मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानसिक स्वास्थ्य

‘अरुले के भन्लान् भनेर मनमै कुरा गुम्साएर राख्दा एन्जाइटी हुन सक्छ’

के एन्जाइटी हुँदैमा डिप्रेसन हुने भन्ने हुन्छ ?

बदलिँदो जीवनशैली र बढ्दो व्यस्तताका कारण मानिसहरूको आम जीवनशैली फेरिँदै गएको छ । यसले गर्दा आम मानिसमा शारीरिक र मानसिक समस्याहरू देखा पर्न थालेका छन् ।

पछिल्लो केही समययता नेपालमा पनि मानसिक समस्याका बिरामी बढिरहेको विभिन्न तथ्याङ्कले देखाउँछ । नेपालमा राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणले व्यक्तिमा मानसिक समस्या देखिने गरेको छ । अझ भविष्यप्रति बढ्ता चिन्ता गर्नेहरूमा यस्तो समस्या बढी देखिने चिकित्सकहरू बताउँछन् ।

मानसिक समस्यामध्ये एन्जाइटी र डिप्रेसनको समस्या भएका बिरामीको सङ्ख्या बढी भएको पाइन्छ । यस्ता अवस्थाबाट गुज्रिरहेका बिरामीलाई समाजले फरक व्यवहार गर्ने भएकाले कतिपय अवस्थामा उनीहरूलाई अझ बढी समस्या थोपरिने गरेको पनि पाइन्छ ।

वास्तवमा एन्जाइटी कस्तो समस्या हो ? यसको व्यवस्थापन र उपचार कसरी गर्ने ?  एन्जाइटी र डिप्रेसनमा के भिन्नता छ लगायतका विषयमा केन्द्रित रहेर पाटन अस्पतालमा कार्यरत मनोचिकित्सक डा. रवि शाक्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय कतिपयले एन्जाइटीको शिकार भएको भनिरहेको पाइन्छ, कस्तो अवस्थालाई एन्जाइटी भनेर बुझ्ने?

यो आफैंमा रोग होइन । एन्जाइटी भनेको एउटा चिन्ताको अवस्था हो । यो सामान्य नै हो । हरेक व्यक्तिमा कुनै न कुनै विषयमा तनाव र चिन्ता भइरहन्छ । तर, तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटी समेत गराउन सक्छ ।

एन्जाइटी हुँदा व्यक्तिमा अनायासै भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छन् ।

यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । यसका दुई पक्ष छन्, शारीरिक र मनोवैज्ञानिक । मनोवैज्ञानिक भनेको जस्तैः अगाडि सर्प देखियो भने उसले टोक्ला कि भन्ने डर/चिन्ता हुन्छ । सर्पले टोक्ला कि भन्ने डर, भय हुन्छ । अर्को, शारीरिक पक्ष भनेको सर्पले टोक्यो र अब म मर्छु कि भन्ने त्राश मनमा लिनु हो ।

एन्जाइटी हुने कारणहरु के हुन् त ?

एन्जाइटी लगायत सम्पूर्ण मनोरोगहरु ठ्याक्कै यही कारणले हुन्छ भन्ने छैन । तर मुख्यतया तीन जोखिम रहने गरेको पाइन्छ ।

पहिलो वंशाणुगत कारण जसमा तपाईँको परिवारका सदस्यहरुलाई छ भने तपाईँलाई पनि हुनसक्छ । अर्को भनेको व्यक्तिगत तथा हर्मोनल कारण जुन तपाईँको व्यक्तित्व र हुर्काइमा भर पर्छ ।

दिमागमा हाम्रो सोच, मुड लगायतका कुरालाई नियन्त्रण गर्ने केमिकलमा तलमाथि आउँदा एन्जाइटी हुन सक्छ । साथै सानो उमेरमा भोगेका ट्रमा, हिंसा, सामाजिक समस्याहरू, दुर्व्यसन र वंशाणुगत कारणले एन्जाइटी हुन्छ ।

त्यस्तै, अर्को भनेको वातावरणीय कारणले पनि हुन सक्छ । तपाईँ कस्तो वातावरणमा हुर्किनुभएको छ भन्नेमा पनि निर्भर रहन्छ ।

एन्जाइटी हुँदा कस्ता लक्षणहरु देखा पर्दछन् ?

हातमा चिट्चिट् पसिना आउने, तातो या चिसो महसूस हुने, मुख सुक्खा हुने, मुटु ढुकढुक हुने, वाकवाक लाग्ने, शरीर दुख्ने–पोल्ने, शारीरिक जाँच गर्दा रिपोर्टमा केही नदेखिने, मांसपेसीमा तनाव उत्पन्न हुने, पोल्ने–दुख्ने, श्वास भरिए जस्तो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, प्यानिक महसूस गर्ने, डराउने, असहज हुने, नराम्रो सपना देख्ने, एक मात्रै सोच आइरहने, केही नराम्रो हुँदैछ जस्तो हुने हुन्छ ।

साथै पुराना कुराहरुको सम्झना आइरहने पनि हुन्छ । शान्त र स्थिर भएर बस्न नसक्ने, छटपट हुने, हिँड्ने–बस्ने गरिरहने, हात–खुट्टा चलाइरहने, कुराहरू दोहोर्‍याउने, निन्द्रा नलाग्ने, लागि हाले पनि गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

एन्जाइटी व्यवस्थापन गर्न के गर्ने ? यस्तो अवस्थाको सुधार गर्न कस्तो उपचार पद्दति अपनाउनुपर्छ ?

पहिला त यो रोग हो कि सामान्य चिन्ता हो यस विषयमा प्रष्ट हुनुपर्दछ । सबैखाले चिन्ता हानिकारक हुँदैनन् । जस्तै परीक्षामा फेल हुन्छु कि भन्ने पीरले ढिलासम्म पढ्नु पनि हो । यो फाइदाजनक कुरा पनि हो । जुन चिन्ताले तपाईँलाई फाइदा नै गरिरहेको छ भने त्यो रोग होइन ।

तर, जतिबेला पनि सोचेको सोच्यै गर्ने, सोचाइ नियन्त्रण गर्न नसक्ने अवस्थामा नै व्यक्ति पुग्यो भने यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ । यसकारण पहिलो कुरा त रोग हो कि होइन भनेर पत्ता लगाउनुपर्छ । सकेसम्म आफैले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।

यदि नियन्त्रण हुने अवस्थामा छैन भने घरपरिवारको साथ र हौसला भरपुर आवश्यक हुन्छ । अर्को मुख्य कुरा भनेको अरुको कुरा सनेर यस्तो गर्ने उस्तो गर्ने भन्दा पनि सम्बन्धित चिकित्सकसँग गएर परामर्श र उपचार पद्धति फलो गर्न नितान्त आवश्यक छ ।

अन्यथा हामी अरुको कुरा सुन्न थाल्यौँ भने एउटाले एकखाले सुझाव दिन्छ भने अर्कोले अर्को प्रकृतिको कुरा बताउँछ । यसले झन् तपाईँको मानसिक समस्यालाई बढाउन सक्छ । यसकारण चिकित्सक बाहेक अरुको कुरामा ध्यान नदिनुहोस् ।

सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् ।

यसबाट हुने असर कम गर्न आफ्नो लागि समय निकाल्न आवश्यक छ । त्यसैले घुमफिर गर्ने योजना बनाउने, नयाँ नयाँ कुरामा चासो राख्ने, जसले दिमागलाई तनावतर्फ केन्द्रित हुन कम अग्रसर गर्छ । हरेक दिन कम्तिमा एक सकारात्मक गतिविधिमा ध्यान दिनु तनाव र एन्जाइटीबाट निकाल्न वा कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

यसलाई मनोरोग भन्न मिल्छ कि मिल्दैन, साथै एन्जाइटी भएपछि डिप्रेन पनि स्वत: हुन्छ भन्ने हाम्रो आम बुझाइ छ । यो कतिको सत्य हो ?

यसलाई मनोरोग नै त भन्न मिल्दैन । तर, यो मनोरोगको शुरुवाती चरण चाहिँ भन्न सकिन्छ । अनि अर्को कुरा एन्जाइटी र डिप्रेसन फरक कुरा हो ।

एन्जाइटी भनेको भविष्यमा केही होला की भन्ने कुरा कल्पेर लिइने अनावश्यक पीर हो । डिप्रेसन भनेको परिणाम अर्थात् भइसकेको कुरा हो । उदासीपनमा अड्किरहने रोग हो ।

एन्जाइटी र डिप्रेसनको फरक छुट्याउनुपर्दा एन्जाइटी भनेको म परीक्षामा फेल हुन्छु कि भन्ने विषयको पीर हो भने डिप्रेसनको अवस्था भनेको परीक्षामा फेल भइसके पश्चातको उदासीपन हो ।

अर्को, एन्जाइटी भएपछि डिप्रेसन पनि स्वत: हुन्छ भन्ने हाम्रो आम बुझाइ गलत छ । हो, एन्जाइटी र डिप्रेसन एक–अर्कामा अन्तरसम्बन्धित छन् । तर, एन्जाइटी  भएपछि डिप्रेसन नै हुन्छ भन्ने हैन ।

डिप्रेसन अर्थात् उदासीपनको समस्या भएकालाई एन्जाइटी (चिन्ता) हुनसक्छ । तर चिन्ता अर्थात् एन्जाइटी भएका मानिस छिट्टै सामान्य हुन सक्छन् ।

अहिलेको परिवेशमा महिला या पुरुष र कुन उमेर समूहलाई एन्जाइटीको समस्या बढ्दो छ ?

पुरुषहरुको तुलनामा महिलाहरु बढी मात्रामा यो रोगबाट पीडित छन् । उमेर समूहको हिसाबले हरेक उमेर समूह यो समस्याबाट पीडित छन् । अलिक पाको उमेरको व्यक्ति अथवा वयस्कलाई मात्र यो समस्या हुन्छ भन्ने छैन । बालबालिकामा समेत यो समस्या निम्तिन सक्छ ।

अन्त्यमा, आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

जसरी कम्प्युटरमा समस्या आउँदा सफ्टवेयर र हार्डवयरमा समस्या हुन्छ । सफ्टवयरमा समस्या आउँदा हामी त्यति ठूलो मान्दैनौं । खुसी नै हुन्छौं । विज्ञकहाँ लगेर देखाउँछौ र सल्लाह लिन्छौँ ।

हार्डवयरमै समस्या भएमात्रै कम्प्युटर बिग्रिने या नबन्ने सम्भावना हुन्छ । यसकारण मानसिक रोग पनि सफ्टवेयरकै जस्तै समस्या हो । यसलाई लुकाउन र अरुले के भन्लान् भनेर मनमा झन त्रास लिन आवश्यक छैन ।

सम्बन्धित चिकित्सकसँग गएर परामर्श लिएमा त्यही सफ्टवयर जस्तै बन्छ र सामान्य अवस्थामा नै हामी हाम्रो जीवनशैली बिताउन सक्छौँ । यसकारण आफ्नो समस्या नलुकाउनुहोस् । समयमै सही परामर्श र साथ पाएमा यसले अन्य समस्या निम्त्याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?