मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्ष समीक्षा

यी पाँच निर्देशक, जसले यो वर्ष सफल व्यावसायिक सिनेमा दिए

काठमाडौँ– यस वर्ष नेपाली सिनेमा उद्योगमा खासै ठूलो हलचल केही भएन । केही सिनेमाले राम्रो कमाइ गरे भने धेरै सिनेमा आफ्नो लगानी समेत उठाउन सकेनन् । सम्भावना देखाएका केही सिनेमाले दर्शकलाई हलसम्म डोर्‍याउन सकेनन् । यो वर्षको अन्तिमसम्म ५० भन्दा बढी सिनेमा प्रदर्शनमा आउँदैछन् ।

यो समाचार तयार पार्दासम्म प्रदर्शनमा आउन बाँकी दुई फिल्म ‘डिग्री माइला’ र ‘द रेड सुटेकस’ को अलिक बढी चर्चा छ । तर, यी दुई फिल्मको व्यापारिक आँकडा अर्को वर्ष मात्र थाहा हुने भएकाले यो वर्षको सिनेमा कस्तो रह्यो भनेर अहिले नै अनुमान गर्न सकिन्छ ।

यस वर्ष प्रदर्शनमा आएका ५३ वटा सिनेमामध्ये वर्षको शुरुमा प्रदर्शनमा आएको सिनेमा ‘जारी’ ले यस वर्षको सबैभन्दा बढी कमाइ गर्‍यो । यो सिनेमाको कमाइलाई यतिबेला प्रदर्शन भइरहेको सिनेमा ‘महाजात्रा’ ले जित्छ या जित्दैन भन्ने भने हेर्न बाँकी छ ।

आज हामीले यो वर्ष प्रदर्शनमा आएकामध्ये व्यापारिक हिसाबले सफल सिनेमा दिन सफल शीर्ष पाँच निर्देशकको बारेमा चर्चा गर्दैछौँ ।

उपेन्द्र सुब्बा (जारी)

कवि तथा साहित्यकार उपेन्द्र सुब्बाका लागि यो वर्ष विशेष रह्यो । उनले यो वर्ष निर्देशन गरेको सिनेमा ‘जारी’ ले बक्स अफिसमा धमाका मच्चायो । अर्कोतर्फ यो सिनेमाले समीक्षकबाट पनि तारिफ बटुल्यो भने दर्शकको पनि राम्रो साथ पायो ।

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको यो सिनेमामा लेखन समेत निर्देशक सुब्बाकै छ । उनी यो सिनेमाबाट वर्षभरि नै चर्चामा रहे । लिम्बु समुदायको संस्कृतिलाई कथानक बनाएर निर्माण गरिएको ‘जारी’ उपेन्द्र सुब्बा अब्बल निर्देशकका रुपमा दरिए ।

प्रदीप भट्टराई (महाजात्रा)

यस वर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको सिनेमा ‘महाजात्रा’ ले व्यापारिक सफलता हात पार्‍यो । समीक्षकले सिनेमा औसत भएको प्रतिक्रिया दिए पनि यो सिनेमाले दर्शकको राम्रो प्रतिक्रिया पायो ।

डार्क कमेडी जानराको यो सिनेमामा प्रयोग गरिएका संवादलाई दर्शकले अत्यधिक रुचाए ।

सिनेमामा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । उनले यसअघि निर्देशन गरेका अरु सिनेमा पनि व्यावसायिक रुपमा सफल बनाएका कारण ‘महाजात्रा’ बाट स्वभाविक रुपमा उनको चर्चा चुलियो । यो सिनेमाबाट उनले थप तारिफ बटुले ।

निश्चल बस्नेत (दिमाग खराब)

पछिल्लो केही वर्षयता सिनेमा निर्देशनमा भन्दा पनि अभिनयमा व्यस्त देखिएका निर्देशक निश्चल बस्नेतले दर्शकका लागि कोशेलीस्वरुप ‘दिमाग खराब’ ल्याए ।

नेपाली सिनेमाका ट्रेण्ड सेटर भनिने निश्चलले ‘लूट’ निर्देशन गरेपछि कमाएको तारिफलाई त्यसैको सिक्वेल ‘लूट २’ मा जोगाउन सकेका थिएनन् । त्यसपछि उनी लामो समय निर्देशनबाट पछाडि हटेर बल्ल यस वर्ष ‘दिमाग खराब’ ल्याएर आए ।

यो सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पायो भने उनको निर्देशकीय भूमिकाको पनि उत्तिकै तारिफ भयो । यो सिनेमापछि उनी अहिले अर्को होम प्रोडक्सनको सिनेमाको तयारीमा जुटिसकेका छन् ।

दीपेन्द्र लामा (नाङ्गो गाउँ)

निर्देशक तथा लेखक दीपेन्द्र लामाले निर्देशन गरेको सिनेमा ‘नाङ्गो गाउँ’ ले पनि यस वर्ष राम्रै व्यापार गर्‍यो । दीपेन्द्रका अनुसार यो सिनेमाले चार करोडभन्दा बढी व्यापार गरेको छ । राजनीतिक विषयमाथि निर्माण गरिएको यो सिनेमामा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमाबाट निर्देशक लामाले राम्रो चर्चा कमाए । साथै उनले यसको दोस्रो सिक्वेलको घोषणासमेत गरिसकेका छन् ।

नारायण रायमाझी (परदेशी २)

गायक प्रकाश सपूतलाई लिएर ‘परदेशी २’ निर्देशन गरेका निर्देशक तथा गायक नारायण रायमाझी यो सिनेमाका कारण चर्चामा रहे । सिनेमामा केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

यसअघि गोर्खा पल्टन र परदेशी सिनेमा निर्देशन गरेका रायमाझीले परदेशीकै कथालाई आफ्ना सिर्जनामार्फत देखाउँदै आएका छन् । नेपाली समाजमा व्याप्त विदेश जानुपर्ने बाध्यात्मक परिस्थितिलाई कथामा उतारिएको यो सिनेमाले दर्शकको सकारात्मक प्रतिक्रिया पायो ।

खास गरी विदेशी भूमिमा भासिनुपरेको कथालाई नै उठान गर्ने नारायण रायमाझीले निर्देशन गरेका सिनेमा व्यावसायिक रुपमा सफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?