मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

सही समयमा खाना नखाँदा स्वास्थ्यमा कस्ता समस्या देखिन्छन् ?

व्यस्त जीवनशैलीका कारण आम मानिसले खानपानमा त्यति धेरै समय दिएको पाइँदैन । आफ्नो जीवनशैलीलाई भन्दा बढी कामलाई समय दिनुपर्ने अवस्थाका कारण कतिपयले समय मिलाएर खाना खाने गर्छन् ।

अझ कतिले त खानाको साटो सामान्य जङ्क फूड खाएर टार्ने गर्छन् । तर, चिकित्सकहरू भने समयमा खाना नखाँदा स्वास्थ्यमा विभिन्न समस्या पर्ने बताउँछन् ।

विशेष गरी क्याम्पस पढ्ने विद्यार्थीले बिहानको खाना नखाइ सीधै काममा जाने गरेको पाइन्छ । काठमाडौँजस्ता ठूला शहरमा डेरा गरी एक्लै बस्ने कतिले त अल्छी लागेर खाना नै नखाने गरेको पनि पाइन्छ ।

चिकित्सकहरूले भने खाना नखाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू उत्पन्न हुने बताउँछन् ।

समयमा खाना, खाजा नखाँदा स्वास्थ्यमा कस्तो असर पर्छ ? खानाको सन्तुलन नमिल्दा के–कस्ता रोगहरु लाग्न सक्छ ? दिनमा कति पटक खाना र खाजा खान आवश्यक छ ? भन्ने सन्दर्भमा ह्याम्स अस्पतालमा कार्यरत बेरियाट्रिक एण्ड मेटाबोलिक डा. कोसिस नन्दन पोखरेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश: 

हामीले सही समयमा खाना र खाजा नखाँदा स्वास्थ्यमा कस्तो असर पर्दछ ?

हाम्रो शरीरलाई इनर्जी चाहिएको हुन्छ । जुन हामी खानाको माध्यमबाट पाउने गर्दछौं ।  खाना खाएपछि मात्रै हाम्रो शरीरले काम गर्न सक्छ । खानाको शक्तिले नै मुटु, दिमाख जस्ता अंगले सही हिसाबले काम गर्छ । जब हामीले समयमा खादैँनौ तब हाम्रो शरीरले स्फूर्त रुपमा काम गर्न सक्दैन ।

हामीले खाना खाएनौं भने शरीरलाई चाहिने प्रोटिन प्राप्त हुँदैन । खानाको कमी भएमा सेलहरु ड्म्यामेज हुन्छन्, जसलाई हामी मर्मत गर्न सक्दैनौं । चिल्लो पदार्थ खान सकेनौँ भने विभिन्न हर्मोनहरु उत्पादन हुन सक्दैनन् । जसले गर्दा हामीलाई रोग लाग्न सक्छ । अर्को कुरा हामीले समयमा खाना नखाँदा मेटाबोलिजम निकै गढबड हुन्छ ।

बिहानको र बेलुकाको खानामध्ये हामीले कुन समयको खाना छुटाउनै हुँदैन ?

खाना हाम्रो शरीरको लागि निकै आवश्यक हुन्छ । यसकारण बिहान तथा बेलुकाको खानामा कुन समयको खाना छुटाउनु हुँदैन र कुन समयको खानाको सट्टामा अरु खानेकुरा खाँदा पनि हुन्छ भन्ने हुँदैन ।

रातभरि हामी आठ/दश घन्टा निदाएका हुन्छौँ । रातको समयमा हामी केही खाँदैनौँ, यसकारण बिहान वजनदार र कार्बोहाइड्रेट पाइने खाना अर्थात् सम्भव भएसम्म खाना नै खानुपर्दछ । बेलुकाको हकमा भने प्रोटिनयुक्त र झोलिलो खानाहरुको सेवन गर्नु स्वास्थ्यवर्धक हुन्छ ।

हामी लामो समयसम्म भोको पेट बस्दा, खानाको सन्तुलन नमिल्दा के–कस्ता रोगहरु लाग्न सक्छ ?

हामीले समयमा खाना नखाँदा मोटोपन बढ्ने, कुनै रोगले छुने, डाइटिङहरु गर्दा पनि तौल नघट्ने, कोलेस्ट्रोल, अटो इम्युन डिजिज, ब्याक्टेरियल डिजिजहरु, मधुमेह, फ्याटी लिभर, पत्थरी, जस्ता रोगहरु लाग्ने सम्भावना अधिक हुन्छ ।

हामीले दिनमा कति पटक खाना र खाजा खान आवश्यक छ ?

सामान्यतया एक व्यक्ति स्वस्थ रहन हामीले दिनमा तीनपटक बिहान, दिउँसो र बेलुका खाना खान आवश्यक छ । तर यो तीनपटक बाहेक हामीले थोरै मात्रामा अन्य लाइट खानेकुराहरुको पनि सेवन गरिरहनुपर्ने हुन्छ ।

अन्त्यमा खाना र खाजाको सवालमा आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

हामीले मुख्य कुरा के बुझ्न आवश्यक छ भने समयमा खाना र खाजाको सन्तुलन, समय र मात्रा नमिल्दा मोटोपनाको शिकार हुन्छ । जसकारण तपाईंले पछि चाहेर पनि आफ्नो तौल नियन्त्रणमा ल्याउन सक्नुहन्न । अर्को भनेको कसले के भन्यो, कुन पत्रिकाले के लेख्यो । सञ्चारमाध्यमहरुले के लेखे भन्ने कुरालाई मात्रै आधार नमानेर आफैंले चिकित्सकसँग परामर्श लिएर खानपानको विषयमा सन्तुलन मिलाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?