मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिफ्टिङ आयोजनाले बदलियो मटेरा गाउँको मुहार

दाङ – तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न छन् । उनले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आएका छन् । त्यसो त उनले यसअघि पनि नौ बिघा जमिनमा तरकारी लगाउने गर्ते तर पहिलेभन्दा अहिले उत्पादन बढेको छ ।

“पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ”, चौधरीले भने, “त्यसैले अहिले खुसी छु ।” उनको जमिनमा तरकारी उत्पादन बढ्नुको प्रमुख कारण लिफ्ट सिँचाइ आयोजना हो । लिफ्टिङबाट सिँचाइ गरेपछि बेमौसमी तरकारी उत्पादन गर्न उनलाई सजिलो भएको छ । उनी पूर्ववडा सदस्य पनि हुन् । कृषि पेसा र राजनीति दुवैलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्

पहिले गाउँ नजिकै बबई नदी बगे पनि सिँचाइ अभावले एक याममा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुन्नथ्यो । घरमा खानका लागि पुग्थ्यो । लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि धेरै सजिलो भएको उनको भनाइ छ ।

लिफ्टका लागि सोलार र विद्युत् दुवै जडान गरेको उनले बताए । उनले गत वर्ष घरखर्च चलाएर वार्षिक रु पाँच लाख आम्दानी गरेका थिए । यो वर्ष त्योभन्दा धेरै आम्दानी हुने आशामा छन् । उनले खेती गर्न कृषि औजारको प्रयोग गरिरहेका छन् । ती कृषि औजार लुम्बिनी प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएका हुन् ।

पूर्णबहादुर मात्रै होइन सिँचाइको सुविधा भएपछि मटेरिया गाउँ बाह्रै महिना हरियाली हुन थालेको छ । मटेरिया गाउँ पकेट तरकारीखेतीका रूपमा चिनिन थालेको छ । सोही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले पनि तोरी र तरकारीखेतीबाट राम्रो आम्दानी गरिरहेका छिन् । पहिले खान नपुग्ने जमिनबाटै अहिले बेच्न पुग्ने अन्न र तरकारी उत्पादन गर्न थालेकी हुन् ।

“यसको मुख्य कारण सिँचाइ नै हो”, अष्टुमीले भनिन्, “यसपटक तीज, दसै, तिहारको समयमा टमाटर र काउलीजस्ता तरकारी बेचेरै रु एक लाख ५० हजार कमाएँ ।” उनले तोरी तथा तरकारीखेतीबाट खर्च कटाएर वार्षिक रु साढे तीन लाख बचत गरेको बताइन् ।

केही वर्षपहिले बृहत् सिँचाइ योजना दाङले रु एक करोड ५० लाखको लगानी र गाउँलेहरूको रु पाँच लाख मूल्य बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सोही आयोजनाले गर्दा मटेरियाको मुहार नै फेरिएको हो । आयोजनाअन्तर्गत गाउँ नजिकै भएर बग्ने बबई नदीको पानीलाई करिब छ सय मिटर लम्बाइ रहेको लिफट सिँचाइमार्फत पानी तानिएको छ । त्यसरी तानिएको पानीले मटेरिया आसपासको दुई सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ जसमा एक सय २० घर थारू समुदाय र २० घर अन्य समुदाय लाभान्वित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?