मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: विश्व रङ्गमञ्च दिवस

कुलपति निशा शर्मासँग अन्तर्वार्ता: भर्खरै रङ्गमञ्चमा आएका भाइबहिनीमा पनि अहमता छ

‘समय अनुसार नाट्य क्षेत्रको विकास नभएकै हो’

‘रङ्गमञ्च र शान्तिका लागि संस्कृति’ भन्ने नाराका साथ आज विश्वभर ‘विश्व रङ्गमञ्च दिवस’ मनाइएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व रङ्गमञ्च दिवस मनाएका छन् ।

पछिल्लो समय नाटक क्षेत्रमा नाट्य गतिविधिहरू बढिरहेका छन् । नयाँ आउने कलाकारमा थप जोश छ भने थियटरतर्फको आकर्षण पनि बढ्दो छ । नाटकको उद्थान र यसको जगेर्नाका लागि बेलाबेलामा विभिन्न महोत्सव पनि भइरहेका छन् । केही दशकयता नेपाली रङ्गकर्मीले यही क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने अवस्था सिर्जना भइसकेको छ ।

‘विश्व रङ्गमञ्च दिवस’को अवसर पारेर नाटकको अवस्था कस्तो छ? यो क्षेत्रमा आउन चाहने रङ्गकर्मीको अवस्था कस्तो छ? यो क्षेत्रमा देखिएका मूल समस्या के हुन्? लगायतका विषयमा अग्रज रङ्गकर्मी तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलसँग नेपाली रङ्गमञ्चको पछिल्लो अवस्थाबारे जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

रङ्गमञ्चको पछिल्लो गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?

अहिलेको गतिविधिलाई सकारात्मक रुपमा नै लिइरहेकी छु । नयाँ पुस्ता पनि रङ्गकर्ममा आइरहनुभएको छ । रङ्गमञ्चलाई जोगाउनुपर्छ, चेतना जगाउनुपर्छ भनेर रङ्गकर्मीहरु पनि यसका लागि लागिरहनुभएको छ । रङ्गमञ्चबाट नै केही गर्नुपर्छ भन्ने छ । यो एकदम राम्रो पक्ष मान्छु ।

रङ्गमञ्चमा आउने नयाँ पुस्ताको हुटहुटी निकै बढेको देखिन्छ । यसबाट नै फिल्ममा प्रवेश गर्ने कतिको उद्देश्य हुन्छ । यसलाई कुन रुपमा लिनुहुन्छ ?

हाम्रो मात्र नभएर रङ्गमञ्चलाई माध्यम बनाएर फिल्म अथवा अरु क्षेत्रमा जाने युवाहरु प्रशस्तै छन् । रङ्गमञ्चमा आउने/जाने क्रम चलिरहन्छ । रङ्गमञ्चबाट आउने कलाकारहरु केही सिकेर वा अनुसन्धान नै गरेर आउँछन् भन्ने प्रभाव पनि छ । नयाँ पुस्ता रङ्गकर्ममा आउनु सकारात्मक नै हो । नाटक हुँदै फिल्म क्षेत्रमा स्थापित हुनु पनि सकारात्मक पक्ष हो । यो जरुरी छ जस्तो लाग्छ । थियटरमा जीवनसँग जोडेर अभिनय सिकाइने भएकाले नाटक सिकेर फिल्म क्षेत्रमा जानु पनि सकारात्मक नै रुपमा लिनुपर्छ ।

रङ्गमञ्चको शुरुवाती संघर्षलाई कसरी स्मरण गर्नुहुन्छ ?

केही दशकअघिसम्म यो क्षेत्रमा केही सुविधा थिएन । थियटरका बारेमा पढ्नलाई पुस्तक पनि विदेशबाट मगाउनुपर्ने अवस्था थियो । हामीसँग जे छ, त्यसैबाट नै हामीले सिक्न र पढ्नुपर्थ्यो । अहिलेको जस्तो अनलाइन प्रविधि थिएन । न त यति धेरै मिडिया नै थिए । एकदमै सीमित स्रोत साधन थिए । आफूलाई परिमार्जन गर्छु भन्दा पनि त्यतिबेला संकुचित भएर बस्नुपर्ने अवस्था थियो ।

पैसा खर्च गरेर छिमेकी मुलुकी या अन्य देशमा पढ्न जानुपर्ने अवस्था थियो । छात्रवृत्ति पाउने कुरा पनि एकदमै गाह्रो थियो । थियटर अध्ययन गर्न निकै कठिन थियो । अहिले त निकै सुविधा सम्पन्न छ । दुःख चाहिँ के लाग्छ भने यत्रो सुविधा हुँदा पनि हामी जुन रुपमा अगाडि बढ्नुपर्थ्यो, त्यो भइरहेको छैन ।

गुरूकुलबाट उत्पादन भएका रङ्गकर्मीहरु अहिले थियटरमा मात्र नभएर फिल्मी क्षेत्रमा समेत स्थापित हुनुहुन्छ । यहाँको विचारमा उहाँहरु रङ्गमञ्चलाई आफ्नो घर सम्झेर फर्कनुपर्छ कि पर्दैन ?

गुरूकुललाई सम्झनुपर्छ भन्ने छैन । त्यसमा सबैको आ–आफ्नै सोच र विचार हुन सक्छ । प्रविण खतिवडा, सरिता गिरी लगायतका कलाकारले अझै पनि नाटकमा अभिनय गरिरहनुभएको छ । छिमेकी मुलुक भारतमा पनि फिल्ममा स्थापित भएर रङ्गमञ्चमा फर्कनेहरु छन् । त्यो भनेको रङ्गमञ्चको प्रेम पनि हो र आफूलाई निखार्न पनि हो । आफैंलाई निखार्नका लागि भने नाटकमा काम गर्न जरुरी छ । त्यस्तो अवस्थामा आफैलाई परिमार्जन गर्न सकिन्छ । स्पष्ट कुरा के हो भने हामीले कहाँ जन्मियौं, कता हुर्कियौं भनेर घर अथवा जरा चाहिँ बिर्सनु हुँदैन । बाँकी आ–आफ्नै सोचमा भर पर्छ ।

उपत्यकाभित्र र बाहिर पनि नाटक घर खुलिरहेका छन् । नाटकघरहरु खुल्दै जाँदा घर मात्र छुट्टिएको हो कि मन पनि छुट्टिएका छन् ?

यसमा मन पनि छुट्टिएको छ । म कुलपतिभन्दा एकजना कलाकारको हैसियतले के भन्छु भने हामी नाटकमा भएका रङ्गकर्मी कलामा दक्षता देखाउन अगाडि छौं । तर, हाम्रो मन चाहिँ ठूलो छैन । मन र सोचलाई एकदमै खुम्च्याएर सङ्कीर्ण बनायौं । त्यही भएर पनि रङ्गकर्मीहरुले सुख नपाएको हो भन्ने मलाई लाग्छ । कसले के गरिदियो भनेर हामी कृतज्ञ बन्न नै जान्दैनौं । तँभन्दा म के कम भन्ने हामीमा अहमता छ ।

प्रतिस्पर्धा त हामीमा हुन जरुरी छ । तर, त्यसमा ‘इगो’ राखेर हुन्न । हाम्रोमा (रङ्मञ्चमा) हिजोमात्र आएका नयाँ भाइबहिनीदेखि सबैमा अहमता छ । चाहे त्यो फिल्म होस् या नाटक अभिनयमा अनुशासन चाहिन्छ । यदि हामीमा अनुशासन भएन भने दुई/चारको दिन पाहुना हुन्छौं ।

हामीमा भएको ग्रुपिजमले नै सधैं हामी दुःखी र दुःखमै छौँ । अरु क्षेत्रमा यस्तोसम्म छ जस्तो लाग्दैन । हाम्रोमा आएर हामी एकजुट बनौं त भन्ने कुरामा समेत सहमति हुँदैन । यसमा व्यक्तिगत फाइदा गर्ला कि भन्ने तरिकाबाट लिइन्छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाट्य क्षेत्रमा अझैसम्म केही गर्न सकेको छैन भन्ने गुनासा सुनिन्छन् ।  तपाईं प्रतिष्ठानमा अघिल्लो कार्यकालमा प्राज्ञ र हाल कुलपति भएर गएपछि पनि नाट्य क्षेत्रमा खास काम गर्न नसकेको आरोप सुनिन्छ नि । यसमा तपाईको धारणा के छन् ?

म कुलपति भएर गएको भर्खरै एक वर्ष हुँदैछ । पहिला म पनि यस्तै भन्थेँ । जब म प्राज्ञ भएर प्रतिष्ठानमा गएँ । अनि मैले त्यहाँको बजेट, नियम, कानून कस्तो रहेछ भनेर थाहा पाएँ ।

हामीले सीमित बजेट र स्रोतमा काम गर्नुपर्ने हुन्छ । म आफैं नाटककार भएकोले नाटकलाई फैलाउन के म चाहन्न र ? त्यो पीडा त मलाई मात्र भएको छ । हिजोको दिनमा म प्राज्ञ हुँदा पनि साथीभाइलाई बोलाएर मैले के काम गर्नुपर्छ भनेर भन्दा खाली पैसा मात्र खोज्नेहरु आउनुभयो । वर्षमा १२/१४ लाख रुपैयाँमा त्यो बेला काम गर्नुपर्‍यो भने अहिले त्यो अवस्था समेत छैन ।

एउटा विभागलाई ६ लाख रुपैयाँ आउँछ । यसमा हामीले कसरी समेटेर लैजाने भन्ने कुरा पनि हो । साथीभाइलाई बोलाएर कार्यशाला गरिरहेका छौं । एउटा कार्यशालाकै लागि साथीभाइहरुले एक/डेढ लाख रुपैयाँ माग्नुहुन्छ भने त्यो दिन सम्भव नै छैन ।

एउटा नाटक तयार गर्न १०/१२ लाख रुपैयाँको प्रोजेक्ट लिएर आउनुहुन्छ भने त्यसमा म कुलपति हुँदा पनि गर्न सक्ने केही छैन । एकेडेमी भन्ने बित्तिकै करोडौँ बजेट हुन्छ भन्ने त छैन नि । बजेट हुँदाहुँदै पनि साथीहरुले दिएनन् भन्ने भ्रम चाहिँ हटाउनुपर्छ । सबै कुरा पैसा मात्र होइन । मैले सकेसम्म क्षेत्रलाई समेट्ने प्रयास गरेकै छु । जबसम्म राज्यले कला र संस्कृतिको लागि चाहिने छुट्याउँदै यो आरोप प्रत्यारोप भन्ने कुरा आइरहन्छ ।

सम्पूर्ण रङ्गमञ्च र रङ्गकर्मी जमातलाई के भन्नुहुन्छ ?

अहिले जताततै निजी लगानीमा नाटक घर खुलिरहेका छन् । उहाँहरुलाई हल चलाउन आर्थिक रुपमा गाह्रो छ भन्ने थाहा छ । तर, मेरो अनुभवमा संख्यात्मकभन्दा गुणात्मक नाटक आउनुपर्छ ।

गुरूकुलले सुकेको नाट्य क्षेत्रलाई अगाडि ल्याउने काम गर्‍यो । म गुरूकुलमा छु भनेर यसो भनेको होइन । दर्शकको प्रतिक्रियाका आधारमा भनेकी हुँ । पहिलाजस्तो नाटक हुन छोडेको दर्शकहरुको गुनासो भने सुनिन्छ । उस्तै खालका नाटक भएर हेर्नै जान मन नलाग्ने भएको भन्ने पनि सुनिन्छ ।

नाटकघर खुल्नु राम्रो तर नाटकले दर्शकलाई कसरी कति बाँधेर राख्ने भन्ने कुरा रङ्गकर्मीहरुले बुझ्नुपर्छ । हामी कलाकारका लागि यही नै चुनौती हो । यसमा कलाकारहरुले विचार पुर्‍याउनुपर्छ । मेरो विचारमा भोलिका लागि पनि हामी रङ्गमञ्चका लागि तयारी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?