काठमाडौँ – बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइर्ई)को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्न पत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पुर्याइएको जानकारी दिए।
उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान समेत गरे । उनका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइर्ईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
बोर्डले परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने जनाएको छ ।
कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक-एक, पर्सा र सप्तरीबाट दुई-दुई, रुपन्देहीबाट चार जना छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने छन् । पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया