रङ्गमञ्चमा ६० को दशकदेखि निरन्तर सक्रियता देखाइरहेका धनगढीका रङ्गकर्मी पुष्पराज अवस्थी विशेष त बाल रङ्गमञ्चकै क्षेत्रमा अभ्यस्त छन् ।
वि.सं. २०६२ सालमा धनगढीबाट काठमाडौँ छिरेपछि उनी रङ्गमञ्चका क्षेत्रमा बालबालिकालाई अभिनय प्रशिक्षण दिँदै आएका छन् । साथै उनी आफैले पनि रङ्गमञ्चमा अभिनय गर्दै आएका छन् ।
केही फिचर फिल्ममा समेत अभिनय गरेका अवस्थीको झुकाव भने बाल रङ्गमञ्चतर्फ नै बढी छ ।
केही वर्षयता उनी नेपालका कैयन् स्कूलहरूमा पुगेर बालबालिकालाई अभिनय सिकाइरहेका छन् । उनले बालबालिकालाई अभिनय तथा रङ्गमञ्चतर्फ आकर्षित गराउन अहम् भूमिका निर्वाह गरेका छन् ।
अवस्थीको लेखन तथा निर्देशनमा तयार भएका डेढ दर्जनभन्दा बढी बाल नाटकले विभिन्न विधामा अवार्ड समेत जितेका छन् ।
केही समयअघि सम्पन्न नाट्कर्मी महासंघले राजधानीमा गरेको ‘राष्ट्रिय बाल नाटक मेला’मा उनको लेखन तथा निर्देशन रहेको नाटक ‘भागु’ले नगद रूपैयाँ एक लाखसहित उत्कृष्ट नाटकको उपाधि हात पार्यो ।
उक्त नाटकले उत्कृष्ट लेखन, निर्देशन, उत्कृष्ट महिला, पुरुष अभिनेता, उत्कृष्ट सहायक चरित्र महिला र उत्कृष्ट प्रकाश परिकल्पनाको अवार्ड प्राप्त गर्यो ।
नाट्य मेलामा अवस्थीको नाटक ‘बाह्र’ले पनि दर्शक छनोट, उत्कृष्ट मञ्च परिकल्पना र उत्कृष्ट ध्वनिबाट अवार्ड हात पार्यो । उनै रङ्गकर्मी अवस्थीसँग बाल रङ्गमञ्च, बाल नाटकको अवस्था, महत्व र चुनौतीका विषयमा जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
लामो समयदेखि रङ्गमञ्च र बाल नाटकको क्षेत्रमा हुनुहुन्छ । बाल नाट्य क्षेत्रलाई कसरी परिभाषित गर्नुहुन्छ ?
बालबालिकाहरुको विषयलाई लिएर प्रस्तुत गरिएको नाटकलाई बाल नाटकका रुपमा लिन सकिन्छ र बालबालिकाहरुको समाजिक, मनोवैज्ञानिक विषयवस्तुहरु यसमा समावेश हुनैपर्छ ।
नेपालमा बाल रङ्गमञ्चकै सन्दर्भमा बाल नाटक महोत्सव तथा मेलाहरु भइरहेका छन् । यसको गुणात्मक पक्षलाई हेर्दा बाल नाटकको यात्रा कहाँसम्म पुग्यो त ?
विगतलाई हेर्ने हो भने अहिले धेरै हदसम्म बाल रङ्गमञ्च अगाडि बढिरहेको छ भन्न सकिने अवस्था छ । अहिले बाल नाटक भन्ने बित्तिकै विद्यालयलाई पनि जोड्नुपर्छ । पछिल्लो समय विद्यालयहरु पनि यसका लागि सकारात्मक देखिएका छन् । विद्यालयले कक्षामा मात्र नभएर थिएटरमै लगेर नाटक गर्न चाहेको पाइन्छ । अहिले देशभित्रै महोत्सवहरुमा समेत बाल नाटकले उपस्थिति जनाएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा कतिपय टिमहरु देशलाई प्रतिनिधित्व गरेर नाटक लिएर गइरहेका छन् । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लाटफर्मसम्म हामी पुगेका छौं । स्कूलहरूले सपोर्ट गरिरहेका छन् । यसलाई हेर्ने हो भने निकै राम्रो भइरहेको छ ।
बाल नाटकको विकासको लागि कुन पक्ष बढी जिम्मेवार छन् ?
यसको विकासको लागि रङ्गकर्मी, स्कूल र अभिभावकहरु नै जिम्मेवार छन् । यसमा अझ बढी अभिभावकको बढी भूमिका छ भन्ने मलाई लाग्छ । मेरो अनुभवमा भन्नुपर्दा मैलै पढाउने विद्यालयमा कतिपय अभिभावहरु आएर रिहर्सल नै हेर्नुहुन्छ ।
त्यही हेरेर उहाँहरुले बालबालिकालाई घरमा लगेर अभ्यास गराउनुहुन्छ । त्यसले बढी निखारता आउँछ । कतिपय अभिभावकहरु नाटक भनेको केही होइन भन्ने बुझ्नेहरु पनि हुनुहुन्छ । अभिभावककै कारण कतिपय बच्चाहरु रहर हुँदाहुँदै नाटकमा र कक्षामै भाग लिन पाउनुहुन्न ।
मञ्चमा गएर प्रस्तुत गर्नु त अलन कुरा भयो । त्यही भएर मलाई बालबालिकाहरुलाई अभिभावकले पनि समर्थन गर्नुपर्छ भन्ने लाग्छ । अर्को पक्षबाट एकजना नाटक शिक्षक र निर्देशकको पनि यसमा अहम् भूमिका हुन्छ ।
हामीले गएर कसरी काम गरिरहेका छौं, विद्यार्थीलाई कसरी आकर्षित गरिरहेका छौं भन्ने कुरा पनि हुन्छ । यदि हामीले विद्यार्थीलाई नाटकप्रति लगाव बढाइरहेका छौं भने त्यो देखेर अरु पनि आकर्षित हुने रहेछन् ।
मैले पछिल्लो समयमा गरेको कामलाई हेरेर नै अरु बच्चाहरु आकर्षित भइरहेको पाएको छु । सिक्ने बालबालिकाहरू धेरै भएर हामीले थप व्यवस्थापन गरेर लैजानुपर्ने अवस्था पनि हामीले देखेका छौँ । यसमा विद्यालयहरुले पनि अवसर दिइरहेको छ । यदि अवसर नै नदिने हो भने यस्तो हुने थिएन । त्यसकारण बाल नाटकको विकासका लागि विद्यालय, अभिभावक र नाटकका निर्देशकहरु पनि उत्तिकै जिम्मेवार छन् ।
पछिल्लो पुस्ताका बालबालिकाका लागि रङ्गमञ्चको ज्ञान कत्तिको आवश्यक छ ?
रङ्गमञ्च भनेको सिकाइको माध्यम पनि हो । रङ्गमञ्चमा उनीहरुकै कुरा बोल्ने हो । कतिपय कुराहरु हामीले प्रस्तुतिबाट देखाउने हो । पछिल्लो समयमा त हामीले बालबालिकालाई किताबमा पढ्नुपर्ने नाटकहरु मञ्चन गराएका छौँ । यसले गर्दा उनीहरूलाई पढ्न पनि सहज हुन्छ ।
साथसाथै रङ्गमञ्च भनेको उनीहरूले आफ्नो बारेमा मात्र नभएर संस्कृति बुझ्न पाउने अवसर पनि हो । जस्तो मैले नाटक गर्दा सुदूरपश्चिमको संस्कृतिमा गर्छु । यसले गर्दा स्कूलका बालबालिकाले सुदूरपश्चिममा यसरी बोल्ने रहेछ, यो लगाउने रहेछ भनेर उताको बारेमा पनि थाहा पाउँछन् । यसरी हेर्दा संस्कृति पनि आदानप्रदान भयो । त्यसैले पनि यो प्रभावकारी माध्यम हो ।
यसमा सहभागिता र प्रस्तुतिको त छुट्टै कुरा भयो । नाटक भनेको अभिनय मात्र होइन । यसको पछाडि थुप्रै कुराहरु हुन्छन् । यसमा कस्ट्युम, सेट, प्रप्स, लाइटहरु जस्ता कुराले पनि छुट्टै अर्थ राख्छ ।
बाल रङ्गमञ्चमा बालबालिकाको मनोविज्ञान र उमेर अनुसार नाटकहरु मञ्चन भएनन् भन्ने गुनासो सुनिन्छ । बाल नाटक भनेर गरिने प्रस्तुतिमा तपाईंहरुले विषयवस्तु छनोट कसरी गर्नुहुन्छ ?
अन्य रंगकर्मीहरुले ठ्याक्कै के गर्नुहन्छ थाहा भएन । तर मैले गर्दा बालबालिकालाई भन्न मन लागेको कुरा पहिला आफैले बुझ्छु । उहाँहरुको स्कुल, घर र समाजमा केही भइरहेको छ कि, या उहाँहरु शिकार हुनुभएको हुनुहुन्छ वा नाटकका माध्यममा समाधान गर्न सकिन्छ कि जस्तो लाग्छ भन्ने बुझेर एकदिनको त त्यही विषयमै कक्षा हुन्छ ।
नाटककै विषयमा छलफल गर्दा बालबालिकाले आफ्ना कुराहरु खुलेर गर्ने वातावरण पनि सिर्जना हुन्छ होला नि ?
कतिपय बालबालिका बोल्न जान्नुहुन्न । अरुको अगाडि खुल्न पनि सक्नुहुन्न । कतिपय विषयवस्तुहरु यस्ता हुन्छन्, कि बच्चाहरु खुलेर हामीलाई बताउन नै चाहँदैनन् । मैले उहाँहरुलाई सबैलाई छुट्टाछुट्टै ग्रुपमा राखैर एउटा पेपर र पेन दिन्छु । उहाँहरुले नाम मेन्सन गरेर वा नगरेर लेखेर दिनुहुन्छ ।
त्यसमा धेरैजसो कुनमा विषय दोहोरिएको छ र कुन बढी सान्दर्भिक हुन्छ त्यसका आधारमा अगाडि बढ्छौँ । अर्को कुरा हामीले धेरैजसो नाटक वास्तविक घटनाबाट प्रभावित भएका नाटकहरू मञ्चन हुन्छन् । मैले लेखन तथा निर्देशन गर्ने नाटकहरू ८० प्रतिशत वास्तविक कथाहरूमा आधारित छन् ।
मैले हिँडिराख्दा देखेका र समाचारहरु पढेको आधारमा मौलिक र सामाजिक विषयमा बढी नाटक गरिरहेको हुन्छु । समाचारहरु पढ्दै गर्दा यो विषयमा नाटक निर्माण गर्नुपर्ला भन्ने लाग्यो भने त्यही विषयमा नाटक बनाउँछु । मुख्य कुरा त बालबालिकासँग पनि यस विषयमा कुरा गर्छु ।
रङ्गमञ्चमा बालबालिकाका लागि भनेर नाटक गर्दा कति चुनौती हुन्छ ?
थिएटरमा नाटक गर्दा जसरी प्रोपेसनल (व्यावसायिक) एक्टर हुन्छन्, त्यसरी बालबालिका हुँदैनन् । पहिलो कुरा त विद्यालयमा बालबालिकाको समय मिलाउन नै गर्न गाह्रो हुन्छ । कहिले घरको र कहिले स्पोर्ट डे जस्ता कार्यक्रमहरु पर्छन् । उनीहरूका लागि छुट्टै ‘गाइडलाइन’ दिनुपर्ने हुन्छ । यसमा निर्देशक बढी हाबी हुनैपर्छ । तर बालबालिकाहरु पनि निकै मेहनेती भेटेको छु ।
कहिलेकाहीँ तपाईंले हत्या, बलात्कार जस्ता संवेदनशील विषयमा पनि नाटक बनाउनुहुन्छ, नाटक ‘भागु’ मा बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टकै विषय थियो । यस्तो अवस्थामा चाहिँ कसरी अभिनय गर्ने बालबालिकालाई बुझाउनुहुन्छ ?
मैले यस्ता विषयमा नाटक गर्दा पहिला सामग्रीहरु तयार पार्छु । भागिरथीको विषयमा नाटक तयार गर्दा यससँगै सम्बन्धित समाचार, भिडियो सामग्री, उनकी आमाका बारेमा आएका भिडियोहरु जम्मा पारेर उहाँहरुलाई देखाएर पहिले अवस्थाबारे जानकारी गराएँ । त्यसपछि उहाँहरु घरमै बसेर भिडियो सबै हेरी तयार भएपछि नाटकको तयारी गरेँ । पूर्व तयारी गरिने हुँदा संवेदनशील नाटकमा काम गर्दा पनि खासै फरक पर्दैन ।
यस्तो संवेदनशील विषयमा बालबालिकालाई प्रत्यक्ष रुपमा भन्दा मानसिक रुपमा केही नकारात्मक प्रभाव त पर्ला नि होइन ?
यसमा प्रत्यक्षभन्दा पनि शब्द चयनको कुरामा ध्यान दिनुपर्छ । तर अहिले बच्चाहरु एकदमै फरवार्ड भइसकेका छन् । रङ्गमञ्चमा सबै कुराहरु लुकाएर राख्नुपर्छ भन्ने पनि छैन । यो त अभिव्यक्तिको माध्यम मात्र हो । म चाहिँ के कुरामा ध्यान दिन्छु भने बाल रङ्गमञ्चका माध्यमबाट अरु नाटक हेर्नेले पनि बुझोस् र नाटक खेल्नेलाई कतै छोएर उनीहरूको जीवनमा हिंसा नहोस् भन्नेमा जोड दिन्छु ।
सम्पूर्ण नाट्यकर्मी र बालरङ्गमञ्चमा काम गर्नेहरुलाई तपाईंको सन्देश के छ ?
बाल नाटक बालबालिकाका लागि हो । आजका बाल कलाकारहरु भोलि कलाकार मात्र होइनन्, दर्शक पनि हुन् । हामी बाल नाटक गर्छौँ भने बालबालिका राखेर मात्र नभएर उहाँहरुको विषय पनि राख्नुपर्छ । बालबालिकालाई रङ्गमञ्चमा उतार्दा भविष्यका लागि रङ्गकर्मी तथा कलाकार उत्पादन गरिएको हुन्छ । त्यसैले सबै मिलेर बाल नाटकलाई उचाइमा पुर्याउनु जरुरी देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया