काठमाडौँ– नेवारी संस्कृतिको प्रमुख पर्व मानिने घोडेजात्रा उपत्यकावासीले आज सोमवार मनाउँदै छन् । हरेक वर्ष चैत्रकृष्ण चतुर्दशीका दिन मनाइने घोडेजात्रा काठमाडौँ उपत्यकाबासी तथा खासगरी नेवार सम्प्रदायले विशेष महत्वका साथ मनाउने गर्दछन् ।
काठमाडौँ उपत्यकाबासीहरुका लागि विशेष दिन हो । नेपाली सेनाले पनि काठमाडौँको टुडिँखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसवर्ष पनि नेपाली सेनाले टुँडिखेलमा हरेक वर्षजस्तै घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रर्दशन गर्ने नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी कृष्ण प्रसाद भण्डारीले जोय नेपाललाई दिए ।
घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी गर्ने गरेको उनले बताए ।
भण्डारीका अनुसार उक्त प्रदर्शनको तयारी नेपाली सेनाले घोडेजात्राको केही दिन अगाडीदेखि नै गर्ने गरेका हुन्छन् ।
नेपाली सेनाका घोडसवारहरूले गर्ने प्रतिस्पर्धात्मक घोडदौड, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको अवलोकनका लागि राष्ट्र प्रमुख लगायत विभिन्न देशका राजदूत सहित सर्वसाधारणहरुको समेत उपस्थिति रहने गर्दछ ।
यसरी शुरु भएको मानिन्छ, घोडेजात्रा मनाउने प्रचलन
नेपालमा घोडे जात्रा मनाउने प्रचलन धेरै पुरानो हो । घोडेजात्रा कहिलेदेखि मनाउने शुरु भएको हो भन्ने एकिन तथ्यांक नभेटिए पनि यो परम्परा लिच्छवि कालदेखि नै शुरु भएको हुनसक्ने त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रिय विभागका सहप्राध्यापक डा.डोलराज काफ्लेले बताए ।
‘काठमाडौँ उपत्यकामा मात्रै नभइ देशभरी नै थुप्रै मेला जात्रा छन् । जो कुनै कुनै पौराणिक कथा वा धार्मिक विश्वाससँग जोडिएकै हुन्छन् । जसमध्ये घोडेजात्रा पनि एक हो’ काफ्लेले भने ।
काफ्लेका अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले उपत्यकाका किसानसँगै बालबालिकाहरुलाई समेत दुःख दिने गरेको छ । पछि स्थानीयबासीले विभिन्न उपाय लगाएर उक्त राक्षसको संहार गरे ।
तर, उसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई हानी नगरोस् भनेर घोडालाई मताएको घोडाको टापले कुल्चिने उपाय पत्ता लगाए । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किम्बदन्ती घोडेजात्रासँग जोडिएको छ ।
पछि मध्यकालमा आइपुग्दा राणा प्रधानमन्त्री जुद्ध शमशेरको शासनकालदेखि घोडाको टापले कुल्चिएर राक्षसको आत्मा दबाउने चलनअनुरुप नै अहिले टुडिँखेलमा घोडचडीसँगै अन्य सैनिक प्रदर्शनी राख्ने प्रचलन नै मुल घोडेजात्राको रुपमा स्थापित भएको काफ्लेको भनाइ छ । जुन जात्राले अहिले अन्तर्राष्ट्रिय महत्व पनि पाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पुर्व सदस्य एवम्ः संस्कृतिविद् दैवज्ञ कृतिमघन जोशीले पनि चैत्रकृष्णपक्षको अष्टमी तिथि देखि नै मनाइने अष्टमात्रिका गणको यात्राको अन्तिम दिनको रुपमा विशेषगरी नेवार समुदायले घोडेजात्रा मनाउने गरेको बताए ।
गुरुमापा राक्षसकै कथालाई वर्णण गर्दै जोशीले भने,‘ अष्टमात्रिका गणहरुको यात्रा नाचको मुख्य उद्देश्य भनेको नै देशमा कुनै असुर वा नराम्रो शक्तिको प्रभाव नपरोस् भन्ने हो । त्यसमध्ये घोडेजात्रा पनि प्रमुख हो ।’
उपत्यकामा फरक–फरक स्थानमा घोडेजात्रा
काठमाडौंको टुँडिखेलसहित ललितपुरको बालकुमारी पाटनमा आँखा नदेख्ने घोडा, भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर घोडेजात्रा मनाउने मनाइन्छ ।
बालकुमारी पाटनमा मनाइने घोडेजात्रा पनि बालकुमारी देवीको आज्ञाले राजा शिवसिंह देव (सिमसिम राजा) को पालादेखि आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने गरिएको संस्कृतिविद् जोशीले बताए ।
उनका अनुसार उक्त आँखा नदेख्ने भनिएको घोडा वास्तवमा आँखा नदेख्ने भने नहुने तर मताएर दौडाउदा जहाँ पायो त्यही भाग्ने भएकोले त्यसलाई आँखा नदेख्ने भनिएको हो ।
कान्तिपुर राज्य एउटै रहेको समयमा शुरु भएको घोडेजात्रा राजा यक्ष मल्लको शासनकालपछि टुक्रिएर आगोपानी नै बाराबार भएपछि पाटन र भक्तपुरमा पनि घोडेजात्रा मनाउन शुरु गरिएको सहप्राध्यापक डा. काफ्लेको भनाइ छ ।
पाटनको बालकुमारी क्षेत्रमा घोडेजात्राको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ ।
सैनिक उत्सवमा सीमित हुँदै घोडेजात्रा
पछिल्लो समय घोडेजात्राको सांस्कृतिक महत्वलाई बिर्सेर सेनाको तामझाम देखाउने ‘सैनिक उत्सव’ का रुपमा मनाउन थालिएकोमा पनि संस्कृतिविद्ले असन्तुष्टि जनाएका छन् । संस्कृतिविद जोशीले टुडिँखेलमा मनाइने किसिमको घोडेजात्राले पहिलेदेखि नै चलिआएको घोडेजात्राको मौलिक संस्कृतिमा प्रभाव पारेको बताए ।
उनले भने, ‘गुरुमापालाई कुल्चिने स्थान भनेर हामीले बुढापाकाहरुवाट सुन्दै आएको टुँडिखेलको दक्षिणपूर्वी भागसम्म घोडा नै पुग्दैन । यस्तै जुन हामीले राक्षसको आत्मालाई कुल्चिदा असुरी शक्तिले केही गर्न नसकोस भनेर घोडालाई गर्ने पूजा र कालो टिकाको प्रचलन समेत कम हुँदै गएको छ ।’
घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलनसँगै नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलनहरूमा कमी भने आउँदै गएको उनको भनाइ छ ।
संस्कृतिले धनी हाम्रो देशको मौलिक परम्परा र यस्ता चाडपर्व मेलाजात्राहरु जर्गेना गर्दै यसका बारेमा नयाँ पुस्तालाई पनि बुझाउनु आवश्यक रहेको उनले बताए । अझ विशेष गरी नेवार सभ्यता (नेपाल मण्डल) का संस्कृतिहरु विशेष र व्यापक भएकाले तिनको संरक्षणका लागि सरकार नै लाग्नुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया