काठमाडौँ– उपत्यकाको पुरानो नेवारी समुदायलाई प्रतिनिधित्व गर्ने पुराना तस्वीरहरु, समुदायको पेशालाई झल्काउने बत्ती, डोरा, वासी, ईहि प्रासी, बुट्टेदार स–साना कपडाका नमुनाहरु एवं लाखे संस्कृतिलाई चित्रण गर्ने तस्वीर र अमूर्त कलाको स्वरुपले ठमेल, मण्डला स्ट्रिटस्थित ‘किसिमाका’ ग्यालरीका भित्ताहरु सजिएका छन् ।
ग्यालरीका सजिएका कलाकृतिहरुसँगै जोडेर स्वदेशी तथा विदेशी कलाप्रेमीहरुलाई आफ्नो पूर्खाको इतिहासकाबारे बेलिविस्तार लगाउन व्यस्त छन्, कलाकार सुनिल रञ्जित । उनी थोरै आफ्नो अमूर्त कला चिन्तन र सिर्जनाबारे सुनाउँछन् भने धेरै पूर्खाको लोपोन्मुख हुँदै गरेको पेशाबारे बुझाउँदै छन् ।
किनकि, पेशाकै कारण आफ्नो पूर्खाले नामसँगै पाएको ‘रञ्जितकार’ शब्दप्रति उनको विशेष प्रेम छ । त्यसैले उनले आफ्नो पछिल्लो कलाप्रदर्शनीमा उनको अमूर्त फर्मका चित्रहरुसँगै पूर्खाको पेशालाई चिनाउने सम्पूर्ण दस्तावेजहरु समेत प्रदर्शन गरेका हुन् ।
काठमाडौंको कोर सिटी काष्ठमण्डप वरिपरि नै कलाकार रञ्जितको बाल्यकाल बित्यो । बाल्यकालमा आफ्नो बाबुबाजेले कपडामा रङ्ग, बुट्टा तथा सितारा भर्ने काम गरेको उनले देख्दै आए । उपत्यकामा धार्मिक कार्य पूजा तथा आराधनामा चाहिने बत्ती, डोरा, ईहि प्रासी लगायतका सामग्री समेत बनाएको उनले देखे ।
उनका अनुसार ईहि प्रासी नेवारी समुदायमा कन्या रजस्वला हुनुपूर्व गरिने विवाहमा लगाइने वस्त्र हो । सारी जस्तै यो वस्त्र तलेजु भवानी र रातो मच्छिन्द्रनाथलाई समेत चढाइन्छ । दरवारमा लगाउने श्रीपेचहरु समेत रञ्जितकार समुदायले बनाउने गरेको उनले बताए ।
पछि आधुनिक प्रविधिको विकाससँगै रञ्जितकार समुदायको परम्परागत सीप लोप हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
धागोदेखि कपडा बुन्ने, बुट्टा तथा छाप्ने कलामा समेत अचेल आधुनिक प्रविधिका मेसिनहरुबाट गरिन्छ ।
समुदायमा बाँकी रहेका अवशेषहरुलाई नयाँ पुस्तासम्म पु¥याउन कला प्रदर्शनीमार्फत् उनले बाहिर ल्याएका हुन् । दरवारमा बनाइने सारी, सल तथा घुम्टोहरुमा भर्ने सितारा, इम्ब्रोइडरी गरिएका कपडाहरु समेत उनले संकलन गरेर प्रदर्शनीमा राखेका छन् ।
बाल्यकालमा धागो तथा कपडाका लागि बनाइने रङ्गका घ्याम्पाहरुमा खेलेको स्मरण ताजै रहेको उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए ।
‘हामी सानो हुँदा कपडा बुन्ने, धागो काट्ने र त्यसमा रङ्ग भर्न ठूला–ठूला घ्याम्पाहरु हुन्थे,’ उनले भने, ‘हामी रङ्गका घ्याम्पोहरुमा खेल्थ्यौँ, अहिले मेसिन र केमिकलहरुले पेशा नै संकटमा पर्यो ।’
उपत्यकामा नेवारी समुदायको ‘छिपा’ नै पछि नेपाली भाषा खसकरण हुँदा ‘रञ्जित’ भनिएको इतिहास पाइन्छ । यस समुदायको मुख्य काम नै रङ्गरोगन गर्नु, बुट्टा भर्नु र सुकाउनु हो ।
कपडा रङ्गाउने कामलाई नेवारी भाषामा ‘छिगु’ र सुकाउने कामलाई ‘पायगु’ भनिने कलाकार रञ्जितले सुनाए । यही दुई शब्दको संयोजनबाट नै ‘छिपा’ थर रहन गएको हो भन्ने समुदायको मान्यता छ । उनका अनुसार यो समुदायले प्रकृतिमा पाइने विभिन्न जडिबुटी, घाँस तथा ओखरको बोक्राबाट रङ्ग बनाउने गर्थे ।
रञ्जित सुमदायले नै मल्लकालदेखि नै राजाहरुको श्रीपेच लगायत भक्तपुरमा मनाइने बिस्का जात्रामा उभ्याइने यसिंद्यः झुन्ड्याइने हलिपट, इन्द्रजात्रामा निकालिने लाखे आजुको चुनरी बनाउने गर्छन् ।
यसरी रङ्गमा जितेर विशेषता हासिल गरेकै कारण ‘कार’ विशेषज्ञ थपेर ‘रञ्जितकार’ थर रहन गएको ऐतिहासिक मान्यता समुदायमा छ । आफ्नो पेशालाई सहज बनाउन ‘रञ्जितकार’ समुदाय नदी आसपासमा बसोबास गरेको देखिन्छ ।
भक्तपुरको खोर्हे (हनुमानघाट) वरपरको क्षेत्रमा बसोबास गर्ने रञ्जितकारहरुले आफ्नो कामका लागि हनुमन्ते नदीको पानी प्रयोग गरेर नदी आसपासमै कपडा सुकाउने गरेको इतिहासले बताउँछ । यही इतिहासलाई ब्युँताउने जमर्काे कलाकार रञ्जितले कलामार्फत् गरेका छन् ।
समुदायको इतिहासलाई बताउने सम्पूर्ण सामग्रीहरुलाई विभिन्न स्थान र व्यक्तिहरुबाट संकलन गरेर संग्रह गरिएको उनले बताए ।
रञ्जितको कलामा रङ्ग चिन्तन
कलाकार रञ्जित ४० को दशकदेखि कला सिर्जनामा छन् । कला सिर्जनासँगै उनी कला अध्यापनमा समेत छन् । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्का उनी संस्थापक सदस्य समेत हुन् ।
कलामा पोखिएका भावहरु र यसले पार्ने प्रभावहरु सिर्जनासँगै प्रत्येक दिन उनी नयाँ पुस्तालाई ज्ञानका रुपमा बाँड्ने काम गरिहेका छन् । उनको सिर्जनामा रङ्ग र यसको विशेष संयोजन देखिन्छ । विशेषत अमूर्त कला विधामा उनको चाख देखिन्छ ।
उनको कलामा हेर्ने दर्शकले सीमित होइन, असीमित दुनियाँ भेट्टाउन सक्छन् । कुनै निश्चित रुपभन्दा पनि उनका कलाकृतिहरुमा रङ्गहरु मात्र नाचिरहेका हुन्छन् । झट्ट हेर्दा उनका कलाहरु वस्तुविहीन, रुपविहीन र आकारविहीन देखिन्छन् । मात्र रङ्गहरु क्यानभासमा पोखिएको जस्तो आभास हुन्छ ।
तथापि रञ्जितका लागि रङ्गहरु नै कथा, चरित्र, घटना, पात्र र परिवेशहरु हुन् । एउटा घटना या धारणाको जन्म भएपछि रङ्गहरु मार्फत् पूर्ण कथा क्यानभासमा बन्ने उनले सुनाए । यसका लागि केवल क्यानभासमा कुची चलाउनु मात्र होइन लामो समयको साधना र प्रक्रियामा जानुपर्ने उनका अनुभवहरुले बताउँछन् ।
उनका क्यानभासमा पोतिएका रङ्गहरुमा कतै लाखे नाचिरहेको त कतै मानिसहरु उत्सव बनाइरहेको हो कि भन्ने भान हुन्छ । उनी भन्छन्, ‘क्यानभास नै मेरो मञ्च हो ।
‘म त त्यहाँ रङ्गहरु होइन मान्छे नाचिरहेको देख्छु,’ उनले भने ।
उनले ‘सोरठी नृत्यः पूर्खाको नाच’, ‘अध्यारोबाट उज्यालोतिर’ जस्ता सिरिजमा कला मार्फत् नै मानवीय चिन्तन र संवेदनाहरुलाई खोतल्ने काम गरिसकेका छन् । उनको रङ्गचिन्तनमा बनेका सिर्जनाहरु शीर्षकविहीन छन् ।
अवलोकन गर्ने आम दर्शकले कला नियाल्दै आफ्नै जीवनका दर्शक र भाव बनाओस् भन्ने उनको अपेच्छा छ । अमूर्त कलाको विशेषता नै यही रहेको उनको भनाइ छ । उनका अनुसार यसमा कलाकार र दर्शकले राख्ने दृष्टिकोण, घटना, परिघटना अलग–अलग हुन सक्छन् ।
कुनै पनि कलाकारको साधनामा दर्शक आफ्नै धारणामा सयर गर्न पाउने भएकोले नै अमूर्त कलाको संसारमा छुट्टे महत्व रहेको समेत उनले सुनाए । यही कला सिर्जनाले अनन्त यात्राको सन्तुष्टि उनलाई दिएको छ । जिवीकोपार्जनका लागि उनी इलुस्ट्रेसन (द्रिष्टान्त चित्र) गर्छन् ।
इलुस्ट्रेसनमा दाई शरद रञ्जितको बाटो पछ्याउँदै लागेको उनले सुनाए । उनका दाई अग्रज कलाकार रञ्जितले व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । उनले प्रौढ शिक्षाको पुस्तिका ‘नयाँ गोरेटो’, ‘भाँडभैलो’ लगायतमा इलुस्ट्रेसन बनाएका छन् ।
इलुस्ट्रेसन बनाउने कार्यलाई रञ्जित पेशासँगै सामाजिक सेवाका रुपमा लिन्छन् । यसले जीवन निर्वाहका लागि थोरै आर्थिक सहायता गरेपनि मनको आनन्दका लागि फेरि उनी अमूर्त कला सिर्जनातिर नै फर्कछन् । रङ्ग, प्रकाश र भावलाई सन्तुलन कायम गर्दागर्दै यसैमा आत्मसन्तुष्टि मिल्ने उनी सुनाउँछन् ।
यसले रङ्गमा जोडिएको आफ्नो पूख्र्यौली पेशालाई पनि जोड्ने उनको बुझाइ छ । नयाँ पुस्ताले आफ्नो भावना अभिव्यक्त गर्ने र जीवन दर्शन बुझ्ने काम रङ्गको भाषामा गर्न सक्ने उनको मत छ ।
उनको प्रदर्शनीको क्युरेसन भने मीना लामाले गरेकी हुन् । लामाले उनको कलालाई आधुनिक फर्ममा आउने गरी सलमा(पातलो पछ्यौरी)मा समेत प्रस्तुत गरेकी छिन् ।
प्रर्दर्शनीमा फ्रान्सेली कलाकार भिन्सेन्ट ग्रेबीका सिर्जनाहरु समेत अवलोकन गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया