मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कोल्ड ड्रिङ्क्सको सेवनले हामीले कसरी रोगलाई निम्तो दिइरहेका हुन्छौँ ?

गर्मीयाम शुरु भइसकेको छ । बाहिर कतै निस्किँदा चर्को घाम लाग्ने हुँदा जाडो महिनाको तुलनामा हामीलाई बढी तिर्खा लाग्ने गर्छ । यसकारण हामी पानी सँगसँगै चिसो पेय पदार्थहरु पनि अत्यधिक रुपमा पिउने गर्दछौँ ।

तर यसरी बजारमा राखिएका पेय पदार्थहरुको सेवन गर्दा हाम्रो स्वास्थ्यमा समस्या तथा विभिन्न रोगहरु देखा पर्ने पोषणविद्हरु बताउँछन् ।

वास्तवमै हामी कोक, फ्यान्टा जस्ता धेरै प्रकारका केमिकलहरु मिसाएर तयार बनाइएका त्यस्ता पेय पदार्थ दिनहुँजसो पिउने गर्दछौं । अझ यतिसम्म कि, गर्मी मौसममा त यदि पानीको प्यास लागेको छ भने पनि हामी अन्य पेय पदार्थ खाएर प्यास मेटाउने गर्छौं । जुन स्वास्थ्यका हिसाबले लाभदायक नभएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।

यसकारण हामीले बजारमा बिक्रीका लागि राखिने कोल्ड ड्रिङ्क्सको सट्टा फलफूलहरुको जुस, लस्सी जस्ता पेय पदार्थ घरमै बनाएर खान चिकित्सकहरु सुझाव दिन्छन् ।

यही सन्दर्भमा कोल्ड डिङ्क्सको सेवन स्वास्थ्यका लागि कति उपयुक्त हुन्छ भन्ने प्रश्नहरुमा पोषणविद् डा. अरुणा उप्रेतीसँग सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

बजारमा बिक्रीका लागि राखिने कोल्ड ड्रिङ्कहरु मानव स्वास्थ्यका लागि कत्तिको हानिकारक हुन्छन् ?

बजारमा विक्रीका लागि राखिएका कोल्ड ड्रिङ्क्सहरुमा चिनीको मात्रा धेरै हुन्छ । सामान्य अवस्थामा एक वयस्क व्यक्तिले दिनमा चारदेखि पाँच चम्चा र बालबालिकाले दुईदेखि तीन चम्चा चिनी खाँदा हुन्छ । तर, हामीले सेवन गर्ने सामान्य ३ सय ५० मिलिलिटरको कोकको एक बोतलमा दश चम्चा चिनीको मात्रा हुन्छ ।

यसकारण यस्ता पेय पदार्थहरुको सेवन निकै हानिकारक छ । अध्ययनहरुले के देखाएको छ भने, यस्ता पेय पदार्थहरुको सेवनले मानव हड्डीमा पनि समस्या देखाउँछ । यसमा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा मोटोपन बढ्न सक्छ । मोटोपन बढेपछि चिनी रोग (मधुमेह) हुन सक्छ । अझ चिनीको मात्रा कम भएका सुगर फ्री कोकहरु समेत स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

यस्ता पेय पदार्थमा कस्ता रसायनहरुको मिसावट गरिएको हुन्छ ?

कोल्ड ड्रिङ्क्समा मिश्रण गरिएको चिनीको मात्रा अत्यधिक हुन्छ । कोकाकोला जस्ता कोल्ड ड्रिङ्क्समा त्यस्ता तत्वहरु प्रयोग गरिएको हुन्छ । जो स्वास्थ्यका लागि फाइदाजनक छैन । कोकाकोला, फान्टा, स्प्राइट लगायतका पेय पदार्थलाई गाढा खैरो रङ्गको बनाउन मिथाइलिमिडाजोल नामक रसायन प्रयोग गरिन्छ ।

यो रसायनमा क्यान्सरको कारक तत्व हुने अमेरिकन हार्ट एसोसिएसनको एक रिपोर्टमा उल्लेख गरिएको छ । कोल्ड ड्रिङ्क्समा अत्यधिक मात्रामा सोडा, कार्बोनेट वाटार, क्याफिन जस्ता तत्व मिश्रण गरिएको हुन्छ ।

चिकित्सकका अनुसार यी तत्वहरुले मधुमेह, हाडजोर्नी दुख्ने, उच्च रक्तचाप, मोटोपन, अनिद्रा जस्ता समस्या देखिन्छ ।

यस्ता पेय पदार्थहरुको विकल्पमा हामीले के उपाय अपनाउन सक्छौं ?

यस्ता पेय पदार्थहरुको विकल्पमा हामीले मोही, लस्सी, दही, कागती पानी, पानी, फलफूलहरुको जुसको सेवन गरेर सम्भावित रोगहरुबाट बच्न सकिन्छ ।

प्रायजसो हामी गर्मी महिनामा फ्रिजमा राखिएको पानी र कोल्ड ड्रिङ्क्सको सेवन बढी गर्छौं, यो कतिको स्वस्थकर बानी हो ?

फ्रिजबाट झिक्नसाथ पानी, अथवा चिसो पिय पदार्थ तत्काल सेवन गर्नु हुँदैन । आधा घन्टा बाहिर राखेपछि मात्रै सेवन गर्नुपर्दछ । जब तपाई चिसो पेय पदार्थ पिउनु हुन्छ, तपाईको रगतको नशाहरु खुम्चिन्छ, तपाईको पाचन प्रक्रियामा पनि रोकावट आउँछ र तिर्खामा समेत बाधा पुग्न सक्छ ।

चिसो पेय पदार्थ सेवन गरेलगत्तै यदि तपाई केही खानेकुरा खानुहुन्छ भने शरीरमा भएको पानीको तापक्रमले खानामा भएको चिल्लोपनालाई ठोसमा परिणत गरिदिन्छ र शरीरले उक्त चिल्लो तथा बोसोलाई सहजै पचाउन सक्दैन । यसले पाचन प्रक्रियामा ठूलो असर पार्छ ।

कतिपयले त पानीको प्यास लाग्दा समेत पेय पदार्थ पिउने गर्छन्, यसो गर्नु कतिको उपयुक्त हो ?

यो बिल्कुल सही होइन । चिसो पेय पदार्थहरुले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भएका कारणले यसको सेवन नगरेकै राम्रो हुन्छ । पानीको विकल्प पानी नै भन्दा अरु केही हुँदैन ।  तिर्खा लागेको समयमा यस्ता पेय पदार्थहरु पिउँदा यसले प्यास पनि मेट्दैन । यसमा भएको गुलियो पदार्थहरुले झन स्वास्थ्यमा असर पुर्‍याउँछ । यसकारण सकभर यसको सेवन बन्द नै गर्नु उचित हुन्छ ।

धेरै कोक, फ्यान्टा जस्ता पेय पदार्थ पिउने मानिसमा कस्तो असर र जटिलता निम्तिन सक्छन् ?

यस्ता पेय पदार्थहरुको धेरै मात्रामा सेवन गर्दा मुख्य कुरा मोटोपनको सम्भावना अधिक हुन्छ । मोटोपना भनेको सबैलाई थाहा नै भएको विषय हो । यो रोगहरुको उद्गम विन्दु हो ।

मोटोपना भएपछि मधुमेह, मुटुको रोग, अनिन्द्रा, उच्च रक्तचाप जस्ता रोगहरु निम्तन सक्छन् । चिसो पेय पदार्थमा पाइने फस्फोरिक एसिड र क्याफिनका कारण हाम्रो शरीरमा क्याल्सियम, म्याग्नेसियम र जिङ्कजस्ता आवश्यक खनिजहरूको कमी हुन्छ । जसका कारण हाम्रो हड्डी र मांसपेशी कमजोर हुन्छ ।

यी सबैका कारण हाम्रो शरीरमा आवश्यक मिनरल्सको कमीले गर्दा हाम्रो शरीरमा कोल्ड ड्रिङ्कको करीब १ घण्टापछि थकान महसूस हुन थाल्दछ ।

अन्त्यमा, आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

गर्मी महिना भित्रिएसँगै आम मानिसहरुले यस्ता चिसो पेय पर्दाथहरुको सेवन पानीको मात्रा भन्दा धेरै मात्रामा गरेको पाइन्छ । यस्ता पेय पदार्थहरुको सेवन गर्नु भनेको धेरै गुलियोपना शरीरमा प्रवेश गराउनु हो ।

गुलियोपना शरीरमा प्रवेश  गराउनु भनेको मोटोपना सिर्जना गराउनु हो । र मोटोपना भनेको धेरै रोगहरुलाई निम्तो दिनु हो । यसकारण यस्ता पेय पदार्थहरुक सेवन नगर्नु नै स्वस्थकर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?