रुकुमपश्चिम – कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।
जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिए । उनका अनुसार प्रत्येक कृषकलाई एक-एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो ।
साथै टोपी, कुइँगेट र पञ्जा ७०-७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ ।
आठबिसकोट नगरपालिका–११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया