मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘सधैँ थकित महसूस हुनु जटिल रोगको लक्षण पनि हुन सक्छ’

हामीले शारीरिक रूपमा बल प्रयोग गरेर धेरै काम गरेपछि थकान लाग्नु सामान्य हो । व्यस्त जीवनशैलीका कारण बिहानदेखि रातिसम्म काम गर्नुपर्ने कारणले गर्दा आम मानिसमा थकान महसूस हुने, शरीर आलस्य हुने समस्या बढ्दै गएको पाइन्छ ।

कतिपय अवस्थामा थकान लाग्नुलाई हाम्रो दैनिकीसँग जोडेर थकित भएको ठानेर यसलाई सामान्य रूपमा लिएको पनि पाइन्छ । तर, पछिल्लो समय धेरै व्यक्तिलाई विना कारण थकान लाग्ने गरेको पनि विभिन्न रिपोर्टहरूमा देखिएको छ ।

मानव शरीरमा थकान र आलस्यता शारीरिक र मानसिक अभ्यासका कारणले मात्र नभएर कुनै रोगको लक्षण समेत हुने चिकित्सकहरूले बताएका छन् । के थकान पनि कुनै रोगको लक्षण हो भन्ने विषय वरिपरि रहेर वरिष्ठ फिजिसियन तथा छाति रोग विशेषज्ञ डा. राम नारायण साहसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश: 

अहिलेको मौसममा कस्ता बिरामीहरु उपचारको लागि आइरहनुभएको छ ?

अहिले भाइरल फिभरको समय चलिरहेको छ । यस कारण मौसमी बिरामीसँगै, रुघाखोकी, ज्यान दुख्ने, थकाइ लाग्ने समस्या भएका बिरामीहरु धेरै सङ्ख्यामा उपचारका लागि बढी मात्रामा आइहनुभएको हुन्छ ।

कहिलेकाहीँ कुनै काम नै नगरी पनि हामीले धेरै थकान भएको महसूस गरेका हुन्छौँ, के यो सामान्य हो?

कसैलाई सुगरको मात्रा, कसैलाई कोलेस्ट्रोलको या थाइराइडको मात्रा बढेको छ भने पनि थकानको समस्या हन्छ । अर्को कुरा भनेको घरायसी या अन्य कारणले तनाव धेरै लिँदा पनि थकान लाग्ने हुन्छ । धेरै अल्छीपना हुने, एकैठाउँ बसिरहन मनलाग्ने, शरीरमा आलस्यता उत्पन्न हुन्छ भने मनोरोग भएको पनि हुनसक्छ । यसकारण यस्ता समस्या भएका बिरामीहरुको ‘हिस्ट्रीֹ’ बुझ्न जरुरी हुन्छ ।

पर्याप्त निद्रा र धेरै शारीरिक काम नगर्दा पनि सधैं थकान महसूस गर्नुहुन्छ भने, यो धेरै रोगहरुका कारण हुन सक्छ । त्यसकारण सावधान हुनुपर्छ । हप्तामा एक वा दुई पटक थकान महसूस हुनु सामान्य कुरा हो तर यो समस्या निरन्तर रह्यो भने धेरै रोगको लक्षण हुनसक्छ ।

धेरै थकान लाग्नुले कस्ता रोगहरुको संकेत गर्छन् ?

धेरै थकान लाग्नु सामान्य मात्रै नभएर गम्भीर रोगको लक्षणसमेत हुनसक्छ । क्यान्सर, मल्टिपल स्क्लेरोसिस (मस्तिष्क र मेरुदण्डको नसा प्रणालीमा हुने समस्या), डिप्रेसन र अन्य विभिन्न रोगका कारण थकान हुन्छ । आइरनको कमी, शरीरमा अक्सिजन, शरीरमा पानी, भिटामिन ‘डी’, क्याल्सियमको कमी हुन सक्छ । मधुमेह, हाइपोथाइराइड रोग लाग्दा पनि यस्तो समस्या निम्तन सक्छ । यसकारण यस्ता लक्षण देखापरेमा चिकित्सकसँग परामर्श लिन आवश्यक छ ।

यस्ता समस्याबाट कसरी बच्ने त?

सुरुमा त बिरामी अन्य कुनै रोगहरुबाट ग्रसित छ कि छैन भन्ने कुरा पत्ता लगाउनुपर्छ । ब्लड टेष्ट परीक्षण गर्नुपर्छ । र घरायसी समस्या छ कि छैन भन्ने कुरा पनि मुख्य हुन्छ । मेरो उपचार अनुभवमा धेरै जसो व्यापारी पनि आउनुहुन्छ ।

जो डिप्रेसनको शिकार भएका छन्, त्यस्ता व्यक्तिहरुलाई काम गर्न मन नलाग्ने, एकोहोरो भइरहने, सास फेर्न गाह्रो हुने, विना काम थकाइ लाग्ने जस्ता समस्याहरु देखा पर्दछन् ।

यसो हुँदा यस्ता बिरामीहरुलाई परिवारको साथै चिकित्सकको साथ, सल्लाह चाहिने हुन्छ । मुख्य कुरा भनेको रोग पत्ता लगाएर त्यसको उचित उपचार गर्नुपर्दछ ।

लामो समय सुत्नुभन्दा राम्रोसँग निदाउनु महत्वपूर्ण छ । छोटै भए पनि गहिरो निद्राले ताजा महसूस गराउँछ । जब हामी सुत्छौं, तब मस्तिष्कले अनावश्यक काम रोक्छ । अनुसन्धानले हरेक दिन एकै समयमा सुत्नु लाभदायक हुने देखाएको छ ।

यस्तै सन्तुलित आहार, पोषणयुक्त खाना, दैनिक निश्चित समयमै सुत्ने, पर्याप्त गहिरो निद्रा, दैनिक शारीरिक व्यायाम गर्ने, तनाव नलिने, पर्याप्त मात्रामा पानी पिउने र कुनै रोगको लक्षण भएमा सम्बन्धित चिकित्सकलाई भेटेर बेलैमा उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?