काठमाडौँ– हालै मात्र कवि तथा निबन्धकार मोमिला जोशीको निबन्ध कृति ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ एक समारोहबीच लोकार्पण भयो ।
उक्त कृतिलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । त्यस्तै अर्का कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’लाई नेपालय पब्लिकेसन्सले हालै सार्वजनिक गर्यो ।
पछिल्लो समयमा बजारमा पुस्तक प्रकाशनको लहर नै चलेको देखिन्छ । बजारमा संस्मरण, आख्यान, निबन्ध र फुटकर कविताका कृतिहरु प्रकाशित भइरहेका छन् । वर्ष २०८० लाई लेखक तथा प्रकाशकहरु पुस्तकका प्रकाशनका निम्ति उर्बर नै रहेको सुनाउँछन् ।
यो वर्ष विश्व कुइकेलको ‘गोपीचा’, विष्णु सापकोटाको ‘अडिएका पाइला’, रमेश सायमको ‘अन्तर’, भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, सागर खड्काको ‘राईपाली भन्ज्याङ’, कृष्ण कुसुमको ‘पार्श्व धुन’ जस्ता आख्यानात्मक पुस्तकहरु प्रकाशनमा आए ।
बेला पब्लिकेसनले प्रकाशन गरेको ‘२०२८ झापा विद्रोहको अन्तर्कथा’, पत्रकार तथा लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ जस्ता इतिहासमा आधारित पुस्तकहरु प्रकाशित भए भने खगेन्द्र लामिछानेको ‘पानीफोटो’ जस्ता पुस्तक पनि बजारमा आए ।
अर्थ तथा राजनीतिसँग सम्बन्धित पुस्तकहरु पनि बजारमा नदेखिएका होइनन् । तर, उम्दा खालका पुस्तक थोरै मात्र प्रकाशित भएको पाठक तथा सिर्जना समालोचकहरुको गुनासा सुनिन्छन् ।
प्रकाशक तथा पुस्तक वितरकहरु समेत बजारमा आख्यान विधाका कृतिहरु बढी लेखिँदै गरेको स्वीकार्छन् । बजारमा चिनिएका लेखकहरु समेत आख्यानमै बढी छन् । नयनराज पाण्डे, उषा शेरचन, बुद्धिसागर, सुविन भट्टराईका लेखकहरु समेत आख्यानतिर नै छन् ।
यद्यपि गम्भीर खालका पाठकलाई चाहिने पुस्तक नै लेखिन र छापिन छोडेको पाठकको गुनासा सुनिन्छन् ।
अधिकांश लेखक तथा प्रकाशकहरु बजारमा बिक्ने खालका पुस्तक लेख्न र छाप्ने दौडमा लागेको आरोप पाठकहरु मार्फत् आरोप आउने गरेको छ ।
कतिपय पुस्तकहरु लेखक हुने होडबाजीमै लेखिएको जस्तो हुने काठमाण्डौँको प्रदशनीमार्ग स्थित एक पुस्तक पसल अगाडि भेटिएकी बर्दियाकी गरिमा खनालले सुनाइन् ।
उनी पुस्तक पढ्न निकै रुचाउँछिन् । उनका अनुसार पछिल्लो समय लेखक हुने ट्रेण्ड नै चलेको छ ।
इतिहास बुझ्ने खालका पुस्तकहरु कमै भएको उनले बताइन् । इतिहास, राजनीति तथा नियात्रामा आधारित पुस्तकहरु बजारमा पाउन गाह्रो हुने काठमाडौं, घट्टेकुलोमा बस्दै आएका नरेश मगरले सुनाए ।
‘देशको राजनीतिक तथा सामाजिक परिवेश पनि फेरिँदै गएकोले होला पुराना इतिहास समेटिएका पुस्तक मलाई साह्रै मन पर्छन्’ उनले भने, ‘अरु पुस्तक पनि नपढ्ने भन्ने त होइन तर यस्ता किताबहरु पढ्दा छुट्टै आनन्द नै मिल्छ । तर खासै राम्रा पाइँदैनन् ।’
उनका अनुसार नेपालभित्रकै इतिहासका कुराहरुका लागि पनि विदेशी लेखकहरुको भर पर्नुपरेको अवस्था छ । इतिहास, नियात्राजस्ता कुराहरु समावेश भएका पुस्तकहरु त्यति धेरै नआएको उनको भनाइ छ ।
‘विवेककुमार शाहको मैले देखेको दरबार, कृष्ण अविरलको उपन्यास रक्तकुण्ड जस्ता पुस्तक धेरै राम्रा छन् । तर यस्ता पुस्तकहरु अलि कमै आएका छन्,’ उनले भने ।
केही समय यता आख्यानमा भन्दा पनि अलि गम्भीर खालका पुस्तकहरुको माग अलि बढेको दोबिल्ला बुक्स प्रालि, बागबजारका सञ्चालक शैलज पौडेलले बताए ।
‘इतिहाससँग सम्बन्धीत झापा बिद्रोहको अन्र्तकथा, मुकाम रणमैदान जस्ता पुस्तकहरु धेरै गैरहेका छन्,’ जोय नेपालसँगको कुराकानीमा उनले भने ।
वि.स. २०६३ सालको राजनीतिक परिवर्तनपछि नेपालमा निजी प्रकाशन गृह खुल्ने क्रमले तीव्रता पायो ।
यस समयमा मकालु, फाइनप्रिन्ट, सांग्रिला, बुकहिल जस्ता प्रकाशन गृहहरु सञ्चालनमा आए ।
पछिल्लो दुई दशकभित्र खुलेका धेरैजस्ता पुस्तक प्रकाशनले साहित्यिक पुस्तकहरु मात्रै धेरै प्रकाशन गर्ने गरेको आरोप खेपिरहँदा लेखकहरुले नै यसतर्फ ध्यान दिन नसकेको बुकहिल पब्लिकेशन प्रालिका सञ्चालक भुपेन्द्र खड्काको तर्क छ ।
गैरआख्यान पुस्तकहरुप्रति लेखककै पनि आकर्षण कम भएको उनले बताए ।
‘गैरआख्यान पुस्तक अहिलेका पाठकहरुको रोजाइमा परेका छन् तर हाम्रा लेखकहरुको लेखाइ नै कमजोर छ, भाषाको पनि सीमितता छ, के का लागि लेख्ने, कसका लागि लेख्ने भन्ने भावनाको विकास लेखकहरुमा छैन्,’ उनले भने ।
हामीसँग विदेशी मुलुककाजस्ता लेखकहरु नभएको उनको ठम्याइँ छ । इतिहास, संस्कृतिका विषयमा लेख्ने लेखक र पुस्तकको अभाव रहेको उनले स्वीकार गरे ।
उनले भने, ‘नेपाली लेखन संस्कृतिमा भावुकता र स्वरकल्पनामै अल्झिरहेको छ । तर उत्कृष्ट गैरआख्यान यी सबै कुराको मतलब हुँदैन । व्यापक अध्ययन चाहिन्छ र समय पनि धेरै दिन सक्नुपर्छ ।’
केही समय पहिलेसम्म पाठकको रुचि आख्यानमा भए पनि अहिलेका मानिसहरुले ऐतिहासिक र सामाजिक विधाका पुस्तकमा समेत बढी रुची देखाउन थालेको उनलाई लाग्छ ।
पाठक यो विधामा धेरै र यसमा कम भन्ने नहुने बेला पब्लिकेसनकी अध्यक्ष बन्दना ढकालले सुनाइन् ।
उनले भनिन्, ‘पाठक सधै एकै खालका हुन्छन् भन्ने पनि हुँदैन् हामीले यो वर्ष सबै गैरआख्यानका ५/६ वटा पुस्तक प्रकाशन गर्यौँ, सबै राम्रै गए ।’
पाठकले के रुचाउँछन् भन्नेमा नभइ, पाठकलाई के दिन सकिन्छ भन्ने पक्षमा सोच्नुपर्ने उनको भनाइ छ । अहिले बजारमा उपलब्ध नहुने तर कहिल्यै पुराना नहुने कृतिहरू प्रकाशन गर्नमा प्रकाशनले जोड दिएको उनले बताइन् ।
अनुसन्धानमूलक तथा गम्भीर खालका पुस्तक पढ्ने पाठकहरुको सङ्ख्या बढिरहेको भएपनि यस्ता पुस्तकहरु विभिन्न समस्याका कारणले कमै आउने गरेको पत्रकार तथा लेखक मोहन मैनालीले सुनाए ।
उनले भने, ‘पछिल्लो समय पढ्ने संस्कृतिको विकास भइरहेकोले साहित्यिकसँगै अनुसन्धानमूलक, पुस्तक पढने पाठकको सख्या पनि बढिरहेका छन । तर यस्ता पुस्तकहरु लेख्दा साहित्यक पुस्तकको तुलनामा धेरै अनुसन्धान, समयसँगै खर्च पनि धेरै लाग्ने गर्दछ । त्यसकारण पनि आख्यान भन्दा गैर आख्यान पुस्तकहरु धेरै देखिएका हुन सक्छन् ।’
विदेशतिर अनुसन्धानात्मक पुस्तकहरु लेख्नका लागि विभिन्न विश्वविद्यालय तथा सरकारले सहयोग गर्ने भएपनि नेपालमा भने त्यस्तो हुन नसकेकोले कमी देखिएको उनको अनुमान छ ।
उनका अनुसार ‘मुकाम रणमैदान’, ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ जस्ता इतिहास तथा खोजमा आधारित पुस्तकहरु लेखेका मैनाली विशेष रुची भएका व्यक्तिहरुले गैरआख्यान पुस्तकहरु खोजेर नै पढ्ने गरेका छन् ।
त्यसकारण सही सूचनामा आधारित भएर लेखकले पुस्तकको गुणस्तरीयता कायम गर्नुपर्ने उनको राय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया