार्यरत यौन तथा चर्मरोग विशेषज्ञ अनुपमा कार्कीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

एचआईभी कस्तो खाले रोग हो?

सामान्य भाषामा भन्दा यो एक यौन रोग हो । यो रोग एक वा एकभन्दा बढी व्यक्तिमा हुने यौन सम्पर्कका कारण सिर्जित हुने भाइरस हो । यो मानव प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने भाइरस हो । कुनै व्यक्तिको शरीरमा एचआईभी भाइरस प्रवेश भएको पाइएमा त्यस व्यक्तिलाई एचआईभी संक्रमित भन्ने गरिन्छ । कुनै व्यक्तिमा एचआईभी संक्रमण हुँदैमा उसलाई एड्स भएको मानिँदैन ।

एचआईभी संक्रमित व्यक्तिमा एड्स हुन धेरै वर्ष लाग्न सक्छ । संक्रमित व्यक्तिहरू प्राय: धेरै वर्षसम्म स्वस्थ र बलियो नै देखिन पनि सक्छन् । एचआईभीको संक्रमणपछि समय बित्दै जाँदा एड्स अवस्थामा यसले शरीरमा रहेका रोग विरूद्ध लड्ने कोषहरूलाई नष्ट गर्दै जान्छ । जसले गर्दा संक्रमित व्यक्तिको रोगविरूद्ध लड्ने क्षमता कमजोर हुन जान्छ र सामान्य रोग जस्तै: झाडापखाला, क्षयरोग, निमोनिया आदि लाग्दा पनि निको हुन गाह्रो हुन्छ ।

एड्स भएर मर्ने धेरैजसो व्यक्तिहरूमा यिनै रोगहरूले नै जटिल रूप लिई ज्यान गएको पनि पाइन्छ ।

यो रोग लाग्नुको मुख्य कारण असुरक्षित यौन सम्पर्क नै हो?

हो । यसको मुख्य कारण भनेको असुरक्षित यौन सम्पर्क नै हो । अरु भनेको यस्ता रोगीहरुले लगाएको सिरिन्जहरु अर्को व्यक्तिले प्रयोग गर्दा, ट्याटु खोप्ने औजारहरु सफा नगरी अर्को व्यक्तिमा प्रयोग गर्दा पनि सर्ने गर्दछ ।

एचआईभी भएमा कस्ता लक्षणहरू देखा पर्दछन्?

शुरुवाती दिनहरुमा यसको कुनै पनि लक्षण देखिँदैन । संक्रमित भइसकेको व्यक्ति पनि सामान्य व्यक्तिजस्तै देखिन्छ । तर केही समयपछि लक्षणहरु देखा पर्न थाल्दछन् । खोकी लाग्ने, ज्वरो आउने, थकाइ लाग्ने, तौल कम हुने, अनुहारको छालामा, मुखमा, आँखामा वा नाकमा धब्बा देखिने गर्छ ।

शरीरमा जब भाइरले संक्रमण शुरु गर्छ, तब बिस्तारै स्मरण शक्ति कमजोर हुँदै जाने र शरीर दुख्ने समस्या यो रोगको मुख्य लक्षण हो । घाँटीमा खसखस हुने, ग्रन्थिहरु सुन्निने आदि लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । छालामा चिलाउने, फुस्रो हुने, मांसपेशी दुख्ने आदि लक्षणले पनि एचआईभी एड्सको संकेत गर्छ । घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउ आउनु पनि एचआईभी एड्सको संकेत हो ।

डाक्टरका अनुसार राति पसिना आउने, पेट बारम्बार बिग्रिने, पखाला लाग्ने आदि समस्या संक्रमित व्यक्तिमा देखिने लक्षण हो ।

यसबाट बच्न कस्तो सर्तकता अपनाउनु पर्दछ ?

यसबाट बच्न सर्तक रहनुपर्ने मुख्य कुरा भनेको एक भन्दा धेरै व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्नु भएन ।

के यो रोग पूर्ण रुपमा निको हुन्छ ?

यो रोग पूर्ण रुपमा भने निको हुँदैन । तर यो रोग लागेको बिरामीले सही समयमा उपचार शुरु गर्‍यो, नियमित रुपमा औषधीको सेवन गर्‍यो, निरन्तर चिकित्सकको परामर्शमा रहिरह्यो भने एक सामान्य मानिस सरह जीवनयापन गर्न सक्छ ।

कस्ता गतिविधिहरुले यो रोग सर्दैन र के कस्ता क्रियाकलाप मार्फत यो रोग सर्ने सम्भावना हुन्छ ?

सामान्यतया संक्रमितलाई अँगालो हाल्दा वा चुम्बन गर्दा, हात मिलाउँदा वा सँगै खेल्दा, संक्रमितले प्रयोग गरेको काँइयो तथा साबुन प्रयोग गर्दा, संक्रमितसँगै बसेर खाँदा, संक्रमितलाई टोकेको लामखुट्टेले टोक्दा, संक्रमितले प्रयोग गरेको रूमाल तथा अन्य कपडाहरू प्रयोग गर्दा, संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा, संक्रमितको हेरविचार गर्दा यो रोग सर्दैन ।

असुरक्षित यौनसम्पर्क राख्दा, रगत तथा रगतजन्य पदार्थ लिँदा, एउटै सिरिञ्ज जस्ता छाला छेड्ने औजारहरूको साझा प्रयोग गर्दा र संक्रमित आमाबाट सन्तान जन्मदा बच्चामा यो रोग प्रवेश गर्न सक्छ । त्यसकारण एचआईभी संक्रमण हुनबाट बच्नका लागि यी चारवटै माध्यमहरूलाई सुरक्षित राख्न सकेको खण्डमा संक्रमण हुनबाट पूर्ण रूपमा बच्न सकिन्छ ।

महिला र पुरुषको तुलनामा कसलाई यो रोग बढी मात्रामा देखिएको छ ?

अन्तर्राष्ट्रिय स्तरमा पुरुषको तुलनामा महिलाहरुमा यो रोग बढी व्याप्त छ भने हाम्रो देशमा पनि महिलाहरुमा यो रोग बढी देखा परेको छ ।  

यही रोग लागेकै कारण कस्ता जटिलताहरु निम्तन सक्छ ?

पहिलो कुरा त हाम्रो गाउँ समाजमा यस रोग सम्बन्धमा जनचेतना फैलाउन नितान्त आवश्यक छ । दोस्रो कुरा भनेको यो रोग सँगै बस्दैमा, सँगै खाँदैमा, हिँड्डुल गर्दैमा सर्ने रोग होइन । यदि एड्स भएको व्यक्तिले प्रयोग गरेको सिरिन्जहरु अर्को निरोगी व्यक्तिले प्रयोग गर्‍यो अथवा शारीरिक सम्बन्ध स्थापित भयो भने मात्रै सर्ने रोग हो । यसकारण यो रोग लागेका व्यक्तिहरुलाई साथ र हौसला दिएर उनीहरुको आयु लम्बाउन आवश्यक छ । हामीले अपहेलना गरेर उनीहरुको मनोबल गिराउनु हुँदैन । अहिलेका युवापस्ताहरु माझ यो रोग कसरी लाग्छ भन्ने विषयमा सचेतना दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?