कहिलेकाहीँ उज्यालोमा हेर्दा इन्द्रेणीजस्तो देखिने, टाउको दुख्ने, वाकवाक लाग्ने, धमिलो देखिनेजस्ता समस्या देखिन सक्छन् ।
यस्ता लक्षण देखिए निको भइहाल्छ नि भनेर बेवास्ता गर्नु हुँदैन । आँखामा लाग्ने रोग जलबिन्दुका कारण पनि यस्तो भएको हुन सक्छ ।
के हो जलबिन्दु ?
मानिसको स्वस्थ आँखामा एक प्रकारको तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न हुन्छ । यदि, यसको उत्पादन या प्रवाहमा अवरोध आयो भने आँखाको गेडीभित्र थुनिन्छ र आँखामा दबाब बढ्न थाल्छ ।
यो दबाबले आँखाले मस्तिष्कमा सङ्केत पठाउने नसालाई नष्ट गर्छ । यो नसा संवेदनशील भएकाले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । जसले गर्दा दृष्टि कमजोर हुन्छ ।
समयमै उपचार भएन भने सधैँका लागि दृष्टि गुम्न पनि सक्छ । एक पटक दृष्टि गुमिसकेपछि फर्काउन गाह्रो हुन्छ । यो रोग सामान्यतः ४० वर्षभन्दा बढी उमेरका व्यक्तिमा लाग्छ । तथ्याङ्क अनुसार यो रोग १ सय जनामा २ जनालाई लाग्छ ।
जलबिन्दु हुने कारण
– वंशाणुगत
– उच्च माइनस तथा प्लस पावरको चस्माको प्रयोग
– आँखाको चोटपटक
– आँखाको औषधि आफूखुसी प्रयोग ।
कस्ता मानिसलाई जलबिन्दु हुने खतरा हुन्छ ?
– ४० वर्षभन्दा बढी उमेर भएमा र नियमित रूपमा आँखाको परीक्षण नगराएको भएमा,
– परिवारमा कसैलाई जलबिन्दु भएमा,
– मधुमेहको समस्या भए या उच्च अदूरदृष्टि भएमा,
– लामो समयदेखि स्टेरोइड समूहका औषधि प्रयोग गरिरहेमा, आदि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया