काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा नं. २५ मा ‘शनिबार’ भोलिदेखि ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । यसका लागि सहयोगको अनुरोध गर्दै शुक्रबार सचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी, महानगर प्रहरी, कर्मचारी, स्थानीय क्लव, टोल सुधार समिति, महिला समूहसहित सहभागी थिए । टेङ्गलबाट सुरु भएको प्रभातफेरी सिंघल, ठँहिटी, त्यौड, असन, इन्द्रचोक हुँदै न्यकन्तल पुगेको थियो । यस क्रममा फोहोर संकलन गरिने सवारी साधनमा फोहोर फाल्ने विधि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमपछि वडाध्यक्ष राजेश डंगोलले, फोहोर संकलन गर्न आउने साधनमा फोहोर फाल्दा हरियोमा कुहिने र रातोमा नकुहिने फोहोर राख्न महिला समूहबाट निगरानी हुने विश्वाश व्यक्त गरे । ‘असल अभ्यासले सबैको भलो हुन्छ । सचेतना र निगरानीले नतिजा ल्याउन सजिलो हुन्छ ।’ वडाध्यक्षले नागरिक दायित्वप्रति भरोसा रहेको बताए।
जनगणना २०७८ अनुसार यस वडाको घरपरिवार संख्या २ हजार ३३५ र जनसंख्या ८ हजार ९६६ जना रहेको छ । ‘वडा नं। २७ बाट थालिएको फोहोर वर्गीकरण अभ्यास वडा नं. १०, १२ हुँदै वडा नं. २५ सम्म आएको छ ।’ सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्छन्, ‘यसपछि तत्काल वडा नं. ५, २३ र २४ बाट काम थाल्दैछौँ ।’
स्रोतमा फोहोर वर्गीकरण गरेर छुट्टाछुट्टै संकलन तथा ढुवानी थालिएपछि यसले पारेको प्रभावलाई सर्वेक्षणबाट विश्लेषण गर्ने काम पनि सँगै थाल्दैछौँ । सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्य भन्नुहुन्छ, सर्वेक्षणबाट प्राप्त विवरणले कमजोरी सुधार गर्दै कार्यक्रम परिस्कृत गर्न सघाउ पुर्याउनेछ ।
हरेक परिवारको भान्छा र घरबाट कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । उत्पादन भएकै ठाउँमा कुहिनेलाई हरियो र नकुहिनेलाई रातो बाल्टिनमा राख्नुपर्छ । यसो गर्न सकियो भने फेरि छुट्याउन समय खर्च गर्नु पर्दैन । नकुहिने फोहोर त बिक्री पनि हुन्छ । कुहिने फोहोरलाई घरमै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी ‘साग सब्जी’, बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् । यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् ।
यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक ‘पीपीइ’, पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया