मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गर्मी मौसममा घामको एलर्जी हुनबाट कसरी जोगिने ?

जाडो महिना सकिएसँगै अहिले गर्मीको सिजन शुरु भइसकेको छ । केही समययता काठमाडौँ लगायत देशभर नै गर्मी बढेको महसूस भइरहेको छ ।

यो मौसममा चर्को घाम लाग्ने, धुवाँ धुलो हुने, चर्को हावा चल्ने गर्दछ । चिसो मौसममा हातखुट्टा फुट्ने, सुन्निने समस्या भएजस्तै गर्मी मौसममा घामको एलर्जी हुने समस्या हुने गर्दछ । जाडो मौसममा जसरी चिसोको प्रभाव परेर हातखुट्टा फुट्ने, चिलाउने र सुन्निने हुन्छ । त्यस्तै गर्मीयाममा पनि घामको असर छालाले सहन नसक्दा र गर्मी वातावरणमा घुलमिल हुन नसक्दा घामको एलर्जी हुने गर्छ ।

गर्मीमा धेरै समय घाममा बिताउँदा मानिसलाई एलर्जी हुनसक्छ । घामको एलर्जी भनेको सनबर्न (घामले डढ्नु) पनि हो । लामो समयसम्म सूर्यको किरणको हाम्रो छालाको सम्पर्कमा रहँदा मानिसलाई सनबर्नको समस्या निम्तिन सक्छ ।

सनबर्नको समस्या भएमा यसलाई मेडिकल उपचारबाट निको पार्न सकिन्छ । यही सन्दर्भमा सिभिल अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

घामको एलर्जी हुनु भनेको कस्तो समस्या हो ?

घामको विकिरणको प्रभावले हुने फोटो एलर्जी नै घामको एलर्जी हो । बिहान दश बजेदेखि चार बजेसम्मको घाममा युडिपी भन्ने खराब (रे) हरु हुन्छन् । लामो समयसम्म यी रेहरुको सम्पर्कमा बसियो भने डाबर आउने, एलर्जी हुने, चिलाउने, पोल्ने, पानीफोका निकाल्ने आदि हुन्छ ।

यसका लक्षण कस्ता हुन्छन्?

छालाका पाप्रोहरु उक्किने, घाउ हुने, रगत बग्ने, छालामा टाटाहरु आउने, घाँटीमा, छातीको माथिल्लो भागमा र पाखुराहरुमा खटिरा आउने हुन्छ ।

कस्ता व्यक्तिहरुलाई यसको खतरा बढी हुन्छ ?

मुख्यतया आउटडोर क्रियाकलापहरु धेरै गर्ने, छाला एकदमै संवेनशील भएका व्यक्तिहरुमा र छालाको बाथ रोग भएका मानिसहरुमा यस्तो समस्या बढी मात्रामा देखिन्छ ।

कुन उमेर समूहका मानिसहरुमा यस्तो समस्या हुन्छ ?

हाम्रो उपचार अनुभवमा बालबालिकामा भन्दा वयस्क र वृद्ववृद्घाहरु घामको एलर्जीबाट असर भएको पाइन्छ । घाममा काम गर्न बाहिर निस्कने मानिसहरुमा पनि यस्तो समस्या हुन्छ ।

यसले शरीरमा कस्तो असर देखाउँछ ?

घामको एलर्जीलाई पनि धेरैले ‘रिङ दाग’ भनेर यसकै औषधी लगाइरहेका हुन्छन् । छालामा फोकाहरु आउने दाद आउने जस्ता समस्याहरु हुन्छन् ।

सन पोइजनिङबाट बच्न कस्तो उपाय अपनाउन सकिन्छ ?

घरबाहिर निस्कँदा बडी लोसन, सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । जसकारण घामले छालालाई डढ्ने समस्याबाट जोगाउन सक्छ । अनुहारको छालाको सुरक्षाका लागि सनग्लास र मास्क प्रयोग गर्नुपर्छ ।

सकेसम्म घरबाट बाहिर निस्कँदा छाता प्रयोग गर्दा छाला डढ्नबाट जोगिन्छ । हामीले सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । हामी घरबाट निस्कने बेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ ।

हामीले दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छाला जोगिन्छ । र सकेसम्म आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर मात्रै सनस्किन क्रिम र लोसन प्रयोग गर्दा राम्रो हुन्छ ।

शरीर नुहाएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । राति सुत्ने बेला अनिवार्य मस्चराइजर क्रिम लगाउनुपर्छ  र पूरा बाउला भएको कपडा लगाउँदा राम्रो हुन्छ ।

छालाको राम्रो स्याहार र समयमा औषधी उपचार गरिएन भने कस्तो जटिलता निम्तिन सक्छ ?

छालाको एलर्जी भएका धेरै मानिसहरुहरुले रिङ दाग आएको भनेर लामो समयसम्म यसैको औषधी लगाइरहँदा त्यसमा कालो दाग बस्ने, घाउहरु बढ्ने, सम्भावना बढी देखिन्छ । फङ्गस भन्ने एन्टिफङ्गल्स भन्ने बजारबाट किनेर लगाउँदा यसले झन सुख्खा बनाउने, चिलाउने, पोल्ने जस्ता समस्या देखिएको पाइन्छ । अर्को भनेको पानीको फोका जस्तै आउने हुन्छ । त्यसमा कालो दाग र खत बस्ने हुन्छ ।

गर्मी महिना शुरु भएसँगै आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

गर्मी मौसममा सुतीका शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्दछ । सनस्क्रिनको प्रयोग गर्ने, छालामा चिलाउने, पोल्ने खटिराहरु आयो भने चिकित्सकीय परामर्श लिएर मात्रै औषधी मलमहरुको प्रयोग गर्नुपर्दछ । चर्को घाममा धेरै हिँड्दा छाला सुक्खा हुने, डढ्ने, फुस्रो हुने, रातो हुने घामको सबैभन्दा नराम्रो प्रभाव हो ।

यसबेला चिल्लो छाला पनि सुख्खा हुन्छ र यस्ता छाला त झनै सुख्खा हुन्छ । घाममा पाइने अल्ट्रा भायोलेट ‘ए’ र ‘बी’ले गर्दा छालामा असर गरिरहेको हुन्छ । घाममा हुने अल्ट्राभायोलेट ‘बी’ले अल्पकालीन रुपमा सुक्खा हुने, डढ्ने, फुस्रो हुने, रातो हुने, चिलाउने र एलर्जी हुने गर्दछ भने दीर्घकालीन रुपमा छालामा पोतो आउने, डन्डिफोर आउने जस्ता समस्या देखिन्छ ।

जसले गर्दा हाम्रो छाला नराम्रोसँग प्रभावित हुने गर्दछ । अझ अनुहारको छाला झन घामका कारण अत्यधिक प्रभावित हुने गर्दछ । यसकारण छालाको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?