मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ– बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो ।

गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटेल व्यवसायी बैँस गुरुङले जानकारी दिए । 

“हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच-छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।” 

कोरोनाको समयपछि यहाँका होटेल व्यवसायले बिस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उनले बताए । 
“पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ”, उनले भने, “दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।”  

त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भन्ज्याङ चौताराबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो । 

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भन्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ ।

उडानका क्रममा बन्दीपुरको ‘एरियल भ्यु’का साथै मस्र्याङ्दी उपत्यका धौलागिरिदेखि लाङ्टाङसम्मको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ ।

विगत पाँच वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो । उक्त स्थानबाट ३०-४० जनासम्म उड्न सक्ने क्षमताको रहेको छ ।

उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति रु एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । 

नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ ।

प्रि–बुकिङमार्फत १५ देखि ३० मिनेटको उडान र त्यसभन्दा माथि ४५ मिनेटदेखि करिब एक घण्टासम्मको उडान चरा झैँ उडेर गर्न प्याराग्लाइडिङ पाइलट समय प्रधानले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?