मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ : विश्व रङ्गमञ्च दिवस

दयाहाङदेखि विपिनसम्म: जो सिनेमामा व्यस्त भएपछि रङ्गमञ्चमा फर्किएनन्

रङ्गमञ्च अहिले अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ

काठमाडौँ– आज ६३औँ विश्व रङ्गमञ्च दिवस । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् ।

कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ ।

रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । 

चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत छन् ।

सानो भूमिकादेखि शीर्ष भूमिकासम्म चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन् । कलामाथि व्यापार पनि हाबी हुँदा उल्लेखित नामहरू रङ्गमञ्चसम्म आउन नसकेको आरोप लाग्ने गरेको छ ।

चलचित्रमार्फत व्यावसायिक सफलता मिले पनि कलाकारितामा अभिनेता सौगात मल्ल रङ्गमञ्चमार्फत स्थापित भए । रङ्गमञ्चमा लामो समय बिताए पनि पछिल्लो समय चलचित्रमा व्यस्त भएका अभिनेता मल्ललाई नाटकमा नदेखिएको लामो समय भइसकेको छ । उनले प्रयास भएता पनि त्यसले सफलता पाउन नसकेको स्वीकारे ।

‘नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएन,’ अभिनेता मल्ल भन्छन्, ‘केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रूपमा प्रस्तुत गर्ने तयारी पनि भएको थियो, नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन सक्छ ।’

अभिनेता मल्लझैँ नाटकमा नदेखिएको लामो समय भएका कलाकारमा अभिनेता रवीन्द्रसिंह बानियाँ पनि पर्छन् । षट्कोण आर्टस् मार्फत चलचित्र निर्माण शुरु भएपछि अभिनेता बानियाँ रङ्गमञ्चमा फर्किएका छैनन्। 

‘षट्कोण आर्टस्मार्फत नाटक बनाउने योजना पनि बनेको थियो । तर चलचित्रकै व्यस्तताले गर्दा त्यसले पूर्णता पाएको छैन, अरूको नाटकमा काम गर्न सहज नै हुन्छ तर आफैँले निर्माण गर्दा चार महिना लाग्ने भएकाले रङ्गमञ्चसम्म पुग्न नसकिएको हो, म नाटकमा देखिने तयारीमै छु,’ अभिनेता बानियाँले भने ।

व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताउँछन् ।

‘रङ्ग कर्म गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट शुरुआत नगरेका भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्च मात्र बनिरहेको छ,’ सापकोटा भन्छन्, ‘मैले पनि पाँच वर्षको अन्तरालमा यो वर्ष नाटकमा अभिनय गरेँ, हामीले रङ्गमञ्चमा फर्किँदा नै अभिनय बाँच्न पाउँछौ ।’

आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ । रङ्गमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद भएको अभिनेता कमलमणि नेपालले टिप्पणी गरे ।

‘रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँ मात्र नभई विदेशमा कमै मानिस नाटक हेर्न रुचाउँछ, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुन्छन् होला,’ उनी भन्छन्, ‘नाटकमा फर्किन ढिलो गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।’

अभिनेता रवीन्द्र झाले मैथली नाटकमार्फत अभिनयको शुरुवात गरे। ‘जात्रा’मार्फत चलचित्रमा स्थापित भएपछि उनी पनि रङ्गमञ्च फर्किन सकेका छैनन् । तर नाटकप्रति माया भएकाले बेलाबखतमा हेर्न पुग्ने उनले बताए ।

‘हामीले रङ्गमञ्चलाई भुलेको भए समय निकालेर त्यहाँ पुग्ने थिएनौँ, मञ्चमा नभएता पनि दर्शक बनेर आफ्नो प्यास मेटाइरहेका छौँ, चलचित्रमा काम गर्दा समय व्यवस्थापन गाह्रो भएको मात्र हो, रङ्गमञ्च भुल्ने कल्पना पनि गर्न सकिन्न,’ उनी भन्छन् ।

नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले विरलै देख्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?