काठमाडौँ– काठमाडौं विश्वविद्यालयमा नेपाली चलचित्रबारे परिचर्चा गरिएको छ ।
विश्वविद्यालयको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले दुई दिनसम्म गरिएको राष्ट्रिय संगोष्ठीमा नेपालमा चलचित्र निर्माण सम्बन्धी ३० भन्दा बढी चलचित्रकर्मी, प्राज्ञ तथा शोधार्थीको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा चलचित्रकर्मी दिपा बस्नेतले समाज र संस्कृतिको रूपान्तरणमा चलचित्रको ऐतिहासिक भूमिकाबारे प्रकाश पारिन् । वैदेशिक चलचित्र निमार्णको पृष्ठभूमिमा नेपाली चलचित्र निर्माणको अवस्थाको विश्लेषण गर्दै बस्नेतले थप अनुसन्धानमार्फत नेपाली चलचित्रको प्राज्ञिक इतिहास लेखिनुपर्नेमा जोड दिइन् ।
चलचित्र समीक्षक उर्जा आचार्यले दुई मुल धारका नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छक्का पन्जा ३’ को नारीवादी समालोचना प्रस्ताव गरिन् । आचार्यले नेपाली चलचित्रमा महिलाहरूको चरित्र निर्माण पुरुषको दृष्टिबाट गरिएको उनीहरूको भूमिका विकसित नभइ सहयोगीमात्र हुनेमा प्रकाश पारिन् ।
आचार्यको तर्क थियो, यस्तो चित्रणले सामाजिक स्टिरियोटाइपहरू मात्र प्रतिविम्बित गर्दैन, बरु यसले लैङ्गिक मानदण्डहरूलाई चुनौती दिने चलचित्रको सम्भावनालाई कमजोर बनाउँछ । आचार्यले नेपाली चलचित्रले परम्परागत कथाभन्दा बाहिर गएर महिलालगायत विभिन्न व्यक्ति र समूहको सशक्त र सूक्ष्म चित्रणलाई अंगाल्नु पर्ने आवश्यकतामा जोड दिइन् ।
मिडिया अध्ययनका अध्येता आकृति श्रेष्ठले हेर्ने कथाको ‘इन द जब अफ द टाइगर’ र यस थ्योरीको ‘हनी हन्टर’ नामक दुई वृत्तचित्रको तुलनात्मक विश्लेषण प्रस्तुत गरिन् ।
हेर्ने कथामा निर्देशकको सहभागितामूलक दृष्टिकोणले डकुमेन्ट्रीका विषयवस्तुसँग आत्मीयताको भावना सृजना गर्दा ‘हनी हन्टर’ मा लिइएको तुलनात्मक रूपमा दुरीको दृष्टिकोणले विषयवस्तु र दर्शकबीच आत्मीयताको सम्भावनालाई बाधा पुर्याउन गरेको बताइन् ।
नेपाल टुरिज्म बोर्ड, काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेसिटभल र फिल्म डाइरेक्टर्स गिल्ड अफ नेपालको सहआयोजना तथा सहकार्यमा आयोजित कार्यक्रममा प्राज्ञिक लेख प्रस्तुतिका साथै करिब आधा दर्जन लघु चलचित्रको प्रदर्शनी समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया