काठमाडौँ– दालमोठ हामीले सानै उमेरदेखि नै खान रुचाउछौं । किनकि यो मसलेदार ट्वाक्क हुन्छ । सजिलो र छिटो खाजाको रुपमा हामी यसलाई लिने गर्छौँ । बालकदेखि वृद्दवृद्धासम्मलाई यसको स्वाद मीठो लाग्छ ।
चिउरा, भुजा लगायत हरेक कुरामा मिसाएर खान सकिने भएकाले पनि तपाईँ हाम्रो घरमा दालमोठ अनिवार्य हुन्छ । तर, यो दालमोठ हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ त? यसबारेमा भने हामी त्यति जानकार छैनौँ ।
दालमोठ र भुजियालाई प्राय:जसो घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा पनि दालमोठ र भुजिया हुने नै गर्छ ।
चियासँग होस् या कोल्ड ड्रिंकसँग । या त मदिरासँग नै किन नहोस् । दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हतारको समयमा खानको लागि यो सजिलो पनि हुन्छ ।
तर यति धेरै यसको उपभोग भए पनि स्वास्थ्यमा भने कस्तो असर पार्छ भन्ने कुरामा भने आम मानिसले हेक्का राखेको पाइँदैन । दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ, फाइदा केही पनि गर्दैन ।
किनकि यसमा शरीरलाई चाहिने कुनै पनि प्रकारको पोषक तत्व हुँदैन । यसमा शरीरलाई हानि पुर्याउने तत्व ट्रान्स फ्याट, हाइ क्यालोरी, सोडियम अत्यधिक मात्रामा हुन्छ । यसमा हुने ट्रान्स फ्याट अर्थात सरल भाषामा नराम्रो चिल्लो पदार्थ हो ।
यसले धमनीहरुको भित्री भागमा नकारात्मक असर पारी धमनीहरु साँघुरो बनाउने गर्छ । यसले गर्दा रक्तसञ्चारमा अवरोध ल्याउने र रगत जम्ने सम्भावनालाई बढाउँछ, जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ ।
यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ । जसले गर्दा युवावस्थामै मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा करिब पाँच लाख ४० हजारको मृत्यु ट्रान्स फ्याट कै कारणले हुन्छ भनेर प्रमाणित भएको छ । अर्को यसमा उच्च क्यालोरी हुन्छ ।
जसले थोरै खाए पनि ऊर्जा बढी दिन्छ । तर शरीरमा चाहिने प्रोटिन भने हुँदैन । यसले गर्दा उच्च क्यालोरी भएको खानेकुरा बढी सेवन गर्दा प्रोटिनको कमीले मोटोपन बढ्ने तर कुपोषण हुने जोखिम हुन्छ ।
त्यस्तै दालमोठ वा भुजियामा सोडियमको मात्रा अत्यधिक मात्र हुन्छ । यसले मस्तिष्क, धमनी र मुटुमा असर गर्छ । दालमोड र भुजिया धेरै खाँदा घुँडा र हातखुट्टा सुन्निने, मिर्गौलामा पत्थरीको जोखिम, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षति लगायत गम्भीर समस्या समेत हुन सक्छ ।
यसबाट बुढेसकालमा स्मरण शक्तिमा ह्रास आउने समेत हुन सक्छ । विभिन्न अंगमा पानी जम्ने समस्या पनि हुन सक्छ । बढी नुन भएको खाना सेवन गर्नाले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ ।
जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने गर्छ । यसबाहेक पेट दुखाइ, पेट फुल्ने, ग्यास्ट्रिक, पखाला र कब्जियतलगायत समस्या हुन्छ ।
उच्च रक्तचाप, कब्जियत, अल्सर वा कुनै पेटसम्बन्धी समस्या भएमा, शल्यक्रिया गरेको वा कुनै जटिल रोग भएमा दालमोठ तथा भुजिया खानु हुँदैन । यदि इरिटेबल बोवेल सिन्ड्रोम अर्थात् एकैछिनमा कब्जियत र पखाला हुने समस्या भएकाले पनि यी कुरा नखाएकै राम्रो हुने चिकित्सकहरू बताउँछन् । किनकि यसले रोगलाई अझ जटिल बनाउन सक्छ ।
दालमोठ र भुजिया खानै पर्ने भएमा अन्य पोषण र फाइबरयुक्त खानेकुरासँग थोरै मिसाएर खानु राम्रो हुन्छ । साथै यस्ता चिप्स उद्योग, भुजिया तथा दालमोठ उद्योग, थुक्पा उद्योग र बिस्कुट तथा पाउरोटी उद्योगहरुमा बासी तेलको पुन प्रयोग गर्ने गरिन्छ ।
जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । यसकारण पनि दालमोठ भुजिया हानिकारक हुने चिकित्सकहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया