मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के महिनावारीका बेला अत्यधिक दुखाइ हुँदा सेवन गरीने चक्कीले असर गर्छ ?

काठमाडौँ– पोखराकी रमिला शर्माले महिनावारीको शुरुवाती समयदेखि नै मेफ्टल चक्की प्रयोग गर्दै आएकी छिन् । महिनावारीको समयमा दुई/तीन दिनसम्म अत्यधिक पेट दुखेकै कारण मेफ्टल सेवन गर्दै आएको उनले सुनाइन् ।

उनका अनुसार मेफ्टलले दुखाइको बेला निकै राहत र आराम दिन्छ । विगत सात वर्षदेखि उनले मेफ्टल लिँदै आए पनि यसले उनको दैनिकीमा केही नकारात्मक प्रभाव पारेको छैन ।

स्त्रीरोग विशेषज्ञहरुका अनुसार महिनावारीका बेलामा महिलाहरुले प्रयोग गर्ने मेफ्टल चक्कीले कुनै नकारात्मक असर गर्दैन । महिनावारी भएको समयमा महिलाहरु शारीरिक रुपमा निस्क्रिय, थकित र आलस्य हुने गर्दछन् ।

यसलाई सामान्य नै मान्नुपर्ने उनीहरुको भनाइ छ । विशेषज्ञका अनुसार सबैलाई एकै प्रकारको महिनावारी प्रक्रिया पनि हुँदैन । कसैलाई महिनावारी भएको महसुस नै नहुने, अर्थात् पेट दुखाइ नहुने, रगत बग्ने पनि थोरै हुन्छ भने अघिपछि सरह महिनावारीको समयमा पनि यथावत् रुपमा काम गर्ने सक्ने हुन्छन् ।

तर कतिपय महिलाहरुको हकमा भने महिनावारीको चार दिन निकै कष्टकर हुने स्त्रीरोग विशेषज्ञ डा.स्वस्ति शर्मा बताउँछिन् ।

धेरै पेट दुख्ने, ब्लीडिङ पनि अत्याधिक मात्रामा हुने, ढाड, कम्मर दुख्ने लगायत समास्या हुने हुँदा उठ्न नसक्ने अवस्था पनि महिलाहरुमा हुने गर्छ । यस्तो अवस्थामा पेट दुखेर असह्य हुँदा दुखाइ कम गर्नका निमित्त महिलाहरुले पेनकिलर चक्की मेफ्टल सेवन गर्ने गर्छन् ।

सामान्यतया दुखाइ कम गर्ने यस्ता पेन किलरहरु  सेवन गर्दा विवाहपछि सन्तानप्राप्तिको समयमा असर पर्ने र प्रजनन स्वास्थ्यमा असर गर्छ भन्ने बुझाइप्रति उनको असहमति छ । विवाहपछि गर्भ रहँदैन, स्वास्थ्यमा असर गर्छ भन्ने कुराहरुमा सत्यता नभएको उनको भनाइ छ ।

‘पेट दुख्ने बित्तिकै औषधी खाने बानी चाहीँ बनाउनु हुँदैन,’ उनले भनिन्, ‘शुरुमा सकेसम्म घरेलु उपचारहरु तातो तथा झोलिलो कुरा खाने, व्यायाम गर्ने, हट ब्यागले सेक्ने र अन्तिममा सहनै नसक्ने अवस्था आयो भने मेफ्टल खाँदा हुन्छ ।’ 

स्त्री रोग विशेषज्ञहरुका अनुसार महिनावारी प्राकृतिक प्रक्रिया हो । महिनावारी हुनु भनेको महिला गर्भवती हुन तयार हुने सङ्केत हो पनि हो । १२ बषको उमेरदेखि १५ वर्षको उमेरमा शुरू हुन्छ र कसैकसैको हकमा भने अलिक छिटो नौ–दश वर्षको उमेरमा नै महिनावारी हुने गर्दछ ।

छिटोमा नौ वर्ष र ढिलोमा १७–१८ वर्षको उमेरमा महिलामा महिनावारीको प्रक्रिया शुरु हुने गर्दछ । महिनावारी साथै ४५ देखि ५५ वर्षको उमेर भित्रमा रजस्वला सुक्ने गर्छ अर्थात् महिनावारी रोकिने गर्छ । महिनावारीको समयमा शरीर अनुसार दुख्ने र नदुख्ने हुने नर्भिक अस्पतालमा कार्यरत अर्का स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा सुनाउँछिन् ।

महिनावारी हुँदा सकेसम्म सुतेरै मात्र नबस्ने, उठेर हिँड्ने, व्यायाम गर्ने, तातो खानेकुरा खाने गरेर पनि पेट दुखाइ कम गर्न सकिने उनको सुझाव छ । उनका अनुसार महिनावारी हुँदा महिलाको योनिबाट पटक–पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।

धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ । केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिने समेत सक्ने विशेषज्ञहरुको भनाइ छ ।

नियमित महिनावारी भएमा रगत आउने औसत समय करीब ५ देखि ७ दिनसम्मको हुन्छ । धेरै महिलाहरूको महिनावारी शुरु हुनु ठीक अघि र महिनावारी भएकै बेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्ने स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।

महिनावारी हुँदा शारीरिक सरसफाइमा पनि विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । अहिले शहरी भेगका महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् ।

अझै पनि ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यस्ता कपडाहरु घाममा सुकाउँदैनन् र अँध्यारो मै राख्छन् । यसले गर्दा उनीहरूको गुप्ताङ्गमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्ताङ्गमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना रहेकाले यसमा सतर्क रहन विशेषज्ञहरु सुझाउँछन् ।

विशेषज्ञका अनुसार महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ । यसले कपडामा भएको परजीवी नष्ट गर्छ । कपडा नरम र सुतीको हुनुपर्छ ।

नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नु हुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?