मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

महिलामा पिसाबको संक्रमण बढी हुने कारण के हो?

महिलामा देखिने विभिन्न शारीरिक समस्यामध्ये पिसाब संक्रमण पनि एक हो । यो समस्याबाट प्राय: महिला ग्रसित भएको पाइन्छ ।

पिसाब संक्रमण अर्थात् ‘युरिनरीट्याक्ट इन्फेक्सन’ पिसाब प्रणालीको कुनै पनि भागमा हुने संक्रमण हो । पिसाब प्रणालीमा मुत्रनली, मुत्राशय र मिर्गौला पर्दछन् । धेरैजसो संक्रमण पिसाब नली, पिसाबथैली र मुत्र मार्गमा हुने गर्छ ।

पिसाब संक्रमण मिर्गौलासम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ । मुख्यतया: लामो समयसम्म पिसाब रोकेर बस्नाले साथै प्रजनन अङ्गहरुको सरसफाइमा ध्यान नदिनाले पिसाबको सङ्क्रमण हुने चिकित्सकहरु बताउँछन् ।

पिसाब सङ्क्रमण हुन नदिन के गर्ने ? पुरुषको तुलनामा महिलाहरुमा धेरै मात्रामा पिसाब सङ्क्रमण हुने गर्दछ । यो के कारणले हुन्छ ? पिसाब सङ्क्रमण हुनुको कारण के हो ? लगायतका प्रश्नमा आधारित भएर युरोलोजिष्ट डा. अनिल पुकार साहसँग सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको अंश:

महिलामा पिसाब सङ्क्रमण हुनुको मुख्य कारण के हो?

महिलाहरुको पिसाबको नली छोटो हुन्छ । महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दूरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ । कुनै पनि कारणले पिसाबको नली ड्यामेज भयो वा त्यहाँको वातावरण केही कारणले परिवर्तन भयो भने शरीरमै भएको ब्याक्टेरियाहरु पिसाब नलीमार्फत् पिसाब थैलीमा जान्छन् । 

प्राय पिसाबको संक्रमण हुने कारण हाम्रो शरीरमा हुने आफ्नै ब्याक्टेरियाहरु हुन् । जसले संक्रमण गराउँछ । पिसाबमा समस्या देखिनुको मुख्य कारण सरसफाइको कमी हुनु र यौनांगमा संक्रमण हुनु कारण हो ।

त्यस्तै असुरक्षित यौन सम्पर्कका कारण पनि पिसाबमा संक्रमण हुन सक्छ । सुगर सम्बन्धी रोग भएमा पनि पिसाबको संक्रमण हुन सक्छ । यस्तै प्रेग्नेन्सीमा पनि सरसफाइमा विशेष ध्यान दिएन भने पनि पिसाबमा छिटो संक्रमण हुनसक्छ । गर्भवती महिलाहरुमा पिसाबको संक्रमण देखिने समस्या अन्य महिलाको तुलनामा धेरै हुन्छ ।

सङ्क्रमण हुन नदिन के गर्ने ?

प्रशस्त मात्रामा पानी पिउँदा हानिकारक ब्याक्टेरिया र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पुग्छ । यसकारण प्रशस्त मात्रामा पानी पिउनु सर्वोत्तम उपाय हो । अर्को भनेको यौनसम्पर्क स्थापित गरिसकेपछि दुवैजना महिला र पुरुषले नै सफा पानीले प्राइभेट पार्टहरु सफा गर्नुपर्दछ ।

सङ्क्रमण भएपछि कसरी निर्मुल गराउने?

पिसाब पोल्ने समस्या भएको समयमा नियमित जामुनको सेवन प्रभावकारी मानिएको छ । यस्तै विभिन्न प्रकारका फलफूलको जुस खान सकिन्छ । यसका साथै सुन्तला, डार्क चकलेट, चिनी बिनाको प्रोबायोटिक दही, टमाटर, ब्रोकाउली र पालुङ्गो जस्ता खानेकुरा सेवनले फाइदा पुग्छ । यसका साथ साथै सरसफाइमा पनि ध्यान दिन आवश्यक छ ।

पुरुषको तुलनामा महिलाहरुमा धेरै मात्रामा पिसाब सङ्क्रमण हुने गर्दछ यो के कारणले हो ?

हो । पुरुषको तुलनामा महिलाहरुमा पिसाब सङ्क्रमणको समस्या धेरै हुने गर्दछ । किनभने महिलाहरुको पिसाब फेर्ने अंग र दिसा गर्ने स्थान नजिकैको दूरीमा हुने भएका कारण सङ्क्रमणको जोखिम बढी हुने गर्दछ ।

यौनाङ्ग सफा गर्न साबुन तथा अन्य वस्तुहरुको प्रयोग गर्नु कत्तिको स्वस्थकर हुन्छ ?

त्यसरी सफा गर्ने सरल र स्वस्थकर तरिका भनेको धाराको चिसो पानीको प्रयोग हो । हामीले पानीबाहेक साबुन, स्याम्पु लगायत फार्मेसीहरुमा पाइने अन्य वस्तुहरुको पनि सकेसम्म प्रयोग गर्नु हुँदैन । यसकारण प्राइभेट पार्टको सरसफाइमा चिसो स्वच्छ पानीको प्रयोग सबैभन्दा उत्तम हुन्छ ।

पिसाब सङ्क्रमणकै कारण के कस्ता जटिलताहरु निम्तिन सक्छन् ?

पिसाब संक्रमण धेरै महिलाहरुको साझा समस्या हो । युरोलोजीको पहिलो नम्बरको रोग भनेको नै पिसाब संक्रमण हो । यो रोग सबै उमेरको व्यक्तिमा देखा पर्दछन् । पिसाब सङ्क्रमण भयो भने पेटसम्बन्धी धेरै रोगहरु उब्जिन सक्छन् । पिसाब संक्रमणले मिर्गौलामा पनि असर गर्छ । पिसाबथैली संक्रमण भइसकेपछि यसबाट संक्रमण फैलिएर पिसाबनली हुँदै मिर्गौलासम्म पुग्छ । पिसाब थैलीको संक्रमणले मिर्गौलासम्म असर गर्दा मिर्गौला सुन्निन्छ । मिर्गौला पनि संक्रमण हुन्छ । यसले मिर्गौला ड्यामेज गर्न सक्छ । साथै यौन रोगहरु समेत उत्पन्न हन्छ ।

पिसाब सङ्क्रमण भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?

पिसाबको संक्रमण हुँदा देखिने लक्षणहरु भनेको पटक–पटक पिसाब लाग्ने, पिसाब पोल्ने, पिसाब निख्रिएजस्तो नहुने देखिन्छ । पिसाब चुहिने र अन्य समस्याहरु पनि देखिन्छ । पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाहीँ पिसाबमा रगत समेत देखिन सक्छ । कहिलेकाहीँ पिसाबको संक्रमणले पिसाब थैली हुँदै मिर्गौलासम्म संक्रमण पुग्ने गर्छ ।

यस्तो अवस्थामा बिरामीलाई अत्यधिक ज्वरो पनि आउन सक्छ । पिसाब पोल्नु, छिनछिनमा पिसाब लाग्ने, थोरै पिसाब आउने, तल्लो पेट भारी हुने, दुख्ने वाकवाक लाग्ने, वान्ता हुने ज्वरो आउने खुलेर पिसाब नआउने अलिअलि गर्दै पिसाब आउने गर्दछ ।

के पानी पर्याप्त मात्रामा नपिउँदा पनि पिसाब सङ्क्रमणको समस्या हुन्छ ?

मानव शरीरमा पानीको मात्रा नपुग्दा विभिन्न रोगहरुले सङ्क्रमण गर्ने हुन्छ । यसैमध्यको एक हो पिसाब सङ्क्रमण । पानी पर्याप्त मात्रामा पिउँदा शरीरमा रहेका अन्य बिकार पदार्थहरु पनि पिसाबको माध्यमबाट बाहिरिन्छ । तर पानीको मात्रा पुगेन भने बिकार पदार्थहरु पेटमै जम्मा भएर बस्ने गर्दछ । पानी थोरै पिएपछि पिसाब पनि थोरै मात्रामा आउँदा पोल्ने, पिसाबको रंग पहेँलो आउने आदि हुने गर्दछ । यस कारण पानी प्रशस्त मात्रामा पिउदा पिसाब सङ्क्रमण हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?