जुम्ला – सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो ।
रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर नेत्रज्योति संघको प्राङ्गणमा सञ्चालन भएको संघका सचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।
आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए ।
उनका अनुसार आँखाको जाँच गरिएकामध्ये एक सय २७ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा डा. कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा जाँच तथा शल्यक्रिया गरेको सचिव हमालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया