काठमाडौँ– पछिल्लो समय शिक्षा क्षेत्रमा भौतिक विकास उन्नत देखिए पनि विश्वविद्यालयमा भने विद्यार्थीको चाप घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
देशकै सबैभन्दा ठूलो विद्यार्थी सङ्ख्या ओगटेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा समेत विद्यार्थीको चाप ह्वात्तै घटेको छ ।
नेपालमा अहिले १७ ओटा विश्वविद्यालय र देशभर उच्च शिक्षा दिनकै लागि भनेर हजारौँ कलेजहरु सञ्चालनमा रहेको सरकारी तथ्याङ्क छ । यी शिक्षण संस्थाहरुमा अध्ययन गर्ने वातावरण र पछिल्लो पुस्ताले चाहे जस्तो शैक्षिक उन्नति गर्न नसकेपछि उनीहरुको उपस्थिति निराशाजनक देखिन्छ ।
अर्कातिर नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य निर्माण हुँदा विद्यार्थीहरू उच्च शिक्षा र रोजगारीका लागि विदेश जाँदा नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ ।
नेपालको शैक्षिक इतिहास धेरै पुरानो छैन । बेलायतको शैक्षिक अवस्थाबाट प्रभावित भएका तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० मा दरबार हाइ स्कूलको स्थापना गरेपछि नेपालमा शिक्षाको औपचारिक शुरुवात भएको मानिन्छ ।
समयसापेक्ष राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनसँगै नेपालको शिक्षण प्रणलीमा धेरै समस्या रहेको कुराहरु बेलबेलामा उठ्छन् । नेपालमा गुणस्तरीय शिक्षा नभएको भन्दै विद्यार्थीहरु विदेशिने चलन बढिरहेको स्वयम् यसक्षेत्रका विज्ञहरु स्वीकार गर्छन् । विश्वविद्यालयहरुमा अधिकांश विषयमा भर्ना हुनका लागि कोटाको अभाव हुन्छ ।
यसलाई शिक्षाविद्हरुको जटिल चुनौतीका रुपमा लिएका छन् ।
देशमा सञ्चालित धेरै विश्वविद्यालयहरुमा सङ्ख्यात्मक रुपमा विद्यार्थीहरु घटिरहेको शिक्षाविद् डा. विद्यानाथ कोइरालाको बताए । उनका अनुसार विश्वविद्यालयहरू विद्यार्थी केन्द्रित हुन नसक्दा विद्यार्थीको अभाव बेहोर्नुपरेको छ ।
‘हाम्रा विश्वविद्यालयहरुमा सङ्ख्यात्मक रुपमा विद्यार्थीहरु घटिरहेका छन्,’ उनले भने, ‘विदेशी विश्वविद्यालयहरुसँग पनि विद्यार्थीको अभाव त छ तर उनीहरुले बाहिरका विद्यार्थीहरु तान्न खोजिरहेका छन् । उनीहरुको शिक्षा नीति नै एकदमै उच्चस्तरको छ ।’
विश्वविद्यालयहरूलाई विद्यार्थीमैत्री बनाउने अभ्यास पनि नेपालमा नगरिएको उनको भनाइ छ । यसकारण विश्वविद्यालयले मुस्किलले कोटा पुर्याएर वा तोकेको कोटाभन्दा कम विद्यार्थीमै अध्यापन गराउनुपर्ने अवस्था आएको उनले सुनाए । विद्यार्थी केन्द्रित पढाइ र पढ्दै गर्दा कमाउने अवसर दिने व्यवस्था गरिने हो भने विश्वविद्यालयले विद्यार्थी नपाउने समस्या केही हदसम्म समाधान हुने उनको बुझाइ छ ।
‘विदेशी विश्वविद्यालयहरुले गर्ने भनेको यही हो, विद्यार्थीहरुलाई धेरै अवसर दिइएको हुन्छ, यहाँ पनि विद्यार्थीहरुले अवसर खोजेको छ भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने ।
विद्यार्थी किन नेपालको शिक्षाप्रणलीमा सन्तुष्ट छैनन् भन्ने कुराको कारण नेतृत्वले खोज्नुपर्ने तत्कालको अवस्था देखिन्छ ।
विद्यार्थीले चाहेकाजस्ता कोर्षहरुको विकास गर्ने विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गर्ने तथा हप्ताको ६ दिन पढ्नैपर्छ भन्ने मानसिकतालाई हटाउन सके विश्वविद्यालयहरुले विद्यार्थी पाउने कोइरालाको अनुमान छ ।
उनका अनुसार राजनीति नेतृत्व गम्भीर नहुँदा नेपालका विश्वविद्यालयले समस्या भोग्नुपरेको छ । शिक्षामा प्रविधिको उच्चतम प्रयोग समेत कम भएको उनले सुनाए ।
कोभिड (कोरोना भाइरस) पछिको बदलिँदो आर्थिक तथा समाजिक परिस्थिति, नेपालको शिक्षा रोजगारीसँग नजोडिनु लगायतका कारणले नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीहरुको सङ्ख्या घटिरहेको अर्का शिक्षाविद् प्राध्यापक डा.विनय कुमार कुसियतको मत छ ।
उनले भने, ‘गुणस्तरीय शिक्षा नहुनु, युवापुस्ताको विदेश मोहले प्लस टु सकिने बित्तिकै विदेशिने लहर छ, यसले गर्दा विश्वविद्यालयमा विद्यार्थीको अभाव हुन थालेको हो ।’
नेपालको शिक्षा प्रणालीमा देखिएको यो समस्याको समाधानको लागि विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम नै पुनरावलोकन गर्नुपर्ने कुसियतको बुझाइ छ ।
‘विश्वविद्यालयको युणस्तरीयता विश्व प्रतिस्पर्धी बनाउनका साथै विश्वविद्यालयहरुले सञ्चालन गर्ने कार्यक्रम तथा पाठ्यक्रमको नै पुनरावलोकन गरिनुपर्छ,’ उनले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुचना अधिकारी शंकर अधिकारीले भने नेपालका विश्वविद्यालयको अवस्था त्यतिसम्म दयनीय नभएको बताउँछन् । अहिलेका विद्यार्थी तथा युवाहरुमा विदेश जाने क्रम बढेकाले तुलनात्मक रुपमा विद्यार्थीको कमी मात्र देखिएको हो उनको भनाइ छ ।
अन्य देशमा पढ्दै काम गर्ने अवसर प्राप्त हुन्छ । नेपालमा अहिले यस्तो व्यवस्था नभएको कारण विश्वविद्यालयले विद्यार्थी अभावको झेल्नुपरेको उनले सुनाए ।
उनका अनुसार विश्वविद्यालयमा देखिएको यस्ता कयौं समस्याको समाधानको लागि सरकार लागि परेको छ ।
‘विश्वविद्यालयमा देखिएका यस्ता समस्या समाधानको लागि मन्त्रालय प्रतिबद्ध छ, विश्वविद्यालयमा देखिएका कतिपय समस्याहरु हल हुनेछन् र विद्यार्थीहरुको आकर्षण बढ्नेछ भन्नेमा हामी ढुक्क छौं,’ उनले भने ।
नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरु राजनीतिक कारणले उत्पन्न भएका हुन् भन्ने कुरामा उनी सहमत छैनन् । उनी भन्छन्, ‘राजनीतिले कसैलाई पढ्न छेक्दैन्, कतिपय विद्यार्थीहरु आफैँ राजनीतिमा सक्रिय छन्, यो उनीहरुको आन्तरिक क्षमता पनि हुनसक्छ, सबै कुरालाई समस्याको रुपमा मात्र लिनु हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया