काठमाडौँ– बितेका तीन वर्षको अवधिमा रंगकर्मी वेदना राईले आफैंलाई रंगमञ्चभित्र नियालिन् । आफैं मात्र होइन, उनले ‘चोरको स्वर’, ‘खुवालुङ’ देखि मञ्चनको तयारीमा रहेको नाटक ‘बाखाम्मा’ सम्ममा आफ्नो किराँती संस्कृति र मुन्दुमको इतिहासलाई बुझ्न पाइन् ।
अहिले उनलाई लाग्छ– रङ्गमञ्च भनेको कुनै पात्रमा आधारित भएर अभिनय कला देखाउनु मात्र होइन । उनले यसैमा जीवनको लय र आफ्नो समुदायको परिवेश सिकेकी छिन् ।
वेदना मात्र नभएर कलाकार हुने सपना देखेर रङ्गमञ्चमा आउने युवापुस्ता ह्वात्तै बढेको स्वयम् नाटक घरका सञ्चालकहरु सुनाउँछन् । नामको मोह र चर्चा कमाउन नाटक घर धाउने कैयौं युवापुस्ताले यसबाट जीवन जिउने कला सिकेर जाने अग्रज रङ्गकर्मीहरु सुनाउँछन् ।
मण्डला, सर्वनाम, शिल्पी, एक्टर स्टुडियो जस्ता उपत्यकाका थिएटरहरुले रङ्गमञ्चका नयाँ पुस्ताहरु जन्माइरहेका छन् । उपत्यकाका बाहिर समेत चुलाचुली, परिवर्तन, कर्णाली आर्ट सेन्टर लगायतका थिएटरहरुले रङ्गमञ्चमा नयाँ पुस्तालाई तानिरहेका छन् । जसमा वेदना जस्तै युवापुस्ताहरु जीवनको सपना बोकेर आइरहेका छन् ।
अर्का रंगकर्मी सुशील तामाङ विगत आठ वर्षदेखि नाट्य क्षेत्रमा छन् । यसभन्दा अघि उनी नृत्य विधामा कोरियोग्राफरका रुपमा थिए । अहिले उनी नृत्यसँगै रङ्गमञ्चमा समेत उतिकै सक्रिय छन् । उनका लागि रङ्गमञ्च र नाटक आफूलाई प्रस्तुत गर्न पाउने थलो हो । नृत्य क्षेत्रमा नमेटिएको उनको कलाकारिता मोहलाई नाटकले मेटाइदिएको छ ।
‘म नाटकमा आउनुभन्दा अगाडि डान्सरका रुपमा थिएँ,’ उनले भने, ‘त्यता हुँदाहुँदै पनि म नाटकतर्फ आएँ, यता आएपछि मलाई अझै आफू निखानुपर्ने रहेछ भन्ने महसूस भयो, त्यसैले म अभिनयमा निखारिँदै छु ।’
नाटकमा पात्रको चरित्र र भाव अनुसार आफू प्रस्तुत हुँदै जाँदा अभिनयमा समेत निखारता आउँदै जाने उनी बताउँछन् ।
सुशीलले भनेझैँ नाट्य क्षेत्रमा आउने अधिकांश युवापुस्ताका रङ्गकर्मीले रङ्गमञ्चमा आफूलाई चिनाउने अवसर पाएका छन् । समकालीन समय र देशको कानूनले समेत अभिव्यक्ति स्वतन्त्रता दिएका कारण युवापुस्ताले आफ्नो कुरा र संस्कारलाई नाटकका माध्यममा उठान गरेको देखिन्छ ।
यद्यपि यही कुरा भन्नलाई र पोख्नलाई पञ्चायत जस्तो शासनकालमा रङ्गमञ्चलाई छुट थिएन भन्ने कुरा अग्रज रंगकर्मी अशेष मल्लले भन्दै आएका छन् । जतिबेला उनीजस्ता रङ्गकर्मीहरुले नेपालमा नाट्य क्षेत्रबाट रुपान्तरण गर्न चाहे, त्यतिबेला अहिलेजस्तो सहज वातावरण थिएन ।
उनका अनुसार नाटक मञ्चनअघि पञ्चायत शासकको सेन्सर जाँच अनिवार्य हुन्थ्यो । र पनि उनीहरुले जनतालाई चेतना बाँड्ने काम गरे र पञ्चायत कालखण्डमै सडक नाटक हुँदै सर्वनाम थिएटरको जग नै बसालेर नाट्य क्षेत्रमा एउटा माहोल नै बनाए । त्यसैले रङ्गमञ्च समाजका लागि परिवर्तनको बिगुल फुग्ने सशक्त प्लाटफर्मका रुपमा समेत लिइन्छ ।
अर्का रङ्गकर्मी रोहनी लामाले रङ्गमञ्चमै सुख तथा दुःख अनुभव गरेकी छिन् । म्युजिक भिडियोमा समेत व्यस्त रहेकी उनी पछिल्लो समय थिएटरमा देखिएकी छिन् । उनले पछिल्लो समय नाटक ‘मासिन्या’मा अभिनय गरेकी थिइन् ।
वास्तविक संसारमा भोग्न नपाएको जीवन नाटकमा जिउन पाउँदा उनले सन्तुष्टि पाएकी छिन् । अर्कातिर नाटक घर र नाटकलाई उनले सिक्ने माध्यमका रुपमा लिएकी छिन् । ‘नयाँ–नयाँ कथा र पात्र अनुसार आफूलाई लैजाँदा दुःख, सुख यसैमा भोग्न पाएकी छु, वास्तविक संसारमा त एकैचोटी सबै पात्र भएर कहाँ बाँच्न सकिन्छ त?’, उनी प्रश्न गर्छिन् ।
नाटक तथा कलाका माध्यमहरु समाजको ऐना भएकाले यसकै माध्यमबाट समाजलाई समेत जिम्मेवारी नागरिकका रुपमा योगदान पुर्याइरहेको रङ्गकर्मीहरू बताउँछन् ।
अर्का रङ्गकर्मी अकाश नेपाली रङ्गमञ्चलाई भाव अभिव्यक्त गर्ने थलोका रुपमा परिभाषित गर्छन् ।
नाटकबाटै जीवन चलाउन र यसैमा दिगो रहन सकिन्छ या सकिँदैन भन्ने कुरा छुट्टै बहसकै विषय होलान् । यद्यपि युवापुस्तालाई अड्याउने आधारका रुपमा उनले नाट्य क्षेत्रलाई लिएका छन् ।
‘मण्डला ड्रामा स्कुल’का पहिलो ब्याजका विद्यार्थी उनी नाट्य क्षेत्रमा प्रवेश गरेको चार वर्ष हुन लागिसक्यो । यो अवधिमा उनले दशवटा नाटकमा अभिनय गरिसकेका छन् । जसमा संवाद, संवादविहीन, छोटा तथा लामा नाटकहरुमा अभिनय गरेर फरक अनुभव लिइसकेका छन् । खासमा उनको अभिनयको शुरुवात फिल्मबाटै भएको थियो ।
फिल्म ‘होलटाइमर’ बाट अभिनय थालेका उनी त्यसबाट चित्त नबुझेपछि थिएटरतिर मोडिएका थिए । अभिनयकै भोक र हुटहुटीले नाटकमा आएको उनले जोय नेपालसँगको कुराकानीमा सुनाए ।
उनी अहिले नाटकसँगै यसैभित्र सङ्गीत, प्रकाशजस्ता पृष्ठभूमिमा हुने व्यवस्थापनतिर पनि काम गरिरहेका छन् । धेरैजसो नयाँ पुस्तामा रङ्गमञ्चलाई फिल्ममा जाने माध्यमका रुपमा बुझ्ने गरिन्छ । यसलाई उनी नकारात्मक पाटोबाट भने लिँदैनन् । तर, आकाश भने फिल्म हुँदै रङ्गमञ्चतिर आएका हुन् ।
रङ्गमञ्चमा अभिनय, पात्र र परिवशको भोगाइ लिएर फिल्ममा काम गर्दा अझ परिष्कृत भइने उनको तर्क छ । तर, तीन महिना कक्षा लिएर कुनै पनि फिल्ममा अफरै आउँछ या चल्तीकै अभिनेता या अभिनेत्री बन्छु भन्ने सपना बोकेर नाटकमा नहोमिन उनको आग्रह छ ।
‘तीन महिनामा रङ्गमञ्च बुझ्न सकिँदैन, तीन महिनामा कलाकार नै बन्छु भन्ने पनि होइन, यसरी बुझ्नेहरु डिप्रेसनमै गएका छन्’, उनले भने ।
तीन महिने कोर्ष सञ्चालन गरेर युवा पुस्तालाई नाटकमा तान्ने प्रवृत्तिप्रति उनको असहमति छ । थिएटर चलाउन या दिगो राख्न यसले आर्थिक रुपमा सघाउ पुगे पनि सिक्नेहरु सबैले रङ्गमञ्चमा अवसर नपाएको उनले गुनासो गरे ।
थिएटरलाई चलायमान र नयाँ पुस्तालाई सक्रिय बनाउन भने नाट्य क्षेत्रको अहम् भूमिका रहेको अग्रजदेखि अनुज पुस्ताको एउटै मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया