सर्लाही– उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् ।
जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।
मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे ।
प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले गुनासो गरे ।
“धेरै फल्ने आसमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, महतो गुनासो गर्छन्, “अहिले सबै लगानी डुब्यो ।”
बागमती र बरहथवाका किसानले लगाएको बिघौँ बिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ ।
यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् ।
प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बरबाद भएको अर्का किसान रञ्जित महतोले दुखेसो गरे । गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएका उनले घोगा ठूलो लागे पनि दाना नलागेको बताए ।
महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छाँगाबाट खसेजस्तै भएका छन् । र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ ।
उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ ।
उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् ।
मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए।
बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समय अगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे ।
मकैको पराग सेचनको समयमा धेरै चिसो भएको उनको प्रष्टिकरण छ । मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनी बताउँछन् ।
दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको बताएका पालिखे किसानलाई कसरी राहत पुर्याउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया