काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा ओपन एआईले एकपछि अर्को गर्दै नयाँ नयाँँ टुलहरु ल्याइरहेको छ ।
दुनियाँलाई नै अचम्ममा पार्दै ओपन एआईले हालै मात्र टेक्स्ट टु भिडियो टुल सोरा सार्वजनिक गरेको थियो ।
अझै पनि ओपन एआई एउटा नयाँ टुलमा काम गरिरहेको कुरा बाहिरिएको छ । ओपन एआईले भ्वाइस इन्जिनको विकास गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् ।
यो टुल निर्माण भएमा मानिसको आवाज सुनेर तत्कालै त्यसको नक्कल गर्न सक्ने बताइएको छ ।
मिडिया रिपाेर्टअनुसार ओपन एआईको भ्वाइस इन्जिन टुलले कसैको आवाज सुनेर १५ सेकेण्डभित्रै जस्ताको तस्तै तयार गरिदिनेछ ।
ओपन एआईले आफ्नो ब्लगमा दिएको जानकारीका अनुसार भ्वाइस इन्जिन टुलले कुनै पनि अडियो सुनेर १५ सेकेण्डका दुरुस्तै अडियो क्लिप तयार गरिदिनेछ । यो टुलले भावुक खालको तथा वास्तविक आवाजको अडियो पनि तयार गरिदिन सक्नेछ ।
रिपोर्टका अनुसार ओपन एआईले यो टुललाई सन् २०२२ मै तयार गरे पनि यसको गलत प्रयाग हुने सम्भावनालाई मध्यनजर गरी थप अध्ययन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया